सोमबार, चैत १८ गते २०८१     ११ : ४२ : ४२
सोमबार, चैत १८ २०८१
images
images

दाङमा मकै उत्पादन बढ्यो

images
मंगलबार, चैत ५ २०८१
images
images
दाङमा मकै उत्पादन बढ्यो

सुपरजोन कार्यक्रम सञ्चालन भएपछि देउखुरीमा मकै उत्पादनको व्यावसायिक रूपमा फड्को मार्न थालेको छ।

images
images

दाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ। बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ। तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन्।

images
images

परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ३२ हजार आठसय ९४ मेट्रिक टन मकै उत्पादन भएको थियो। बर्सेनि उत्पादन बढिरहेको उनको भनाइ छ। आर्थिक वर्ष २०७९/८० मा २६ हजार चारसय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो। देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड-१० जातको मकै लगाउने गरिएको छ।

images
images

सूचना अधिकारी कँडेलका अनुसार बर्सेनि उत्पादन क्षेत्रफल पनि बढिरहेको छ। आव २०७९/८० मा तीन हजार सातसय हेक्टरमा मकैखेती गरिएकामा आव २०८०/८१ मा तीन हजार आठसय हेक्टरमा मकैखेती हुने गरेको हो। यसरी बर्सेनि खेती गर्ने किसानको आकर्षण बढिरहेको उनले बताइन्। कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरेको छ।

images
images

रामपुर हाइब्रिड-१० सहित अरुण-२ र रामपुर कम्पोजिट जातको मकैको बीउ पनि अनुदानमा दिने गरिएकाले उक्त मकैखेती गर्ने गरिएको छ। यसरी किसानले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छभने बीउ कम्पनीले बीउ खरिद गरिदिने भएकाले बजारीकरणका लागि पनि समस्या नरहेको सूचना अधिकारी कँडेलको भनाइ छ।

मकैखेतीका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने गरिएको छ। भौगोलिक बनावटअनुसार रोप्नका लागि सिडड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्रयाक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन्। विगतमा बाँझो राखिएको जग्गामा अहिले मकैखेती गर्ने गरिएको छ। जसले गर्दा किसानलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कँडेलले बताइन्।

दाङको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा यसरी मकैखेती हुने गरेको छ। बर्खे मकै वैशाख-जेठमा, हिउँदे मकै भदौ-असोजमा र वसन्ते मकै माघ-फागुनमा लगाउने गरिन्छ। विभिन्न बालीको विशिष्टिकृत क्षेत्र स्थापना गरी उत्पादन, मूल्य शृङ्खला, आधुनिकीकरण र व्यावसायीकरणमा बढावा दिने उद्देश्यले दाङमा  आर्थिक वर्ष  २०७३/७४ देखि मकै सुपरजोन कार्यक्रम सञ्चालनमा आएको हो।

सुपरजोन कार्यक्रम सञ्चालन भएपछि देउखुरीमा मकै उत्पादनको व्यावसायिक रूपमा फड्को मार्न थालेको छ। 

'यस क्षेत्रमा बर्खे मकैखेती बढी हुने  र किसानको बुझाइ मकै बर्खे सिजनमा मात्र गर्न सकिन्छ भन्ने रहेको थियो', सूचना अधिकारी कँडेलले भनिन्, 'सर्वप्रथम किसानको यस प्रकारको सोचाइ परिवर्तन गर्न जरुरी थियो। यसका लागि हामीले प्रतिफलमा आधारित प्रोत्सहान अनुदान कार्यक्रममार्फत हिउँदे र वसन्ते खेतीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भएको हो।'

अहिले देउखुरीका किसानमा हिउँदे तथा वसन्ते सिजनमा समेत मकैखेती गर्ने परिपाटीको विकास भएको छ। देउखुरी क्षेत्रका विभिन्न स्थानमा कष्टम हायरिङ सेन्टरहरू स्थापना भइ सञ्चालनमा छन्। जसबाट किसानले मकैखेतीका लागि आधुनिक कृषियन्त्र भाडामा लिएर पनि खेती गर्ने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, चैत ५ २०८११०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend