मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

ओरालोतिरै सेयर बजार, १० अंकले घट्यो, ५ अर्ब ४० करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ४ २०८१
ओरालोतिरै सेयर बजार, १० अंकले घट्यो, ५ अर्ब ४० करोड रुपैयाँको कारोबार

काठमाडौं- सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा पनि बजार उतारचढावबीच ओरालोतिर नै देखिएको छ। 

चैतको पहिलो कारोबारमा आइतबार २१.६३ अंकले घटेर बजार २७१४.८५ बिन्दुमा झरेको बजार सोमबार १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा झरेको छ। ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँको कारोबार भएको बजारमा ८५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

पछिल्लो समय लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर लागेर लगातार नै १७१.०७ अंकले घटेको सेयर बजारमा गएको साता बुधबार दोहोरो अंकको वृद्धि देखिएको थियो। तर यो साता पहिलो र दोस्रो कारोबारमा बजार पुन: ओरालोतिर नै लागेको छ। 

गएको माघमा ९१.६ अंकको सुधार देखिएको सेयर बजारमा फागुनमा पनि ५०.७५ अंकको वृद्धि देखिएको थियो। माघको अन्तिम कारोबारमा ३० गते २६८५.७३ बिन्दुमा रहेको सेयर बजार फागुनको अन्तिम कारोबारमा २८ गते बुधबार २७३६.४८ बिन्दुमा पुगेको थियो।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएको थियो। साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजारले भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा गति रोकियो।

असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। पछिल्ला महिनाको सुधारसँगै चैतमा बजारले नयाँ उचाइ भेट्न सक्ने अपेक्षा लगानीकर्ताले राखेका छन्। 


प्रकाशित : सोमबार, चैत ४ २०८११५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend