काठमाडौं- देशभर केबलकार विस्तारमा व्यापक तयारी भइरहँदा विश्वकै अग्लो शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा समेत केबलकार निर्माण हुने भएको छ।
१ अर्ब ४७ करोड ५४ लाख ८९ हजार रुपैयाँ लगानी प्रतिबद्धतासहित केबलकारको प्रक्रिया अघि बढेको छ। केबलकारको बेस स्टेसन र टपमा हाइ इन्ड रिसोर्टसमेत रहने जनाइएको छ। यसरी समग्रमा परियोजनाको कुल लागत करिब ६ अर्ब ५० करोड रुपैयाँ रहने जनाइएको छ।
काठमाडौं कमलादीमा ‘स्काई वाक भ्यु टावर’ निर्माण गरेका आकर्षण पोखरेलसहितको टिमले नै सगरमाथा क्षेत्रमा केबलकार निर्माण गर्ने तयारी गरेका हुन्। पासाङ लामु गाउँपालिका वडा नम्बर २ लुक्ला चौरीखर्कदेखि लुम्डिङ चेदिङमासम्म ४.८ किलोमिटर क्षेत्रमा केबलकार निर्माण हुने जनाइएको छ। केबलकारबाट हिमश्रृंखलाको अवलोकन गर्न सकिने जनाइएको छ।
सन् २०१८ मा अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किएका इन्जिनियर आकर्षण पोखरेलले नेपालमा विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेका छन्। एडभेन्चर टुरिजमतर्फ केही नयाँ काममा केन्द्रित रहेका पोखरेलले कमलादीमा ‘स्काई वाक भ्यु टावर’ सञ्चालनमा समेत ल्याइसकेका छन्।
अहिले पोखरेललगायतको टिमले सगरमाथा क्षेत्रमा केबलकार निर्माणका लागि उद्योग विभागमा कम्पनीसमेत दर्ता गराएका छन्। वन्डर्स एभरेष्ट केबलकार प्रालिमार्फत केबलकार निर्माण हुने छ।
पदयात्रालाई समस्या नपर्नेगरी केबलकार निर्माणका लागि गाउँपालिकासँग अनुमतिसमेत लिइएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले जानकारी दिए। उनका अनुसार लुक्लाभन्दा केही माथिबाट सुरू हुने केबलकारका लागि होटलसहितको संरचना बन्ने छ। यसले नयाँ गन्तव्यको समेत पहिचान गरी पर्यटनमा थप टेवा पुग्ने उनले बताए।
केबलकारबाट वार्षिक १२ लाखभन्दा बढीले सेवा लिने अनुमानसमेत गरिएको छ। सगरमाथा क्षेत्र खासगरी आरोहणमा जाने आरोहीका लागि मुख्य आकर्षणको केन्द्र हो। वार्षिक हजारौँ पर्यटक उक्त क्षेत्रमा पदयात्राका लागि आउने गरेका छन्।
केबलकारले पदयात्रामा आउनेको संख्या झनै बढाउने अनुमान गाउँपालिका अध्यक्ष शेर्पाको छ। अहिले उक्त क्षेत्रमा लुक्लानजिकै सडक यातायातको सञ्जालसमेत जोडिँदै छ।
लुक्लानजिक सुर्केसम्म सडक पुगेको छ। ‘ङिमदोर्जी शेर्पा पर्यटक सडक’को उद्घाटन गत २० पुसमा प्रधानमन्त्री केपी शर्मा ओली गरिसकेका छन्। खुम्बु पासाङल्हामु गाउँपालिका-२ स्थित सुर्केसम्म गाडी पुर्याइएको छ। जुन लुक्लाबाट नजिक पर्छ।
योसँगै लुक्लामा मौसम अवरुद्ध हुँदा अब सडक मार्गमार्फत यात्रा गर्न सक्ने विकल्प बनेको छ। अहिले सोलुखुम्बु सल्लेरीबाट सुर्केसम्म ट्र्याक खोलिएको छ। अब सडकको विकाससँगै सगरमाथा क्षेत्रमा केबलकारसमेत निर्माण हुन लागेको हो। जसले सगरमाथा क्षेत्रको अवलोकनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।