काठमाडौं- घरजग्गा कारोबार पुसमा भन्दा फागुनमा स्थिर देखिएको छ। फागुनमा ४६ हजार ६१ वटा लिखत पास भएको छ।
गत माघमा देशभर ४६ हजार ६९ संख्यामा घरजग्गा लिखत पास भएको थियो। गत पुसमा केही वृद्धि देखिको कारोबार माघ र फागुनमा स्थिर देखिएको हो। देशभरका मालपोत कार्यालयहरूबाट पुसमा ४८ हजार १ सय ५६ लिखत पास भएको थियो।
हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब रुपैयाँ रहेको छ। बैंकहरूमा निक्षेप थुप्रिएर ब्याजदर सस्तो हुँदा पनि कर्जा जान सकेको छैन। ब्याजदर सस्तो हुँदा पनि घरजग्गाको मूल्य घटाएर किन्ने मुडमा लगानीकर्ता देखिँदा अझै पर्ख र हेरको अवस्था छ। जसका कारण फागुन महिनामा पनि घरजग्गा कारोबार स्थिर देखिएको छ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर घटेर ८.५५ प्रतिशतमा आएको छ भने निक्षेपको औषत ब्याजदर घटेर ४.६२ प्रतिशतमा आएको छ।
बैंकिङ प्रणालीमा कर्जा लगानी बढ्न नसकेकाले कर्जाको ब्याजदर निरन्तररुपमा घटेर न्यून बिन्दुमा आएको हो। बैंकिङ प्रणालीमा निक्षेप बढेपनि कर्जा लगानी नबढेपछि बैंकहरूले निक्षेपको ब्याजदर निरन्तररुपमा घटाइरहेका छन्। तर पनि घरजग्गा कारोबार बढ्न सकेको छैन। यसमा कारोबारीहरूले अझै मूल्य घटाएर किन्ने मौका हेरेको देखिन्छ।
घरजग्गाको कारोबारबाट फागुन महिनामा चार अर्ब १२ करोड रुपैयाँबराबरको राजस्व सङ्कलन भएको छ। देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको हो।
विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा तीन अर्ब नौ करोड रुपैयाँ, असोजमा तीन अर्ब आठ करोड १२ लाख रुपैयाँ, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपैयाँ, मङ्सिरमा तीन अर्ब ८७ करोड रुपैयाँ, पुसमा चार अर्ब २५ करोड २२ लाख रुपैयाँ र माघमा तीन अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।