मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

अमेरिकी नीतिले संसारका बजारको 'डाउनफल', चिनियाँ सेयर बजारमा भने उत्साह

आइतबार, चैत ३ २०८१
अमेरिकी नीतिले संसारका बजारको 'डाउनफल', चिनियाँ सेयर बजारमा भने उत्साह

चिनियाँ सम्पत्तिमाथिको लगानी गर्न लगानीकर्ताहरू यति धेरै आकर्षित भएपछि पश्चिमा विज्ञहरूले अब चिनियाँ बजार परिपक्क र स्थिर भएको प्रतिक्रिया दिन थालेका छन्।

काठमाडौं- दोस्रोपटक अमेरिकाको राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेशपछि संसारभर अर्थतन्त्रमा धेरै कुरा परिवर्तन भएका छन्। अमेरिकाले आफ्नै सहयोगी देशमाथि भन्सार महसुलको निर्मम प्रहारमात्र होइन अन्य पारस्परिक सहायता र संगलग्नताबाट पनि हात झिकेको छ। 

पुरानो वर्ल्ड अर्डरको नेता मानिने अमेरिकाले सबैलाई लखेट्ने काम गरिरहँदा त्यसको असर संसारका धेरै सेयर बजारले 'डाउनफल'को सामना गरिरहेका छन्। अमेरिकासँग निर्भर रहेका धेरैजसो अर्थतन्त्रका सेयर बजार खस्किएका छन्। अमेरिकी सेयर बजारमै पनि धेरै ठूलो क्षति भएको छ। जनवरी यतामात्र ‘एसएनपी५००’ले एक महिनामै ९ प्रतिशत डाउनफलको सामना गरेको छ। 

यसको ठीकविपरीत अमेरिकाले नै ट्रेडवारको मुख्य दुश्मन बनाएको चिनियाँ कम्पनीको सेयरमा भने उछाल देखिएको छ। अमेरिकी ट्यारिफ प्रहारसँग जुध्नसक्ने क्षमता देखाएको चीनलाई धेरै लगानीकर्ताले सुरक्षित गन्तव्य बनाउन थालेका छन्। 

अमेरिकी सम्पत्तिको विकल्प छैन भन्ने लगानीकर्ताले अमेरिका बाहिर पनि विश्वमा विकल्प छ भनेर पछिल्लो समय देखाउँदा चिनियाँ कम्पनी सूचीकृत हङकङको बेञ्चमार्क इन्डेक्समा ट्रम्पले कार्यभार सम्हाले यता १७ प्रतिशतले बढेको छ। 

चिनियाँ कम्पनीको सेयरको भाउ बढ्नुका पछाडि टेक कम्पनी रहेका छन्। विशेषगरी पछिल्लो समय चिनियाँ कम्पनीले थोरै लागतमा उच्च गुणस्तरको एआईको विकास गरेपछि त्यसले विश्व बजार नै तरंगित बनेको छ। प्रविधि कम्पनीहरूको इन्डेक्स २९ प्रतिशतले बढेको छ, जुन तीन वर्षकै उच्च हो। 

चिनियाँ कम्पनी डीपसिकको सफलतासँगै एआईमा अमेरिकी प्रतिबन्धकै बीचमा चीनले गरेको चमत्कारले पनि लगानीकर्तामा चिनियाँ बजारप्रति विश्वास जगाएको विज्ञहरूको भनाइ रहेको छ। 

चिनियाँ सम्पत्तिमाथिको लगानी गर्न लगानीकर्ताहरू यति धेरै आकर्षित भएपछि पश्चिमा विज्ञहरूले अब चिनियाँ बजार परिपक्क र स्थिर भएको प्रतिक्रिया दिन थालेका छन्। पछिल्लो एक महिनामै विदेशीले चिनियाँ सेयर बजारमा करिब चार अर्ब डलर लगानी गरेको तथ्यांक गत हप्तामात्र सार्वजनिक भएको थियो। 

चीनलाई थला पार्ने भन्दै अघिल्लो कार्यकालमा ट्रम्पले चीनविरुद्ध व्यापार युद्ध छेडेका थिए। दोस्रो कार्यकालसम्म आइपुग्दा चीनलक्षित जति पनि प्रहार छन् त्यसबाट चीन सुरक्षित रुपमा निस्किएको अनुमान कतिपयले गरेका छन्। 


प्रकाशित : आइतबार, चैत ३ २०८१०६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend