काठमाडौं- पछिल्लो समय कर्जा लगानीले गति लिन थालेको छ। माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा फागुनमा थप २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
चालु आर्थिक वर्ष राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ। फागुन महिनामा प्रवाह भएको कर्जासहित प्रणालीबाट ३ खर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।
पछिल्लो समय आयातमा भएको वृद्धि, सेयर कारोबारमा भएको वृद्धि, चालु पुँजी कर्जा प्रवाहमा देखिएको वृद्धि र आवधिक कर्जा लगानीमा भएको वृद्धिसँगै कर्जा लगानी बढेको हो।
कर्जा प्रवाह बढ्न थालेसँगै अर्थतन्त्र चलायमान हुने देखिएको छ। विगतमा राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत चालेका कतिपय नीतिका कारण कर्जा लगानीमा कमी आएको थियो।
राष्ट्र बैंकले सञ्चिति जोगाउन भन्दै प्रतितपत्र (एलसी) मा गरेको कडाइ, ओभरड्राफ्ट, हायरपर्चेज कर्जा, सेयर कर्जा, आयात कर्जा लगायतका कर्जाको जोखिमभारमा गरेको वृद्धि र चालु पुँजी कर्जा मार्गदर्शनका कारण कर्जा लगानीमा कमी आएको थियो।
यस्तै पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दै जादा पुँजीकोषमा परेको दबाबले पनि कर्जा लगानीमा कमी आएको थियो।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात सहज अवस्थामा रहेपनि बैंकहरूको पुँजीकोषमा परेको दबाब कारण क्यापिटल चार्ज लाग्ने भन्दै बैंकहरूले जोगिएर कर्जा लगानी गरिरहेका छन्।
बैंकिङ प्रणालीमा यतिबेला करिब ७ खर्ब लगानीयोग्य रकम भएपनि बैंकहरूले कर्जा असुलीमा बढी जोड दिइरहेका छन्। पुँजीकोषमा दबाब रहेका कतिपय बैंकहरूले कर्जा लगानीभन्दा असुलीतर्फ ध्यान बढाएका छन्।
खराब कर्जा घटाएर वितरणयोग्य नाफातर्फ गएर क्यापिटल फ्रि गराउने नीतिमा बैंकहरू देखिन्छन्। फागुन मसान्तसम्मा बैंकिङ प्रणालीमा ६७ अर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ५४ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
माघ मसान्तसम्मा बैंकहरूले ५४ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। यस अवधिमा बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७९.७२ प्रतिशत रहेको छ।
बैंकहरूको अन्तरबैंकिङ कारोबार ३ प्रतिशतमा सीमित छ। यस्तै राष्ट्र बैंकले साधारण बचतको ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिन निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेर प्रणालीबाट तरलता खिचिरहेको छ। स्थायी निक्षेप सुविधामा बैंकहरूको करिब ९८ अर्ब र निक्षेप संकलन उपकरणमा १ खर्ब ६० अर्ब गरी कुल २ खर्ब ५८ अर्ब रुपैयाँ तरलता रहेको छ।
पछिल्लो समय बैंकहरूको औषत निक्षेप ब्याजदर ४.६२ प्रतिशत र कर्जाको औषत निक्षेप ब्याजदर ८.५५ प्रतिशत रहेको छ।