मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

माघ र फागुनमा सुधारतर्फ लागेको सेयर बजारले चैतमा पाउला नयाँ उचाइ?

शुक्रबार, चैत १ २०८१
माघ र फागुनमा सुधारतर्फ लागेको सेयर बजारले चैतमा पाउला नयाँ उचाइ?

काठमाडौं- गएको माघमा ९१.६ अंकको सुधार देखिएको सेयर बजारमा फागुनमा पनि ५०.७५ अंकको वृद्धि देखिएको छ। लामो समयदेखि नयाँ उचाइको आशमा रहेका लगानीकर्ता अहिलेको सुधारले अपेक्षाकृत वृद्धिको अपेक्षामा छन्।

गएको माघको अन्तिम कारोबारमा ३० गते २६८५.७३ बिन्दुमा रहेको सेयर बजार फागुनको अन्तिम कारोबारमा २८ गते बुधबार २७३६.४८ बिन्दुमा पुगेको हो। पछिल्लो समय लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर लागेर लगातार नै १७१.०७ अंकले घटेको सेयर बजारमा पुन: दोहोरो अंकको वृद्धि देखियो। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएको थियो। साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजारले भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा गति रोकियो।

असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। अहिलेको सुधारसँगै चैतमा बजारले नयाँ उचाइ भेट्न सक्ने अपेक्षा लगानीकर्ताले राखेका छन्। 

लगातार उच्च बिन्दुतर्फ लागेर केही समय वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ नै लाग्ने अपेक्षामा बजारको प्रवृत्ति बुझ्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारमा देखिएको ‘बुलिस ट्रेन्ड’ बीच केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने उनीहरूको तर्क छ। 

अचानक हुने मूल्य परिवर्तनमा धेरैले धैर्यता नराख्दा बजारले अहिलेको उतारचढावको घट्दो स्थिति भोगिरहेको विश्लेषकहरूको तर्क छ। बजारको अवस्था बुझेर विश्लेषण गर्न सके ठूला लगानीकर्ताको 'शिकारको जालो'बाट बचिने उनीहरूको भनाइ छ। उनीहरूका अनुसार ठूला खेलाडीहरूले लिने रणनीति बुझ्नुका साथै आफ्नो छुट्टै बिन्दु सेट गर्न सके बहकाउमा पर्नु पर्दैन। 

जब बजारमा ठूलो संख्यामा स्टप अर्डर सक्रिय हुन्छ तब अत्याधिक अस्थिरता पनि देखिन थाल्छ। जसमा केहीले अवसरका रुपमा आफ्नो लगानीबारे निर्णय लिन्छन्। ठूलो उतारचढावमा केहीले धेरै घाटा नहोस् भन्ने अवस्था विचार गर्छन् भने केहीले ‘बाउन्स ब्याक’ हुने अवस्था हेरेर सक्दो तल्लो बिन्दुमा झारेर ठूलोमात्रामा खरिद गर्छन्। 

हुन पनि ट्रेडिङको दौरान कम्पनीहरूको सेयर मूल्यमा बढ्ने क्रम र घट्ने क्रम चलिरहन्छ। त्यस्तोमा बुल मार्केट कुनै सानो समयरेखामा समेटिन्छ भन्ने छैन। यसमा समयको एउटा चक्रभित्र उचाइतर्फ देखिएको मूल्यलाई विचार गर्नुपर्छ। बुल विस्तारित अवधिको हुन्छ। बुल मार्केट केही महिना या केही वर्षसम्मै पनि रहन सक्छ। 

बुल मार्केट लगानीकर्ताहरूको आशा, लगानीप्रतिको विश्वास र विस्तारित समयसम्मका लागि बलियो परिणामको अपेक्षा रहन्छ। बजारको प्रवृत्ति कहिले परिवर्तन हुन्छ भनेर यकीन भविष्यवाणी गर्न त सकिँदैन तर यसमा गणितीय अनुमान गर्न भने सकिन्छ। तर कहिलेकाहिँ देखिने मनोवैज्ञानिक प्रभावका कारण पनि अनुमानको ठूलो भूमिकाले साथ नदिन पनि सक्छ।  

कुनै समय माथि चढिरहेको मूल्य केही दिन तल झर्न पनि सक्छ। त्यस्तोमा बजारको प्रवृत्ति हेरेर अतालिनु भने हुँदैन। बुल मार्केटको समयमा पनि केही दिन वृद्धि रोकिने र केही दिन तल झर्ने हुन सक्छ। त्यसमा ठूला संगठित लगानीकर्ताहरूले खेल्ने ठाउँसमेत रहन्छ। यसैले आफूले समग्र बजारको लक्ष्यमा होइन आफ्नै लक्ष्य र योजनामा विचार गर्नुपर्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : शुक्रबार, चैत १ २०८१०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend