मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

ग्लोबल आईएमई बैंकले ७ महिनामा गर्‍यो ३ अर्ब ८९ करोड खुद नाफा

बुधबार, फागुन २८ २०८१
ग्लोबल आईएमई बैंकले ७ महिनामा गर्‍यो ३ अर्ब ८९ करोड खुद नाफा

बैंकले कर्जा नोक्सानी घटाइरहेकाले आगामी समयमा बैंकको नाफा बढ्न सक्ने देखिएको छ। कर्जा नोक्सानी व्यवस्था घटाएर बैंकले वितरणयोग्य नाफा बढाउँदै आगामी समयमा लगानीकर्तालाई उचित प्रतिफल दिने लक्ष्य लिएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ७ महिनामा ३ अर्ब ८९ करोड रुपैयाँ खुद गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेकोमा एकै महिनामा ८२ करोड खुद नाफा थपेको छ।

यस अवधिमा बैंकले २६ अर्ब ३० करोड रुपैयाँ ब्याज आम्दानी गर्दै १६ अर्ब ५६ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। यस्तै यस अवधिमा बैंकले कमिसनबापत २ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको छ। 

गत वर्ष १ अर्ब २७ करोडले वितरणयोग्य घाटामा रहेको ग्लोबल आईएमई बैंकले समीक्षा अवधिमा २ अर्ब ६४ करोड रुपैयाँ वितरणयोग्य बनाउन सफल भएको छ।

ग्लोबल आईएमई बैंक नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक हो। यस बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। सबैभन्दा बढी नाफा गर्ने बैंकहरुको सूचीमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहँदै आएको छ।

यस बैंकले ५ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब १६ अर्ब रुपैयाँ निजी क्षेत्रतर्फ कर्जा लगानी गरेको छ। यस बैंकले सरकारी ऋणपत्रहरुमा करिब ९५ अर्ब रुपैयाँ लगानी गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले आफ्ना सम्पूर्ण सूचकहरु अब्बल राख्न सफल छ। बैंकले प्राथमिक पुँजीकोष १०.२९ प्रतिशत र न्यूनतम पुँजीकोष १२.५९ प्रतिशत राखेको छ।

राष्ट्र बैंकले प्राथमिक पुँजीकोष ८.५ प्रतिशत र न्यूनतम पुँजीकोष ११ प्रतिशत राख्नपर्ने व्यवस्था गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आउँदा बैंकले खराब कर्जा घटाउने र असुली बढाउने प्रयास गरिरहेको छ।

बैंकले कर्जा नोक्सानी घटाइरहेकाले आगामी समयमा बैंकको नाफा बढ्न सक्ने देखिएको छ। कर्जा नोक्सानी व्यवस्था घटाएर बैंकले वितरणयोग्य नाफा बढाउँदै आगामी समयमा लगानीकर्तालाई उचित प्रतिफल दिने लक्ष्य लिएको छ।

सोहीअनुरुप बैंकले विवेकशील ढंगबाट आफ्ना व्यावसायिक गतिविधिहरु अगाडि बढाइरहेको छ। हाल बैंकको खराब कर्जा ४.८६ प्रतिशत र नेट एपीएल १.८८ प्रतिशत रहेको छ।

ग्लोबल आईएमई बैंक 'ग्लोबल फाइनान्स'को 'बेष्ट बैंक अवार्ड २०२४' र 'युरो मनी अवार्ड फर एक्सलेन्स २०२४' अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ। बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट समेत सम्मान प्राप्त गरेको छ।

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले आफ्ना ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ।


प्रकाशित : बुधबार, फागुन २८ २०८११३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend