काठमाडौं- नेपालको अटोमोबाइल इतिहासमा पहिलोपटक दुईवटा अटो शो हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र हालै बनेको संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन(नाइमा)ले अलग-अलग मितिमा अटो शो गर्ने घोषणा गरेका हुन्।
नाडाले आगामी भदौ ३ गतेदेखि १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजन गर्ने भन्दै आज मंगलबार (फागुन २७)देखि अटो शोमा सहभागिताका लागि बुकिङ खुला गरेको हो। त्यस्तै नाइमाले पनि आगामी साउन २१ गतेदेखि २५ गतेसम्म ५ दिन अटो शो गर्ने भएको छ।
नाडाले ‘नाडा अटो शो २०२५’ को नाममा र नाइमाले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५ वा २०८२’ का नाममा अटो शो आयोजना गर्ने तय भएको छ।
दुई संस्थाले नेपालमा आयात भइरहेका सवारीसाधनलाई समावेश गरेर अटो शो गर्न लागेका हुन्।
अटोमोबाइल व्यवसायीहरूको छाता संस्थाको रुपमा यसअघि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमात्र थियो। नाडाले आफ्नो मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै आयातकर्ताहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। उक्त असन्तुष्टिपछि अहिले नयाँ संस्था नै खडा भएको छ।
नाडामा रहेका सदस्य संस्थाहरू नै अलग्गिएर नयाँ संस्था बनेको हो। नाडामा अनावश्यक राजनीति भएको र अटोमोबाइल व्यवसायीहरूको हितमा काम हुन नसकेको उनीहरूले दाबी गर्दै आएका थिए। सोही कारण सवारी आयातकर्ता र नेपालमै सवारी उत्पादन/एसेम्बल गर्दै आएकाहरूलाई मात्र समेटेर नयाँ संस्था बनेको र सदस्यहरूको हितका लागि नेपाल मोबिलिटी एक्स्पो आगामी वर्ष गर्ने निष्कर्षमा नाइमा पुगेको हो।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले २०८२ भदौ ३ देखि ८ गतेसम्म १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गरिने जनाएको छ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि २०८१ फागुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ। प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरू जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाको भनाइ छ।
प्रदर्शनीमा २-पाङग्रे, ३-पाङग्रे, ४-पाङग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूलगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिष्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ। नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीनलगायतका अटोमोबाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरूको तुलनामा यस वर्ष छिट्टै रजिष्ट्रेसन खुला गरिएको नाडाले जनाएको छ।
यता नाइमाले स्टल बुकिङका लागि अबको एक डेढ महिनाभित्रमा आह्वान गर्ने योजना बनाएर तयारी थालेको जनाएको छ। नाइमामा नेपालमा सवारी आयातकर्ता र सवारी उत्पादन/एसेम्बल गर्ने सबै संस्थाहरूको सहभागिता रहेकाले नेपाल मोबिलिटी एक्स्पोमा सबैजसो संस्थाको सहभागिता रहने अपेक्षा नाइमाले गरेको छ। नाइमामा पनि प्यासेन्जर कार, मोटरसाइकल तथा स्कुटर, कमर्सियल सवारी र बैंक तथा वित्तीय संस्थालगायतको सहभागिता रहने छ।
नाइमाले आफ्ना सदस्यहरूको हितका लागि भन्दै नाडाले यसअघि तय गरेको प्रतिवर्गमिटर क्षेत्रफलको लागतमा २५ प्रतिशत कम हुनेगरी शुल्क निर्धारण गर्ने दाबी गरेको छ। नाइमाले एक्स्पोको समय धेरै (बिहान ११ बजेदेखि बेलुका ७ः३० सम्म) गर्ने, ठूलो र उपयोगी स्टललाई प्राथमिकता, व्यवसायी र मिडियाका लागि अलग समयलगायत कुरालाई उच्च प्राथमिकता दिने तयारीमा छ।
यता नाडाले पनि आफ्नो लिगेसीलाई कायम राख्ने र थप परिस्कृत बनाएर आगामी अटो शो गर्नेगरी काम गरिरहेको नाडाको भनाइ छ।
१५ दिनको अन्तरमा हुने नाडा र नाइमाको अटो शोमा केही ब्रान्डहरूले दुवैतिर सहभागिता जनाउन सक्ने छन्। नाइमाले पहिलोपटक गर्न लागेकाले केही व्यवसायीहरू कन्फ्युजन हुने सम्भावनासमेत रहेको छ।
नाडाले भन्दा पहिलो नाइमाले गर्न लागेकाले फस्ट मुभर एडभान्टेज नाइमालाई प्राप्त हुन सक्छ। त्यस्तै लिगेसी बोकेको नाडालाई उसको इतिहास र सदस्य संख्याले लाभ मिल्न सक्छ। आगामी संस्करणभन्दा पछि हुने अटो शोमा भने ब्रान्डहरूले एउटामा मात्र सहभागिता जनाउन सक्ने छन्।
एकै प्रकृतिको संस्था भएको र दुवै संस्था नाडा तथा नाइमामा सहभागीहरूको दोहोरो सदस्य भएकाले एउटै अटो शो हुनुपर्ने हो। तर जसरी संस्था नयाँ बन्ने घटनाक्रम विकास भयो यसले नाइमा र नाडाले संयुक्त रुपमा अटो शो हुने सम्भावना कम देखिएको छ। दुवै संस्थाले गर्ने अटो शो भृकुटीमण्डपमा हुनेछ।
नाडाको अध्यक्ष करण चौधरी छन् भने नाइमाको अध्यक्ष रितुसिंह वैद्य छिन्। नाइमाले दर्तालगायत सबै प्रक्रिया पूरा गरिसकेको छ तर औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।