मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

ब्याजदर सस्तो भएपछि बचतकर्ताले मुद्दती निक्षेप नवीकरण गर्नै छाडे, १ खर्ब ४२ अर्ब रुपैयाँ साधारण बचतमा परिणत

मंगलबार, फागुन २७ २०८१
ब्याजदर सस्तो भएपछि बचतकर्ताले मुद्दती निक्षेप नवीकरण गर्नै छाडे, १ खर्ब ४२ अर्ब रुपैयाँ साधारण बचतमा परिणत

बचतकर्ता निक्षेपको ब्याजदर बढ्ने आशमा रहेकाले मुद्दती निक्षेप नवीकरण नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन्। नवीकरण नभएको बचत साधारण बचतमा परिणत भएकाले मुद्दती निक्षेप घटेको उनको भनाइ छ।

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले निरन्तररुपमा निक्षेपको ब्याजदर घटाएसँगै मुद्दती निक्षेपमा बचतकर्ताहरूको आकर्षण कम हुन थालेको छ।

ब्याजदर घटेकै कारण गत वर्षको माघदेखि चालु आर्थिक वर्षको सोही अवधिसम्ममा मुद्दती निक्षेपमा करिब १ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ कमी आएको छ। यति ठूलो रकम साधारण बचतमा परिणत हुँदासमेत बचतकर्ता मुद्दती निक्षेप नवीकरण गर्न बैंक तथा वित्तीय संस्था गएका छैनन्। 

मुद्दती बचत साधारण बचतमा परिणत हुँदासमेत बचतकर्ताहरू तत्काल नवीकरण गर्ने पक्षमा देखिएका छैनन्। अहिले बैंकहरूको ब्याजदर घटिरहेकाले केही समय साधारण बचतमै छोड्ने वा तीन महिना अवधिको अल्पकालीन मुद्दती बचतमा रकम राख्ने मनिस्थितिमा बचतकर्ताहरू देखिन्छन्। पछिल्लो समय कर्जा लगानी क्रमिकरुपमा बढिरहेकाले आगामी बर्षबाट निक्षेपको ब्याजदर बढ्ने अपेक्षा बचतकर्ताहरूमा देखिन्छ। 

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै निक्षेप तथा कर्जाको ब्याजदर बैंक वित्तीय संस्थाहरूले घटाइरहेको छन्। निक्षेप करिब २.५ खर्ब र कुल प्रणालीमा करिब ७ खर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम रहेको भन्दै बैंकहरूले निक्षेप तथा कर्जा दुबैको ब्याजदर घटाएका हुन्।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जा लगानी हुन नसकेकोले बैंकहरूले पनि महँगो ब्याजदरमा निक्षेप लिन मानेका छैनन्। यतिबेला महँगो ब्याजदरमा मुद्दती निक्षेप लिँदा यसले बैंकहरूको लागत तथा कर्जाको ब्याजदर बढाउने भएकाले बैंकहरूले बढी ब्याजदरमा दीर्घकालीन प्रकृतिको मुद्दती निक्षेप लिन चाहेका छैनन्। जसले गर्दा निक्षेपकर्ताहरूले साधारण बचतमा रकम राखेरै भएपनि केही समय मुद्दति निक्षेप नवीकरण गर्ने अवधि लम्बाइरहेका छन्। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ मसान्तसम्ममा निक्षेपको औषत ब्याजदर ४.६२ प्रतिशत र कर्जाको औषत ब्याजदर ८.५५ प्रतिशत रहेको छ। अधिकांश कर्जाको ब्याजदर एकल अंकमा आएको छ। यस अवधिमा बैंकहरूले साधारण बचतको औषत ब्याजदर ३.३६ प्रतिशत र मुद्दती निक्षेपको औषत ब्याजदर ६.६२ प्रतिशतमा कायम भएको छ। 

बचतकर्ता निक्षेपको ब्याजदर बढ्ने आशमा रहेकाले मुद्दती निक्षेप नवीकरण नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन्। नवीकरण नभएको बचत साधारण बचतमा परिणत भएकाले मुद्दती निक्षेप घटेको उनको भनाइ छ। 

'ब्याजदर घटेकाले धेरै मुद्दती निक्षेप नवीकरण हुन सकेको छैन। मुद्दती निक्षेप नवीकरण नहुँदा उक्त बचत साधारण बचतमा परिणत भएको छ। केही समय होल्ड गर्ने र ब्याजदर बढेमा मात्रै नवीकरण गर्ने सोचमा बचतकर्ताहरू छन्। साधारण बचत र मुद्दती निक्षेपको बचतमा खासै धेरै अन्तर नभएकाले बचतकर्ता कम्तिमा पनि आगामी साउनसम्म पर्खिने वा राखिनै हालेपनि तीन महिना अवधिसम्मको मुद्दती निक्षेपमा रकम जम्मा गर्ने सोच देखिन्छ', कोइरालाले बताए।

गत वर्षको माघ मसान्तसम्ममा नेपालको बैंकिङ प्रणालीमा ३६ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा यस वर्षको सोही अवधिमा ३५ खर्ब ६ अर्ब रुपैयाँ कायम भएको छ। 


प्रकाशित : मंगलबार, फागुन २७ २०८११४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend