मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

मजबुत बाह्य क्षेत्र : चालु खाता १ खर्ब ६६ अर्ब र शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब रूपैयाँले बचतमा

सोमबार, फागुन २६ २०८१
मजबुत बाह्य क्षेत्र : चालु खाता १ खर्ब ६६ अर्ब र शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब रूपैयाँले बचतमा

यस अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यस अवधिमा खुद सेवा आयात करिब ५० अर्बले ऋणात्मक रहेको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं- मुलुकको आन्तरिक अर्थतन्त्र कमजोर रहँदा बाह्य क्षेत्र भने मजबुत देखिएको छ।

राष्ट्र बैंकले चालु आवको ७ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालु खाता १ खर्ब ६६ अर्ब रुपैयाँ र शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब रुपैयाँले बचतमा रहेको देखाएको छ।

माघ महिनामा आयात १० प्रतिशतले बढे पनि निर्यातमा भएको वृद्धि र रेमिट्यान्स ७.३ प्रतिशतले बढेकाले मुलुकको बाह्य क्षेत्र सबल देखिएको हो। यस अवधिमा ९ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।

यस्तै, यस अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने खुद सेवा आयात करिब ५० अर्बले ऋणात्मक रहेको राष्ट्र बैंकले जनाएको छ।

मुलुकको भुक्तानी सन्तुलन बचतमा रहेकाले माघ मसान्तसम्ममा मुलुकमा १७ अर्ब ५ करोड डलर बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ। उक्त सञ्चितिले १७.२ महिनाको वस्तु तथा १४.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

यस्तै, यस अवधिमा मुद्रास्फीति सरकारले तोकेको सीमाभित्रै रहेको छ। सरकारले चालु आर्थिक वर्ष ५.५ प्रतिशतको सीमाभित्र मुद्रास्फीति कायम गरेको लक्ष्य राखेकोमा समीक्षा अवधिमा ४.१६ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंक वित्तीय संस्थाहरुले निजी क्षेत्रतर्फ २ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

कर्जा प्रवाह गत आर्थिक वर्षको तुलनामा ५.६ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रतर्फ १ खर्ब ९७ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका थिए।


प्रकाशित : सोमबार, फागुन २६ २०८११७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend