विराटनगर- २०१८ सालमा महेन्द्र गोल्डकपको रूपमा सुरु भएको चर्चित फुटबल प्रतियोगिता हाल विराट गोल्ड कपले परिचित छ। रात्रिकालीन फुटबल प्रतियोगिताको नवौँ संस्करण (फागुन १९ देखि २८) विराटनगरको सहिद रंगशालामा सञ्चालन भइरहेको छ।
विराट गोल्डकप ट्रस्टले विराटनगरका उद्योगी व्यावसायिको नेतृत्वमा प्रतियोगिता गराउने गरेको छ। सोही गोल्ड कपको नवौँ संस्करणको नेतृत्व मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले गरेका छन्।
यसअघि व्यवसायी मनोजविक्रम राणा र उद्योगी राजेन्द्र राउतले नेतृत्व गर्दा १० लाख रुपैयाँभन्दा बढी नाफा भएको गोल्डकप विराटनगर महानगरका मेयर नागेश कोइरालाले नेतृत्व गरेको सातौँ संस्करण ८७ लाख रुपैयाँ घाटामा गयो।
यसअघि चौथो संस्करणको पनि नेतृत्व गरेका रिजालले ट्रस्टलाई ६ लाख रुपैयाँ नाफा दिलाएका थिए। अघिल्लो (आठौँ) संस्करणमा साढे २२ लाख घाटा गएको प्रतियोगितालाई नाफामा लैजानुपर्ने जिम्मेवारी अहिले रिजालको काँधमा छ।
'विश्वमा जतिपनि ठूला प्रतियोगिता हुन्छन् तिनीहरू व्यावसायिक सम्बन्धबिना सफल भएका छैनन्। मल्टिनेसनल कम्पनीसँगको सहकार्यमै ठूला प्रतियोगिता चलिरहेका छन्। जहाँसम्म विराट गोल्डकपको कुरा छ यसले विराटनगरको पहिचानलाई प्रतिनिधित्व गर्छ। विराटनगर गन्तव्य भन्दापनि ट्रान्जिट सहर हो' रिजाल भन्छन्।
आफूहरूले महेन्द्र गोल्डकपको इतिहासलाई जोगाउने अभियान जारी राखेको सुनाउँदै रिजाल भन्छन्, '२०७४ सालमा मेरै नेतृत्वमा रात्रिकालीन प्रतियोगिता सुरु गरिएको थियो। हामी फाइदामा पनि गयौँ। पछिल्लो समय आर्थिक मन्दीको असर प्रतियोगितामा देखियो। गोल्ड कप विराटनगरको इतिहास भएकाले त्यसलाई जोगाउन मोरङ उद्योग व्यापार संघ लागिपरेको छ। यसले विराटनगरको पहिचानलाई थप स्पष्ट पार्छ।'
यसपटकको नवौँ संस्करणमा १ करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा विभागीय तीनसहित ८ टिमले सहभागिता जनाएका छन्। भारतबाट दुई टिम आएका छन्। गोल्ड कप विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउँछन्।

'अहिलेको हिसाबमा पुरस्कार राशी नराम्रो होइन। गोल्ड कप वृहत् रूपमा नै भइरहेको छ। यसको प्रचारपनि राम्रै भएको छ। तर खेल हेर्न आउनुपर्ने जुन लक्षित पुस्ता हो त्यो देखिएको छैन। युवा पुस्तामा खेलप्रति मोह कम भएको हो वा युवाहरू नै नभएका हुन् त्यो हामीले बुझेका छैनौँ। युवा पुस्ताको सहभागिता कम भएको छ' रिजालले सुनाए।
प्रतियोगितामा अब खर्च कटौती गरेर अन्तर्राष्ट्रिय ब्रान्ड ल्याउनुपर्ने रिजाल बताउँछन्। स्वदेशी ब्रान्डको स्पोन्सरले मात्र अब पार नलाग्ने निर्णयमा उनी पुगेका छन्। 'खेलाडीको लागि उत्साह दिन पनि केही खर्च गर्नुपर्ने हुन्छ। व्यवस्थापकीय खर्च अत्यधिक हुने भएकाले धान्न गाह्रो हुने अवस्था छ' उनले भने।

गोल्डकपलाई व्यापारभन्दा पनि पहिचान र पर्यटनको हिसाबमा जोड्न खोजेको रिजाल बताउँछन्। खेल पर्यटन र विराटनगरको पहिचानलाई स्थापित गर्ने उद्देश्यले कार्यक्रम गरिएको उनको भनाइ छ। उनी भन्छन्, 'यो पुरानो औद्योगिक सहर र व्यापारिक सहरको रूपमा चिनिन्छ। अहिले उद्योग र व्यापारको के अवस्था छ सबैलाई थाहै छ। अब विराट गोल्ड कपमार्फत विराटनगरको रि-ब्रान्डिङ भइरहेको छ।'
प्रतियोगिताका लागि सरकारी तवरबाट हुनुपर्नेजस्तो सहयोग नभएको रिजालको भनाइ छ। 'कोशी प्रदेश सरकारले ६ लाख रुपैयाँ दिने भनेको छ। त्यसको पनि ग्यारेन्टी छैन। विराटनगर महानगरपालिकाले १५ लाख दिने भनेको छ। १ करोड ३५ लाख खर्च हुने प्रतियोगितामा यो सहयोग कति हो र? तर हामीले सक्दो व्यवस्थित र स्तरीय प्रतियोगिता गरेका छौँ' उनले भने।