आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मनाङमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २६ २०८१
images
मनाङमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइने

सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने विश्वास गरिएको छ।

images
images

मनाङ- हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ। स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याउन लागिएको हो। 

images
images
images

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले आज सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको छ।

images
images

बैठकमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा पूर्वाधार विकास कार्यालयका प्रमुखको सहभागिता रहेको थियो।

images
images

बैठकले सार्वजनिक बस सेवा व्यवस्थित, सुलभ र सरल बनाउँदै स्थानीय बासिन्दा, पर्यटक तथा सरकारी कर्मचारीलाई सहुलियतपूर्ण तथा सहज रूपमा यात्रा सुनिश्चित गर्ने निष्कर्षसहित सो निर्णय गरिएको प्रजिअ आचार्यले बताए।

'भौगोलिक रूपमा विकट क्षेत्र मनाङमा पहिलो पटक सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याउन लागिएको छ,' उनले भने, 'सार्वजनिक सवारीसाधन सञ्चालनले स्थानीयवासीका साथै पर्यटक र कर्मचारीलाई सहज हुनेछ।'

मनाङमा हालसम्म यात्रुका लागि मुख्य रूपमा पाँच सिटे क्षमताका पिकअप जिप मात्र सञ्चालन हुँदै आएका छन्। जसका कारण यात्रुले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या छ।

सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने विश्वास गरिएको छ। 

प्रजिअ आचार्यले सार्वजनिक सवारीसाधन सञ्चालनमा आउँदा यसले यातायात व्यवस्थापनलाई थप सुधार गर्नुका साथै व्यवस्थित बनाउने बताए। बेँसीसहर-चामे सडक-खण्डमा यात्रुबाहक बस सञ्चालनका लागि विगतमा विपद् व्यवस्थापन समितिले निर्णय गरिसकेको भए पनि कार्यान्वयनमा ल्याउन सकिएको थिएन। समन्वय बैठकले उक्त निर्णयलाई पुनःअनुमोदन गर्दै तत्काल बस सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको उनको भनाइ छ। 

बस सञ्चालनका लागि आवश्यक रुट इजाजत पत्र लिनुपर्ने भएकाले लमजुङ कालिका प्रालिलगायतका यातायात व्यवसायीलाई सम्बन्धित निकायमा निवेदन दिन अनुरोध गरिने जानकारी दिए। 

बेसीसहर-चामे सडक खण्ड जोखिमयुक्त भएकाले बस सेवा सुरक्षित र व्यवस्थित बनाउन सडकका समस्याग्रस्त तथा जोखिमयुक्त स्थानको पहिचान गरी मर्मत एवम् निर्माणलाई तीव्रता दिइने प्रजिअ आचार्यले बताए। उक्त कार्यमा यातायात व्यवसायी तथा पूर्वाधार विकास कार्यालयसँग समन्वय गरी कामलाई तिव्रता दिइने जनाइएको छ। 

प्रजिअ आचार्यले भने, 'पहिचान गरिएका स्थानको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय दमौली, डुम्रे-बेसीसहर-चामे सडक आयोजना, जलविद्युत् आयोजना तथा स्थानीय तहसँग आवश्यक पहल गर्नेछौँ।'  रासस


प्रकाशित : सोमबार, फागुन २६ २०८११०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend