काठमाडौं- कोरोना भाइरसको संसारभर संक्रमण फैलिँदा आजभन्दा पाँच वर्ष पहिले विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको थियो। कोभिड-१९ महामारी सुरू हुँदा संसारभर नै अनिश्चयमात्र थियो। संसारकै शक्तिशाली देश पनि अनिश्चयमै थिए। संक्रमण रोक्नका लागि भन्दै लकडाउन लाग्यो। यसले गर्दा मान्छेले जिउले शैलीमै परिवर्तन भयो।
धेरै कुरा सामान्य भए जुन सन् २०२० भन्दा पहिले असामान्य लाग्थे। कल्पना पनि गर्न नसकिने बिन्दुबाट संसार गुज्रियो। तर समयक्रममा महामारीको त्रास सकियो र संसार फेरि पूरानै लयमा फर्कियो। कोभिडकालमा अपनाइएका कयौँ उपकरण भत्किए। तर पनि विश्व अर्थतन्त्र र समाजमा कोभिडको केही छाप भने अझै रहेका छन्। संसारमा के बदलियो त्यसपछि?
सरकारी ऋण, श्रम बजारमा परिवर्तन, उपभोक्ता व्यवहारमा फेरबदल र असमानता जस्ता कतिपय क्षेत्रमा छाप अझै कायम छ। कारोबार र भुक्तानीशो शैलीमा भएको विकासक्रम अझै विकास हुने चरणमामात्र होइन भविष्यको मूलधार हुने क्रममा पनि रहेको छ।
महामारीको समयमा संसारभरका सरकारले कल्याणकारी कार्यक्रम र जीविकोपार्जनलाई निरन्तरता दिने मुख्य कार्यभार थियो। बन्द अवस्थामै माग सिर्जना गर्ने र उत्पादनलाई जारी राख्नुपर्ने बाध्यता पनि थियो। त्यसका लागि सरकारहरूले ठूलोमात्रामा ऋण लिए। सन् २०२० मा विश्वको ऋण जीडीपीको ७५ प्रतिशत रहेकोमा अहिले ८७ प्रतिशत पुगेको छ। त्यही सार्वजनिक ऋणको भारका कारण संसारका कयौँ अर्थतन्त्र अहिले पनि दबाबमा छन्। महामारी मत्थर भएर करिब विस्मृतिमा गएपनि अर्थतन्त्रमा सिर्जना भएको दबाब भने अझै जारी रहेको छ।
कुनै पनि देशले सार्वजनिक ऋणको भारबहन क्षमताको पनि मापण हुने सार्वभौम रेटिङको गुणस्तर कोभिडकालमै खस्कियो। जुन अहिलेसम्म कोभिडअघिको अवस्थामा पुगेको छैन।
कोभिडकालमा बजारमा गएको सहज पैसाले सिर्जना गरेको मुद्रास्फ्रितिको रापतापले विश्व अर्थतन्त्र अझैसम्म तंग्रिन सकेको छैन।
कोभिड महामारीले सबैभन्दा धेरै प्रभाव पारेको क्षेत्र हो श्रम बजार। महामारीको कारण लाखौं मानिसहरूले जागिर गुमाए। सबैभन्दा गरिबहरूले यसको मार धेरै खेपे। लकडाउन अन्त्यसँगै उत्पादन र रोजगारी सामान्य हुँदै गएपनि श्रम सहभागिता दरमा अझै उल्लेख्य सुधार भएको छैन।
कोभिडकालमा ठप्प भएको थियो यात्रा र मनोरञ्जन। जसलाई विश्वले यात्रा र मनोरञ्जन मानिरहेको थियो त्यो कोभिडकालमा ठप्प भयो। सिनेमा हलहरू बन्द भए, विमानस्थलमा सामान्य यात्रुलाई रोक लगाइयो जसले गर्दा सबै ठप्प भएका थिए। त्यही कारणले गर्दा यसमा नयाँ शैलीको विकास भयो।
मनोरञ्जनका लागि ओटीटीहरूको उदय भयो जसको अहिले पनि विकास तीव्र छ। त्यस्तै यात्रामा पनि कोभिडअघिकै तहमा अझै देखिएको छैन। संसारका मुख्य सहरहरूको पछिल्लो सर्वेक्षणले कोभिडअघिकै तहमा नपुगेको देखाएको छ।
डिजिटल युगको सुरुवात
महामारीको समयमा अनलाइन किनमेल उल्लेखनीय रूपमा बढ्यो। लकडाउन हटेपछि यो दर केही स्थिर भए पनि, अनलाइन बजारमा उल्लेखनीय वृद्धि भएको छ।
चीन लगायतका देशमा कोभिडअघि नै तीव्र बनेको अनलाइन कारोबार उच्च बिन्दुमा पुग्यो भने पुरातनवादी मानिने युरोपमा पनि यसको अनुकरण बढ्यो। डिजिटल भुक्तानी तथा अनलाइन कारोबारले पछिल्लो समय तीव्रता पाएको छ। मान्छेहरूले कोभिडकालमा अभ्यस्त भएपछि विकसित विश्वमा त्यसलाई निरन्तरता दिएका छन्।
कोभिडकालमा विकसित विश्वमा असमानता निकै बढेको थियो। १ प्रतिशत धनाढ्यले आम्दानी बढाउँदा सबैको घटेको थियो। यो असमान धनार्जनले अहिलेसम्म पनि असमानतालाई झन फराकिलो बनाउँदै गएको छ।
कोभिड-१९ महामारीले विश्व अर्थतन्त्रलाई स्थायी रूपमा परिवर्तन गरिसकेको छ। उच्च ऋण, मुद्रास्फीति, र ब्याज दरहरूदेखि लिएर श्रम बजारमा आएका परिवर्तनहरू, डिजिटल कारोबारको वृद्धिसम्म महामारीका डोबहरू अझै बाँकी छन्।