बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति

शनिबार, फागुन २४ २०८१
नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति

अहिले फेला परेका प्रजाति संसारमै नयाँ भनेर यकिन गर्न विदेशमा सङ्ग्रहित नमुनाको अध्ययन तथा तुलना साथै तिनीहरुकै आनुवांशिक अध्ययन गरी यकिन गरिएको हो।

काठमाडौं- नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन्। वेन्ट-टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन-अन्नपूर्ण भू-परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो।

उक्त पहिचान तथा नामकरण गरी हालै अन्तर्राष्ट्रिय जर्नल ‘जुट्याक्सा’मा प्रकाशित गरिएको अनुसन्धानकर्ता एवं संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए। उनकै नेतृत्वको अनुसन्धान टोलीले छेपारोका उक्त नयाँ प्रजाति फेला पारेको हो।

उक्त अध्ययन टोलीमा नेपालबाट सन्तोष भट्टराईको नेतृत्वमा विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे र इशान अग्रवाल, जर्मनीका फ्रान्क तिल्लक तथा अस्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी थिए।

नयाँ फेला परेका प्रजातिमध्ये चितवनको उत्तरी क्षेत्र कविलास, शक्तिखोर, गैरीवारी, उपरदाङगढीलगायत तनहुँको बन्दीपुर र दमौलीदेखि भिमादसम्म फेला परेको प्रजातिको नामकरण ‘चितवन वेन्ट-टोड गेक्को’ भनेर नामकरण गरिएको छ।

दोस्रो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने ल्वाङ्ग, घान्द्रुक क्षेत्र तथा कास्कीको नौडाँडा क्षेत्रमा फेला परेको प्रजातिको नाम अन्नपूर्ण संरक्षण क्षेत्रले समुदायमा आधारित जैविक विविधता संरक्षणमा खेलेको भूमिकाको कदरस्वरूप तथा अन्नपूर्ण हिमशृङ्खलाका नाममा ‘एक्याप वेन्ट-टोड गेक्को’ भनेर नाम राखेको छ।

तेस्रो प्रजाति मनास्लु संरक्षण क्षेत्रमा भेटिएको थियो। सो प्रजातिको नाम नेपालकै वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर-सरीसृप) संरक्षणमा गरेको यागदानस्वरूप सो प्रजातिको नामाकरण ‘करण वेन्ट-टोड गेक्को’ भनेर राखिएको छ।

यसरी फेला पारिएका नयाँ प्रजाति यस अनुसन्धानका मुख्य शोधकर्ता सन्तोष भट्टराईको विद्यावारिधि अध्ययनका क्रममा सन् २०२३ को अप्रिलदेखि सेप्टेम्बरसम्म भेटिएका थिए। उक्त प्रजाति पक्का गरेपछि जर्नलमा प्रकाशित गरी हालैमात्र सार्वजनिक गरिएको हो।

वेन्ट-टोड गेक्को प्रजातिअन्तर्गत नेपालमा पहिले पनि तीन वटा प्रजाति फेला परेका र सो प्रजातिको नमुना विदेशका सङ्ग्रहालयमा राखिएकाले अहिले फेला परेका प्रजाति संसारमै नयाँ भनेर यकिन गर्न विदेशमा सङ्ग्रहित नमुनाको अध्ययन तथा तुलना साथै तिनीहरुकै अनुवांशिक अध्ययन गरी यकिन गरिएको हो।

यसरी अध्ययन गर्न नेपाल, भारत, अस्ट्रेलिया र जर्मनीका अनुसन्धानकर्ताको टोली सामेल भएको थियो। साथै सो अध्ययन टोलीले इलामबाट पहिले फेला परेको भनिएका दुई प्रजाति अनुवांशिक अध्ययन गर्दा ती प्रजाति नभइ एक प्रजाति भएको यकिन गरेको छ।

गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारो संसारभरि तीनसय ५० भन्दाबढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका तीन नयाँसहित जम्मा पाँच प्रजातिमात्र पाइएको छ। सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिको रेकर्ड हुन बाँकी नै रहेको संरक्षणकर्मी बताउँछन्। 

सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन, अनुसन्धान तथा संरक्षणमा प्राथमिकीकरण गर्नुपर्ने देखिएको अध्ययन टोलीको नेतृत्व गरेको भट्टराईले बताए। रासस


प्रकाशित : शनिबार, फागुन २४ २०८११५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend