म्याग्दी- उमेरले आठ दशकमा लागेका म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका लीलबहादुर पुनको दैनिकी बाख्रासँगै जंगल र गोठ गरेर बित्ने गरेको छ। ८० वर्षीय लीलबहादुरको बाल्य र युवा अवस्था पनि भेडाबाख्रासँगै घुम्ती गोठ लिएर लेक बेँसी गरेरै बितेको थियो।
'बुवा आमाले भनेअनुसार मेरो जन्म पनि गोठमै भएको थियो, जीवन पनि गोठमै बित्यो,' उनले भने, 'बाबु बाजेका पालादेखि गर्दै आएको भेडाबाख्रा पाल्ने पेसालाई मैलेसम्म धानेको छु।' गत कात्तिकमा ढोरपाटनको बुकीबाट मुनाको झारवाङमा गोठ झारेका लीलबहादुरले हिउँद त्यहीँ बिताए।
दुई सयभन्दा बढी घरपरिवारको बसोबास रहेको मुना गाउँमा अहिले लीलबहादुरले मात्रै घुम्ति गोठमा बाख्रा पालेका छन्। आठ दश वर्षअघिसम्म ४०/५० बाख्रा नहुने घर थिएन। चार/पाँच घर मिलेर एकजना गोठाला राखेर चरन क्षेत्रमा गोठ लैजाने चलन थियो।
पाँच वर्षअघिसम्म एक हजार भेडाबाख्रा पालेका लीलबहादुरले अहिले भेडा सबै बेचिसके। स्थानीय खरि जातका एकसय बाख्रालाई दुई वर्षअघि ६ लाख रूपैयाँमा बेचेका लीलबहादुर हाल भएका बाखा बेच्नका लागि पनि ग्राहक खोजे पनि पाएका छैनन्।
'गाउँका सबै बाख्रा गोठ मासिए, मैले पनि एक सय ५० मा झारेको छु,' लीलबहादुरले भने, 'छोरानातीले यो पेसा अँगालेनन्। विदेशतिर लागे। बाख्रा बेच्न ग्राहक खोजेको छु। पाएको छैन।' भेडाबाख्रा पालेर लीलबहादुरका दम्पत्तिले १० जना छोराछोरी हुर्काएको र घरव्यवहार चलाएको बताए।
उनले कान्छा छोरा रासबहादुर पुनलाई अष्ट्रेलिया पठाएका छन्। तीनजना घरमै छन्। घरमा भएकामध्ये साहिला छोरा पक्षघातका बिरामी छन्। ६ जना छोरीको बिहेबारी भइसकेको छ। जवान हुँदा गाउँगाउँमा आएर भारतीय र गोर्खा सैनिकमा भर्ती गराउने चलन रहे पनि भेडागोठमै रमाएका लीलबहादुरलाई लाहुरेले अरु कुनै सपना देखेनन्।
उनले वार्षिक १५/२० वटा खसीबोका र १०/१५ वटा माउ बाख्रा बेच्छन्। चारदेखि पाँच वर्ष पालेको बोका र खसीलाई ३० हजार रूपैयाँसम्ममा बिक्री गर्छन्। खसी मासु र बोका बली चढाउन बिक्री हुन्छ। माउ बाख्रा भने घरमा पाल्नेहरुले किन्छन्।
हिउँदमा बेसी झरेको समयमा घरपरिवार र आफन्तसँग भेटघाट भए पनि जेठदेखि असोजसम्म हिमाल फेदीका बुकीको घुम्ति गोठको बसाइँ कष्टप्रद हुने उनले सुनाए। हप्तौसम्म झरि पर्दा, भेडाबाख्रा हराउँदा, जंगली जनावरले दुःख दिँदा, घर परिवारसँग भेटघाट नहुँदा न्यास्रो लाग्ने गरेको उनको अनुभव छ। लेक जाँदा बर्खा यामलाई पुग्ने खाद्यान्न पनि लैजानुपर्छ।
रेडियोमा गित, समाचार सुनेर मनोरञ्जन लिने उनलाई पछिल्लो समय मोबाइल फोनको सुविधा भएपछि साँझ, बिहान घरपरिवार, आफन्तसँग हालखबर सोध्न र गफिन सजिलो भएको छ।
गोठाला बस्दा हिमालको फेदीमा सुन्दर दृष्य अवलोकन गर्न पाउँदा रमाइलो मान्ने उनले चितुवा र ब्वाँसोले भेडाबाख्रालाई आक्रमण गर्ने र मारेर क्षति पुर्याउने क्रम बढेको बताए। बाख्रालाई जंगली जनावरबाट बचाउन र आफ्नो सुरक्षाका लागि लीलबहादुरले भोटे कुकुर पनि पालेका छन्। रासस