बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

राजनीतिसँगै व्यावसायिक कृषिमा सक्रिय शुक्लागण्डकीका मेयर, बाँझो जमिनको सदुपयोग गर्न कागतीखेती

images
शनिबार, फागुन २४ २०८१
images
images
राजनीतिसँगै व्यावसायिक कृषिमा सक्रिय शुक्लागण्डकीका मेयर, बाँझो जमिनको सदुपयोग गर्न कागतीखेती

यहीँ उत्पादन बढाउन सकिएमा कागतीलगायतका तरकारी तथा अम्लिए फलको आयात घटाउनसमेत सहयोग पुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।

images
images

तनहुँ- समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल भएका छन् तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित। व्यवसाय र राजनीतिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि कर्ममा लागेका छन्।

images
images

उनले म्याग्दे गाउँपालिका-४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरिरहेका छन्। चाहना र समय व्यवस्थापन गर्न सके हरेक क्षेत्रबाट उत्पादन तथा आम्दानी लिन सकिने उनको बुझाइ छ।

images
images

उनी हरेक बिहान कागती गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने गर्छन्। स्वास्थ्यका लागि समेत बिहान सबेरै उठेर बिरुवाको गोडमेल गर्न उपयुक्त हुने उनी बताउँछन्। उनी भन्छन्, 'हाल एक हजारभन्दा बढी कागतीका बोटले फल दिन सुरु गरेको छ।'

images
images

घरायसी प्रयोगका लागि प्रशस्तै पुग्ने भए पनि आगामी वर्षबाट व्यावसायिक रुपमा उत्पादन हुने उनी बताउँछन्। 'आगामी वर्षबाट बजार पठाउने कागती उत्पादन हुनेछ', उनी भन्छन्, 'एक सिजनमा १५-२० हजार किलो कागती उत्पादन हुन्छ।' भूगोल र माटो सुहाउँदो खेती गरेकाले बाँदरलगायतका जंगली जनावरले समेत क्षति पुर्‍याउन नसक्ने र बाँझिएको जमिनको उपयोग हुने नगर प्रमुख पण्डित बताउँछन्।

पृथ्वी राजमार्गबाट छोटो दुरीमा रहेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा युवालाई कृषितर्फ प्रोत्साहन गर्न सकिने उनको बुझाइ छ। सामाजिक व्यक्तित्वले कागती खेती गरेपछि अन्यलाई समेत यसप्रतिको प्रेरणा मिलेको छ। सामान्यतया कोदो, मकै लगायतका खाद्यान्न लगाउँदा जंगली जनावरले क्षति पुर्‍याएको भनेर बाँझिदै गएको जमिनमा कागती खेती गरिएको हो। 

कोदो, मकै, भटमासलगायतका खेती गर्दा बाँदरलगायतका जंगली जनावरले क्षति पुर्‍याएपछि बाँझो बनेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा अन्यले समेत कागती खेतीतर्फ आकर्षित भएका स्थानीय हेमकुमार कायस्थ बताउँछन्। समाजको नेतृत्व गरिरहेका व्यक्तिले कृषिमा चासो दिएर संलग्न हुने गरेमा उपेक्षित बन्दै गएको कृषि पेसाप्रतिको दृष्टिकोण नै सम्मानित बन्ने उनी बताउँछन्। 

नेपाली कांग्रेसकै नेता बालकृष्ण पौडेल पण्डितको जस्तै अन्य जनप्रतिनिधिको देखिनेगरि कुनै पेसा व्यावसाय हुनुपर्ने धारणा राख्छन्। कृषि पेसा नै उपेक्षित र खेती गर्ने संस्कृति लोप हुँदै जान थालेको अवस्थामा नगर प्रमुखको कृषिप्रतिको लगाव उदाहरणीय भएको उनको भनाइ छ।

उनी भन्छन्, 'गाउँघरमा बाँझो रहेका छन्, उहाँको लगावले युवालाई प्रोत्साहन गर्ने गरेको छ, गाउँघरका बाँझिएका जमिनमा केही गर्न सकिन्छ है भन्ने आशा मेयरको प्रयासले जगाएको छ।' जनप्रतिनिधिहरु समाजका मार्गदर्शक हुन्। समाजलाई परिवर्तन गर्न सक्ने गरी हौसला दिन सक्ने हुनुपर्ने गुण उनीमा देखिएकोले सर्वसाधारणलाई उत्साहित गराउन सहयोग पुग्ने उनको भनाइ छ। 

बजार माग उच्च रहेको कागजी खेतीसँगै अब पुर्ख्यौली जमिनमा व्यावसायिक रुपमा मेवा खेती गर्ने नगर प्रमुख पण्डितको तयारी छ। उनी आम्दानीसँगै कृषिको विकास, स्थानीयलाई रोजगारीको अवसर र बाँझिएका जमिनको उपयोगमा सहयोग पुग्ने सोचका साथ कृषि क्षेत्रमा आबद्ध भएको बताउँछन्। भारतबाट ल्याउनुपर्ने कागती समेत यहीँ उत्पादन वृद्धि भएसँगै खपत हुनेछ।

अम्लिय फलफूलको व्यावसायिक खेतीले बाँदरलगायतका जंगली जनावरले क्षति पुर्‍याउन सक्ने छैन। कृषि ज्ञान केन्द्रले बाँदरको बढी आतंक रहेका स्थानमा अम्लिय फलफूल खेतीलाई प्रोत्साहन गर्दै आएको छ। अम्लिय पदार्थलाई बाँदर कम क्षति पुर्‍याउने गरेको पाइएको केन्द्रले जनाएको छ। 

यहीँ उत्पादन बढाउन सकिएमा कागतीलगायतका तरकारी तथा अम्लिए फलको आयात घटाउनसमेत सहयोग पुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। तरकारी तथा फलफूल आयातमा न्यनीकरण गर्नका लागि स्थानीय रुपमा नै जमिन बाँझो बनाउनुभन्दा उपयोगलाई नेतृत्वमा आबद्ध व्यक्तिको भूमिका महत्वपूर्ण हुनेछ। यहीँ उत्पादन गर्न सकिएमा खपत हुनेछ भने आयस्तर नै परिवर्तन हुनुका साथै आत्मनिर्भर हुनेछ। रासस


प्रकाशित : शनिबार, फागुन २४ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend