शनिबार, असोज ५ गते २०८१    
images
images

जनगणनाको प्रारम्भिक तथ्यांक तथ्यपरक नभएको भन्दै सांसदहरूको आपत्ति, पुन:गणना गर्न माग

images
मंगलबार, माघ १८ २०७८
images
images
जनगणनाको प्रारम्भिक तथ्यांक तथ्यपरक नभएको भन्दै सांसदहरूको आपत्ति, पुन:गणना गर्न माग

केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए।

images
images

काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्।

images
images
images

मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहेअनुसार जनगणना नभएको उल्लेख गर्दै पुन:गणना गर्नसमेत माग गरे।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रिय तथ्यांक विभागसँग माग गरे। उनले काठमाडौंमा सधैँ माइग्रेशन बढिरहने तर त्यसअनुपातमा जनसंख्या घट्ने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नजितामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए।

‘काठमाडौंमा जहिले पनि माइग्रेसन बढी हुन्छ। यो राजधानी हो। यो अस्थायी माइग्रेसन संघीयताले पनि रोकेको छैन। उता अरु जिल्ला बढने र काठमाडौं नबढ्ने किन भयो? यो चिजमा राम्रोसँग हेर्नुस्। कतै राम्रो भएन कि, या अस्थायी रुपले माइग्रेट भएर पेशा, व्यवसायमा आएका मान्छेहरू कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले काठमाडौंमा नभटेर हो कि? केही त जष्टिफिकेशन हुनुपर्‍यो नि। कोभिडका कारण विद्यार्थीहरू बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किएकी। नत्र भने यो तथ्य मिलेन। विगतमा त्यो बढेर आउथ्यो’ उनले भने। 

images

कांग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरे। उनले विदेशमा गएको नेपालीहरूको जनगणना गर्ने कार्य योजना के छ भनि केन्द्रिय तथ्यांक विभागलाई प्रश्न गरे।

सांसद राईले गणकहरूलाई घरघरमा पुर्‍याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाए। ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन। मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन। र, मलाई पनि त्यो अनुभव नभएकाले किन आएनन् त? पहिले जनगणना हुँदाखेरी घरघरमा गएर सबै परिवारसँग सोधेर या घरको गार्जेन्टसँग सोधेर छोरा कति, छोरी कति अथवा परिवार कति? सबै तथ्यांक लिइन्थ्यो', उनले भने, 'हाम्रो देशको जनसंख्या सही तरीकाले तथ्यांक सहित आउनु पर्‍यो । मलाई लाग्छ, फेरी पनि पुन:गणना गर्‍यो भने सही तथ्यांक आउँछ।’

यता केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए। उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरूको ध्यानाकर्षण गराए। महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नजिताको कामलाई विभागले इमान्दारिताका साथ समयमै सम्पन्न गराएको बताए। 


प्रकाशित : मंगलबार, माघ १८ २०७८१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend