मंगलबार, चैत २६ गते २०८१    
मंगलबार, चैत २६ २०८१
images
images

अर्गानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्दै सूर्योदय नगरपालिका

images
बिहीबार , फागुन २२ २०८१
images
images
अर्गानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्दै सूर्योदय नगरपालिका

नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अर्गानिक रहेको तथ्यांक छ। सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। तीमध्ये सूर्योदय टी एसोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन्।

images
images

इलाम- सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ। नगरका किसानले तरकारी लगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो। नगरपालिकाले अर्गानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्न किसानलाई प्रोत्साह समेत गरिराखेको छ।

images
images

'हामीले उत्पादन गरेको चियाले आफै रोगको सिकार हुनुपर्यो भने विश्व बजारमा बिक्री गर्न सकिँदैन', नगरप्रमुख रणबहादुर राईले भने, 'हामी विष खाँदैनौ, विष बेच्दैनौँ। विगत वर्षदेखि अर्गानिक उत्पादन गर्ने भनेर अभियान चलाइए पनि तथ्यांकहरुले विषादीको प्रयोग देखाएकाले अब कडाइका साथ विषादी नियमन गर्छौँ।'

images
images

नगरपालिकाले गत दुई आर्थिक वर्षमा विपन्न नागरिक सहायता कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाका लागि आर्थिक सहयोगमा लागि सिफारिस गरिएका बिरामीहरुमध्ये सबैभन्दा बढी क्यान्सर रोगी देखिएका छन्। आब २०७९/०८० मा सिफारिस गरिएका ५७ जना बिरामीमध्ये सबैभन्दा बढी ४० जना क्यान्सर पीडित थिए भने मिर्गाैलाका १० र मुटुका ७ बिरामी थिए। त्यसैगरी गत आबमा यो तथ्यांक वृद्धि भएर कुल सिफारिस संख्या ८२ पुग्यो।

images
images

सो तथ्यांकमा पनि क्यान्सरका सबैभन्दा बढी ५० बिरामी छन्। त्यसैगरी मिर्गाैलाका २०, मुटुका ३ र टाउकोमा चोट भएका ३ जनाको स्वास्थ्य सेवाका लागि सिफारिस गरिएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विपुल अधिकारीले जानकारी दिएका छन्।

चालु वर्षमा यो तथ्यांक अझ वृद्धि हुने अनुमान छ। यी त नगरपालिकामा स्वास्थ्य सेवा पाउन माग गर्दै पेश भएका निवेदनका आधारमा उपलब्ध तथ्यांक मात्र हो । यस बाहेक पालिकाको सम्पर्कमा नआएर उपचार गरिरहेका वा ज्यान गुमाएका क्यान्सर पीडित धेरै छन्। सबैमा क्यान्सर रोगको कारण चियाको विषादी मात्र नभएपनि अधिकांश कारण भने विषादी नै भएको  हुनसक्ने सूर्योदय-८ का वडाध्यक्ष जंग गुरुङले बताए।

'क्यान्सरकै कारण मैले गत वर्ष परिवारको एक सदस्य गुमाएँ । धेरै ठाउँ डाक्टरलाई देखाउँदा विषादीकै कारण रोग लागेको बताए', उनले भने, 'झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालदेखि राजधानीका थुप्रै अस्पतालका बरिष्ट डाक्टरहरुले विषादीलाई कारण देखाए।'

वडाध्यक्ष गुरुङले यसवर्ष आफ्नो वडालाई अर्गानिक वडा घोषणा गर्नेगरी काम थालिएको बताउनुभयो । 'मैले आफन्त गुमाएँ । आज घर-घरमा क्यान्सर रोगी फेला परिरहेका छन्। यो दुर्दशा सबैले भोग्नुभन्दा बेलैमा सचेत हुनुपर्छ। उनले भने, 'सूर्योदयका सबै वडामा भन्दा ८ नं वडामा बढी चिया खेती हुन्छ। सबैभन्दा बढी चिया उद्योग यहीँ छ। यहाँबाट अर्गानिक वडा घोषणा सुरु गर्दैछौँ।'

पहिलो चरणमा किसान, चिया उद्योगी, व्यापारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, टोल विकास, बालि बिमा कम्पनीका प्रतिनिधि लगायतसँग बसेर वडाले छलफल चलाएको बताउँदै वडाध्यक्ष गुरुङले अब टोलटोलमा पुगेर किसानसँग सचेतनामूलक कार्यक्रम गरिने साथै उनीहरुलाई अर्गानिक उत्पादन सम्बन्धी तालिम र अन्य कार्यक्रम सञ्चालन गरिने बताए।

'विषले मानव स्वास्थ्यलाई मात्र नभएर हाम्रो विश्व परिचयमा पनि असर गर्छ। चिया पिउन लायक बनाउनुपर्छ। उत्पादन अर्गानिक र गुणस्तरीय भएपछि किसानले राम्रो मूल्य पाउँछन्', नगरप्रमुख राईले भने, 'क्षणिक लाभ हेरेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा वेवास्था गर्नु हुँदैन।'

सूर्योदयमा उत्पादन हुने सबै चिया विषादीयुक्त छन् भन्ने होइन । कतिपय चिया बगान अर्गानिक पनि छन्। सूर्योदय-९ ढोडेका रामप्रसाद राईले चियाको प्रांगारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो  उत्पादन हुन्छ।

'प्रतिकेजी एकसय एक रूपैयाँका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले एक रूपैयाँ नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ', राईले भने, 'नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रूपैयाँ हो। तर हाम्रो चिया प्रांगारिक भएकाले एकसय रूपैयाँभन्दा बढी मूल्य पाएका छौँ।'

राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई-बाख्राको मल प्रयोग गरिरहेका छन्। 'चियामा लहलह मुना पलाउँछ, खाँदा स्वास्थ्यलाई हानि गर्दैन, बिक्री मूल्य पनि राम्रो पाइन्छ', किसान मनबहादुर राईले भने, 'गाईको मल एकपटक र गहुँतबाट बनाएको ‘रक्षिन’ वर्षमा दुईपटक लगाई दिनुपर्छ, अन्य गोडमेल र सिँचाइ पुग्यो भने विषादी हालेकोभन्दा राम्रो उत्पादन पनि हुन्छ।'

यो टोलका विनोद मोक्तान, विमल, सुशीला, रामप्रसाद, पूर्ण र तारा राईका परिवार बिहानसाँझ चियाको गोडमेल, मलजल, सिँचाइ र टिपाइमा व्यस्त हुन्छन्। बेलामा पानी नपरेकाले केही ढिलो भए पनि यस वर्षको टिपाइ चैत पहिलो साताबाट सुरु हुने मन बहादुरले बताए।

उनका अनुसार, हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो। क्यान्सरले नागरिकको ज्यान लैजाने र उत्पादन गुणस्तरीय नहुँदा विश्व बजारमा निर्यात नहुने भएपछि नगरपालिकाले प्रांगारिक चिया उत्पादनको अभियान चलाइरहेको हो। ६ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयमा चियाको टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या छ।

'पहिले भारतले यहाँको चिया किन्दा सीएफएल परीक्षण गथ्र्यो तर अब त्यसको अलावा फसाइ परीक्षण गर्दैछ', नगरप्रमुख राईले भने, 'यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन। यदि चिया प्रांगारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ। यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ।'

चियाको टिपाइ सुधार गर्न भन्दै नगरपालिकाले गतवर्ष तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गर्‍यो। 'टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ। करिब तीन सय ओटा चिया टिप्ने हाते मेसिन वितरण भएको छ। यो वितरण यस वर्ष पनि हुन्छ। चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एन्ड रिसर्चिङ सेन्टर’ सञ्चालनमा आईसकेको छ।'

नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्रांगारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ भन्ने रहेको छ। २०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुईसय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताए। उनले भने, ‘गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्रांगारिक उन्मुख अभियान चलाइरहेका छौँ।’

नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न नसक्दा आलेचना खेप्नु परिरहेको छ। अर्कातिर किसानलाई प्रांगारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन।

प्रमुख प्रशासकिय अधिकृत अमृतबहादुर राईले भने, ‘८० प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो एक रूपैयाँ अनुदान दिँदा पनि करोडौँ लगानी चाहिन्छ। स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन। प्रदेश र संघले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ।'

नेपाली चियाको अन्तरराष्ट्रिय ‘ब्रान्डिङ’ प्रवद्र्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन्। उद्योगी उदय चापागाईंले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कञ्जुस्याइँ गर्ने गरेको बताए।

‘चिया क्षेत्रको समस्यामा दिगो समाधान खोज्न किसानलाई सहुलियत दिनुपर्छ’, उनले भने, ‘किसानलाई मल, सिँचाइ र अनुदानमा सरकारले सहयोग गर्नसक्छ। अझ चियाको अन्तरराष्ट्रिय बजार दिगो बनाउन अर्गानिक उत्पादन मात्रै विकल्प हो।’ 

नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अर्गानिक रहेको तथ्यांक छ। सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। तीमध्ये सूर्योदय टी एसोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन्।

यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ। यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ। यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ।

नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ। देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो। यहाँ ६ हजार नौ सय ९५ बगान रहेका छन्। सूर्योदय नगरपालिका चियाको राजधानीका रूपमा पनि परिचित छ। देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुने गरेको बगान सञ्चालकहरूले बताएका छन्। रासस


प्रकाशित : बिहीबार , फागुन २२ २०८११३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend