शनिबार, असोज ५ गते २०८१    
images
images

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु, ५ हजार ४ सय घनमिटर लेदो थुप्रिएको अनुमान

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १८ २०७८
images
images
मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु, ५ हजार ४ सय घनमिटर लेदो थुप्रिएको अनुमान

बाढीपहिराले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’ पुरिएको हुनसक्ने र संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ।

images
images

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ। आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो।

images
images
images

वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौं उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। 

गत शुक्रबारदेखि कम्पनीले दुई चरणमा काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। केही दिनमा नै तीन सिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी तीन ठाउँमा काम गरिने उनले बताए। उनले भने, 'तीनतीनवटा डोजर राखेर काम भइरहेको जानकारी आएको छ।' 
 
संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने सूचना अधिकारी पन्तले बताए। त्यो खोल्नासाथ सुरुङको ‘डिवाटरिङ’ गर्न सकिन्छ। सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने उनले बताए। त्यसपछि हेडवर्क र डाइभर्सन टनेल सफा गर्न सकिन्छ। उनले भने, 'यी कामसँगसँगै गर्नुपर्ने भएकाले तीन ठाउँबाट काम गर्नुपर्छ।' 

अम्बाथान अडिटको लम्बाइ २९८ मिटर रहेको छ। मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी-बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ। अडिटभित्र झन्डै ५ हजार ४ सय घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान गरिएको छ। उनका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ। 

images

मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ। यसको मर्मत र सुधारका लागि धेरै समय नलाग्ने अनुमान छ। सुरुङको मुख खोल्नासाथ केही दिनमा नै सफा गरिहाल्न सकिने उनले बताए। मुख्य सुरुङलाई अडिट सुरुङले जोड्ने गर्छ। अहिले अडिट सुरुङ नै सुरुमा नै पूरै नभरिएको हुनसक्ने अनुमान गरिएको छ। सो सुरुङभित्र गएको छ/छैन भनेर मुख खोलेर हेरेर नै थाहा हुने उनले बताए।

बाढीपहिराले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’ पुरिएको हुनसक्ने र संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ। यहाँ झन्डै तीनचार लाख घनमिटर लेदो रहेको, त्यो हटाउनु नै सबैभन्दा महत्वपूर्ण काम भएको सूचना अधिकारी पन्तले बताए। अहिले त्यो पूरै हटाउनेभन्दा पनि पानीसम्म जानसक्ने बनाउन लागिएको छ।  

अहिले नदी बगिरहेकाले त्यसैलाई सहयोग हुने गरी दायाँबायाँबाट गिट्टी बालुवा झिकेर हटाइने सूचना अधिकारी पन्तले बताए। अहिले हेडवर्कमा रहेका सबै लेदो हटाउनेभन्दा पनि पानीसम्म बगाउने गरी सफा गरिनेछ। हेडवर्कको गेट नं ९, गेट नं १ र अम्बाथान अडिट नजिकै गरी तीन ठाउँमा अहिले काम गनुपर्नेछ। नौ नं गेट र एक नं गेटमा समस्या भए पनि अस्थायी रुपमा चलाउन सकिन्छ भन्ने छ। 

चैतसम्ममा पानी चलाउन सकिएमा जेठसम्म चल्यो भने सुरुङमा केही भएको छैन भन्ने बुझिने सूचना अधिकारी पन्तले बताए। ‘हेडवर्क’ मा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बन्नसक्छ।  
  
मुख्य सुरुङमा पहिले पानी भर्दा २६० लिटर प्रतिसेकेन्डका दरले भरिएको थियो र अहिले पनि त्यही प्रक्रिया अपनाइने आयोजनाले जनाएको छ।

अहिले पनि सुन्दरीजल, सिन्धु र ग्यालथुमबाट पानी निकालिरहेको छ। अम्बाथान र ग्यालथुम बीचको खण्डमा पानी भरिएको र त्यो खण्डमा अम्बाथान अडिट टालिएकाले निकाल्न नसकिएको सूचना अधिकारी पन्तले बताए। त्यो खण्डमा पानी रहेको छ भने अम्बाथान अडिट दुई हप्ताभित्र खोल्न सकेमा पानीबाहिर निकाल्न सकिन्छ। त्यसपछि सुरुङ निरीक्षण गरिने उनले बताए। माघभरमा सुरुङ खोल्न सकेमा फागुनमा निरीक्षण हुने उनले बताए। तीन खण्डमा निरीक्षण गर्दा एक हप्तामा सकिने गरी योजना बनाइएको छ। उनले भने, 'निरीक्षणका लागि तीन टोली खटाउन सकिन्छ।' 

फागुन पहिलो साता निरीक्षण सकियो र सुरुङभित्र कुनै समस्या छैन भन्ने भएमा फागुन अन्तिमसम्ममा पानी ल्याउन अरू काम गर्न सकिने सूचना अधिकारी पन्तले बताए। अब गर्नुपर्ने काममा ‘कफर ड्याम’ बनाउने, हेडवर्क गेट नं ९ खोल्नेलगायतका छन्। उनका अनुसार चैतको एकदुई साता काम गर्नुपरे पनि अन्तिमसम्ममा ल्याउन सकिन्छ। 

काठमाडौं उपत्यकावासीको धारामा चैतभित्रमा आउनसक्ने गरी योजना बनाइएको आयोजनाले बताउँदै आएको छ। अहिले गर्नुपर्ने तीन ठाउँमा सफा गर्न कति समय लाग्छ पानी पथान्तरण गर्ने कुरा त्यसमा निर्भर रहन्छ। उनका अनुसार ती संरचनामा कति क्षति पुगेको छ भनी खोलेर हेरेपछि मात्रै थाहा हुन्छ । उनले भने, 'कम्पनीले काम सुरु गरिसकेकाले अबको दुईतीन दिनमा भित्रको अवस्था के छ भनी थाहा हुन्छ।' 

अस्थायी किन?

अहिले तत्काल स्थायी रुपमा ल्याउनका लागि हेडवर्क पूरा नभएकाले अस्थायी बाँधबाट नै पानी पथान्तरण हुने आयोजनाले जनाएको छ । गत वर्ष वैशाख जेठमा पानी चलाउँदा पनि अस्थायी बाँधबाट नै पठाइएको थियो।

निर्माणाधीन ‘हेडवर्क’ को संरचना अहिले पूरै पुरिएको छ र यो क्षतिग्रस्त हुनसक्ने अनुमान छ। पानी पठाउने काम स्थायी वा अस्थायी रुपमा गर्ने भनी निर्णय गर्नका लागि अध्ययनको प्रतिवेदन आउनुपर्छ।

अध्ययनका क्रममा कम क्षति पाइएकामा र मर्मत मात्रै गरेर चलाउन सक्ने भएमा स्थायी रुपमा नै गर्न सकिने हुनसक्छ। तर संरचना सुरक्षित छैन र अर्काे बनाउनुपर्छ भने त्यसका लागि यही ठेक्का वा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउनुपर्ने हुनसक्ने सूचना अधिकारी पन्तले बताए। त्यसका लागि अर्काे एकदुई वर्ष पनि लाग्नसक्छ। अहिले अस्थायी रुपमा पुनःनिर्माण गरेर चलाउन सकिन्छ। 

गत वर्ष जस्तै समस्या दोहोरिन नदिन

गत आवमा जस्तै विपत्ति दोहोरिने सम्भावना भए पनि आयोजना स्थलभन्दा माथिल्लो भागमा संरक्षणको काम सुरु भएको छैन। गत असार १ गते माथिबाट बाढी आउनसक्ने अनुमान नभएकाले सुरक्षाको काम हुन नसकेको र अहिले अगाडिदेखि सुरक्षाका काम गर्न सकिने उनले बताए।

अहिलेदेखि नै त्यहाँको सुरक्षाका लागि काम गर्न सकिनेछ। अम्बाथान अडिट नपुरियोस् भनेर माथिबाट संरचना बनाउन सकिन्छ भने एक नं माथि अस्थायी संरचना बनाएमा त्यो पुरिन पाउँदैन। सरकारले वा दातृ निकायबाट त्यहाँको अध्ययन भए पनि अहिलेसम्म समाधानको काम हुन सकेको छैन। अध्ययन प्रतिवेदन आएपछि मेलम्ची वा सम्बन्धित निकायले नै सुरक्षाको काम गर्नसक्ने उनले बताए। रासस


प्रकाशित : मंगलबार, माघ १८ २०७८०८:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend