काठमाडौं- गभर्नर महाप्रसाद अधिकारी १० दिनका लागि 'फोर्स लिभ'मा बस्न लागेका छन्।
राष्ट्र बैंकका कर्मचारीहरूले एक वर्षमा अनिवार्यरुपमा १० दिन बिदा बस्नुपर्ने व्यवस्था रहेको छ। उक्त व्यवस्थाअनुसार गभर्नर अधिकारी चैत ५ गतेबाट १० दिनका लागि 'फोर्स लिभ'मा बस्न लागेको गभर्नरको कार्यालयका निर्देशक तथा सहप्रवक्त डा. डिल्लीराम पोखरेलले जानकारी दिएका छन्।
गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल आगामी चैत २५ गते सकिँदैछ। गभर्नरको कार्यकाल सकिनु एक महिना अगाडि नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा भएपनि हालसम्म सरकारले सिफारिस समिति बनाएको छैन।
सिफारिस समिति बनाएर गभर्नर नियुक्ति प्रकृया अगाडि नबढाएकाले गभर्नर अधिकारी पूर्ण बिदामा बस्ने मनस्थितिमा भने छैनन्। १० दिनको बिदा सकेर पुन: फर्किने र आफ्नो कार्यकालको अघिल्लो दिनसम्म कार्यलयमा जाने मनस्थितिमा गभर्नर अधिकारी रहेका छन्। चैत २३ गतेसम्म गभर्नर अधिकारी राष्ट्र बैंक जाने र पुनर्नियुक्ति नभएमा २४ गते राष्ट्र बैंकले बिदाइ गर्ने तयारी रहेको बताइएको छ।
कार्यकाल सकिनु एक महिना अगाडिबाट गभर्नर बिदा बस्नुपर्ने अनिवार्य नरहेको र गभर्नर अधिकारी बिदा सकेर पुन: फर्किने तयारी रहेको पोखरेलले बताए।
'गभर्नरज्यु चैत ५ गतेबाट १० दिनका लागि फोर्स लिभमा बस्न लाग्नुभएको हो। बिदा सकेर पुन: उहाँ राष्ट्र बैंक फर्किनु हुन्छ। गभर्नर आफ्नो कार्यकालको अन्तिम दिनसम्म कार्यालय आउने व्यवस्था रहेकाले बिदामा बस्नु नै पर्छ भन्ने छैन', पोखरेलले बताए।
गभर्नर अधिकारी बिदामा रहेको समयमा डेपुटी गभर्नर डा. निलम ढुंगानाले कायममुकायको जिम्मेवारी पाउने छिन्। सामान्यत: गभर्नरको अनुपस्थितिमा सिनियर डेपुटी गभर्नरलाई कायममुकाय दिने व्यवस्था रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै अधिकारीलाई ५ वर्ष अगाडि गभर्नर नियुक्ति गरेका थिए।