काठमाडौं- अमेरिकाले आफ्नो देशमा आयात हुने वस्तुमा पारस्परिक कर लगाएपछि त्यसको प्रतिकारमा विभिन्न मुलुकले सोहीअनुसारको जवाफी घोषणा गरेका छन्।
दोस्रोपटक राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले मुख्य व्यापारिक साझेदार मुलुकलाई पारस्परिक कर लगाएका थिए। क्यानडा, मेक्सिकोलाई २५ प्रतिशत र चीनलाई थप २० प्रतिशत कर लगाएका छन्।
अमेरिकाले महसुल बढाइदिएपछि यसको असर अमेरिकाभित्रै पनि धेरै पर्ने देखिएको छ। विशेषगरी जुन देशलाई महसुल बढाइएको छ ती देशले पनि त्यसको प्रतिकारमा कर घोषणा गरेका छन्।
मेक्सिको र क्यानडाले जवाफी कर घोषणा गरेका छन्। यो कारणले गर्दा अमेरिकी अटोमोबाइल तथा अन्य वस्तुको निर्यात पनि प्रभावित हुनेछ। यही त्रासले अमेरिकी सेयर बजार खस्किएको छ। बढेको करका कारणले गर्दा मूल्यवृद्धि आकाशिने र फेरि ठूलो मन्दीको जोखिम बढेकाले पनि सेयर बजार खस्किएको छ।
अमेरिकाले कर बढाएपछि क्यानडाका प्रधानमन्त्रीले सामाजिक सञ्जालमा अमेरिकी जनतालाई सम्बोधन गर्दै क्यानडा अमेरिकी जनताको विरुद्धमा नरहेको तर सरकारले कर बढाएपछि जवाफ दिन बाध्य भएको बताएका छन्।
त्यस्तै क्यानडाको ओन्टिरियो प्रान्तका प्रमुखले एलन मस्कको स्टारलिंकसँगको सम्झौता खारेज भएको घोषणा गरेका छन् अन्य अमेरिकी कम्पनीका करा पनि खारेज भएको उनले घोषणा गरेका छन्।
आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउने भन्दै महसुल बढाएका ट्रम्पको नीतिले अर्को असर चीनबाट आउने देखिएको छ। चीनले अमेरिकाको कर बढाउने नीतिविरुद्ध विश्वव्यापार संगठनमा उजुरी दिएको छ।
त्यसका साथै अमेरिका मुख्य तीनवटा कम्पनीबाट भटमास आयातमा प्रतिबन्ध लगाएको छ। यसको अर्थ अमेरिकी भटमास निर्यात प्रभावित हुने छ। अहिलेसम्मको अनुमान अनुसार यो निर्णयले १५ अर्ब डलरको निर्यात ठप्प हुनेछ।
त्यस्तै काष्ठजन्य तथा अन्य कृषिजन्य वस्तुको जैविक सुरक्षासँग जोडेर आयातमा प्रतिबन्ध लगाउने चीनले निर्णय गरेको छ। संसारकै सबैभन्दा ठूलो भटमासको बजार चीनले अमेरिकी आयातमा कडाइ गरेपछि ब्राजिल तथा अर्जेन्टिनाको भटमासले बजारा पाउने विश्वास गरिएको छ।