काठमाडौं- ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)ले पटक पटक नेपाल पर्यटन बोर्डबाट करोडौँ रकम बराबरको ‘पर्यटक सूचना-व्यवस्थापन प्रणाली’ (टिम्स कार्ड) उधारोमा लगेर वर्षौंसम्म फिर्ता नगरेको तथ्य खुलेको छ। टानले हालसम्म ६ करोड ७६ लाख ७० हजार रूपैयाँ बराबरको टिम्स कार्डको रकम टानले फिर्ता गरेको छैन।
सबैभन्दा बढी आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म उधारोमा लगिएको भए पनि रकम फिर्ता नै नगरिएको तथ्य खुलेको हो। नेपाल पर्यटन बोर्डका हालका उपाध्यक्ष चन्द्र रिजालले टानको अध्यक्ष हुँदा पनि २ करोड ३७ लाख रूपैयाँ बराबरको टिम्स कार्ड उधारोमा लगेर रकम फिर्ता नगरेको भन्दै बोर्डले पत्रसमेत काटेको छ। टानले आर्थिक वर्ष २०७५/७६ मा पनि २ करोड १७ लाख रूपैयाँ बराबरको टिम्स कार्ड उधारोमा लगेर फिर्ता नगरेको पाइएको हो।
बोर्डले अन्तिम पटक मंसिर ८ गते रकम फिर्ता गर्नका लागि टानलाई पत्र काटेको छ। रकम वर्षौंसम्म फिर्ता नभएपछि बोर्डले रकम फिर्ता गर्नका लागि पटक पटक पत्र काटे पनि रकम भने फिर्ता भएको छैन। तत्कालीन अध्यक्ष रिजालको कार्यकालमा खर्च भएको रकमको हिसाब किताब फर्छ्यौट नभएकोले पनि टानलाई पैसा फिर्ता गर्न समस्या भएको छ।
तत्कालीन अध्यक्ष रिजाल आफै अहिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीमाथि छानबिन गर्न बनेको समितिको संयोजकसमेत रहेका छन्। लेखा परिक्षणको क्रममा छानबिन गर्ने व्यक्तिकै सवा करोडभन्दा बढी रकम वर्षौंदेखि बेरुजु रहेको देखिएको छ। रिजाल टान अध्यक्षमा २०७२ असोज २८ मा निर्वाचित भएका थिए। टिम्सको पैसाको हिसाब किताब समयमा नगर्दा धेरै समस्या आएको देखिएको टानका अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन्। यसमा बोर्डको पनि केही कमजोरी रहेको पाइएको अध्यक्ष सुवेदी बताउँछन्।
‘टानसँग समयमै फर्छ्यौट गर्न नलगाउँदा पनि बेरुजु धेरै लामो समयदेखि रहेको छ’ अध्यक्ष सुवेदीले भने। निगरानी गर्ने निकाय बोर्डले ठीक ठाउँमा खर्च भएको नभएको हेर्नुपर्नेमा अध्यक्ष सुवेदीको जोड छ।
२०६६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, टान र नेपाल पर्यटन बोर्डबीच त्रिपक्षीय सम्झौता भएपछि पर्यटकबाट टिम्स कार्डमार्फत दस्तुर उठाउन सुरु गरिएको थियो। सम्झौताअनुसार उठाइएको दस्तुरको ३० प्रतिशत बोर्डले, ३० प्रतिशत नेपाल सरकार, ३० प्रतिशत टान र १० प्रतिशत मजदूर कोषमा रहनेगरी सम्झौता गरिएको थियो।
टिम्स कार्डमार्फत उठेको रकम एक तिहाइ रकम टानले पूर्वाधार विकासमा लगानी गर्ने र एक तिहाइ रकम भने पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन उद्योग महाशाखा, नेपाल पर्यटन बोर्ड र टानको संयुक्त खातामा रहने व्यवस्था रहेको छ।
पर्यटकहरूले ट्रेकिङ एजेन्सीमार्फत पदयात्रमा जाने पर्यटकको लागि प्रतिव्यक्ति १० डलर र आफूखुसी घुम्न जाने पर्यटकको लागि प्रतिव्यक्ति २० डलर टान र नेपाल पर्यटन बोर्डमार्फत उठाउँदै आएको छ। हालसम्म टिम्स कार्डमार्फत झन्डै २० करोड रूपैयाँ संकलन भइसकेको छ।
टानले अवैधानिक व्यवसायीहरूलाई निरुत्साहित गर्न भन्दै टिम्स कार्ड लागु गर्न मन्त्रालयसँग माग गरेको थियो। तर भनिएअनुसार काम भने भएको छैन। टिम्सको रकमलाई लिएर महालेखाले पनि प्रश्न उठाउँदै आएको छ। टिम्स कार्डमार्फत उठ्ने रकम राजश्व भएकोले कुनै पनि व्यावसायिक संस्थालाई उठाउन नदिन प्रतिवेदनमा उल्लेख गरिँदै आएको छ।
यो पनि- पर्यटन बोर्डका उपाध्यक्ष रिजालले टान अध्यक्ष हुँदा सरकारी राजस्वबाटै गरेका थिए मनपरी खर्च