काठमाडौं- उच्च माध्यमिक तहमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई अर्थशास्त्र र वाणिज्यको क्षेत्रमा रुचि जागृत गर्ने उद्देश्यले राष्ट्रिय ‘इकोनोमिक्स ओलम्पियाड’ गएको छ वर्षदेखि आयोजना हुँदै आएको छ। छैटौँ संस्करणको इकोनोमिक्स ओलम्पियाड हालैमात्र सम्पन्न भएको छ।
उच्च माध्यामिक तहमा अध्यनरत देशभरका विद्यार्थीलाई अर्थशास्त्रप्रतिको रुची र अन्तर्राष्ट्रिय स्तरको अवसरमात्र नभएर प्रतिस्पर्धामा पनि सहभागी गराउने माध्यमका रुपमा यो इकोनोमिक्स ओलम्पियाड परिस्कृत हुँदै आइरहेको छ।
अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडबाट आधिकारितासमेत पाएको यसको आयोजना भने नेपालमा योङ इकोनोमिस्ट सोसाइटी नेपाल गर्दै आएको छ। सन् २०१९ देखि नेपालमा यसको आयोजना हुँदै आएको छ।
छैटौं संस्करणको नेपाल इकोनोमिक्स ओलम्प्याड २०२५ फागुन १६ देखि १८ गतेसम्म काठमाडौं भएको थियो। यसमा देशभरका १८७ शैक्षिक संस्थाबाट १०० जनाले भाग लिएका थिए। यसमा कुल १० हजार विद्यार्थी सहभागी भएका छन्। संस्थास्तरमै यसको छनौट हुन्छ जुन कुल १० हजार सहभागी भएका हुन्। देशका सात प्रदेशमा क्षेत्रीय ओलम्पियाडमा २ हजार सहभागी भएका थिए। २ हजारबाट १ सय जना छानिएर राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा छानिएका थिए।
इकोनोमिक्स ओलम्पियाडमा विभिन्न विधा र विषयमा प्रतिस्पर्धा भएको थियो। समूह र व्यक्तिगत गरी कास्य, रजत र स्वर्ण पदक विद्यार्थीहरूले पाएका थिए। छैटौं संस्करणको इकोनोमिक्स ओलम्पियाडमा स्वर्ण पदक पाउने पाँच जनाले अजरबैजानको बाकुमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाडमा भाग लिन पाउनेछन्। बुढानीलकण्ठ स्कुलका इशान शेखर खड्का, रातो बंगलाका विज्ञान अधिकारी तथा त्रिनिटी इन्टरनेसनल कलेजबाट आवा सिंखडा रोशन सेढाई र समीप यादव गोल्ड मेडल जितेका छन्। यी पाँच जनाले बाकु जान पाउने भएका छन्।
सिल्भर मेडल जित्ने पाँच जना सेन्ट जेभियर कलेजका रघुविर श्रेष्ठ, हेटौंटा स्कुल अफ म्यानेजमेन्टका शिवम् मिश्र,सुदुरपश्चीमाञ्चल एकेडेमीबाट नीतिका अवस्थी, जेभियर इन्टरनेशनल कलेजका अक्षत कार्ला, र प्रिमियर इन्टरनेसनल कलेजका शुभम बजगाईं रहेका छन्। यी पाँच जनाले अस्ट्रेलियाको सिड्नीमा युनिभर्सिटी अफ न्यु साउथ वेल्स र अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिनेछन्।
काठमाडौँको किङ्स कलेजमा तीन दिनसम्म चलेको प्रतिस्पर्धामा विद्यार्थीहरूले तार्किक क्षमता, वित्तीय विश्लेषण तथा आर्थिक समस्याहरू समाधान गर्ने सीप प्रदर्शन गरेको नेपाल इकोनोमिक्स ओलम्पियाडका पार्टनरसिप निर्देशक दिपक भण्डारीले जानकारी दिए। यो ओलम्पियाड विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने थलो मात्र नभएर उनीहरूको वित्तीय साक्षरता, विश्लेषणात्मक क्षमता तथा नीति निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण प्लाटफर्म भएको उनको भनाइ छ।
नेपाल इकोनोमिक्स ओलम्पियाडलाई अझै सहभागीतामूलक बनाउन प्रयास भइरहेको र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा मेडल जित्नका लागि तयारी बढाउँदै जाने भण्डारीको भनाइ छ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डाक्टर विश्व पौडेलले मेडल तथा प्रमाणपत्र प्रदान गर्दै नेपाली विद्यार्थीका लागि यो माध्यम उल्लेखनीय भएको बताएका थिए।
अन्तर्राष्ट्रिय ओलम्पियाडमा स्वर्ण पदक जित्नका लागि तयारी बढाउनुपर्ने उनको भनाइ थियो। नेपाल इकोनोमिक्स ओलम्प्याडका बोर्ड अफट्रस्टीका अध्यक्षसमेत रहेका पौडेलले गैरसकारी पहलबाट भएको कार्यक्रम आफैमा सफल भएको उनको भनाइ छ।