काठमाडौं- नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरूको रकम लगानीसम्बन्धी नीतिमा परिवर्तन गरेको छ। विद्यमान ५ प्रतिशतको निष्कृय कर्जाको सीमा बढाएर ८ प्रतिशत पुर्याएको।
पछिल्लो समय बैंक वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दै गएपछि राष्ट्र बैंकले निष्कृय कर्जासम्बन्धी सर्त बढाएको हो।
यसअघि ५ प्रतिशत निष्कृय कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरूले मात्रै राष्ट्र बैंकका कर्मचारीको रकम लिनका लागि बोलकबोलमा सहभागी हुन पाउनेमा अब निष्कृय कर्जा ८ प्रतिशत र नेट एनपीएल ३ प्रतिशत भएका संस्थाहरूले पनि पाउने भएका छन्।
राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले आज आइतबार आह्वान गरेको लगानीसम्बन्धी सूचनामा उक्त व्यवस्था राखिएको छ।
करिब ४ अर्ब रुपैयाँ मुद्दती निक्षेप लिनका लागि राष्ट्र बैंकले आह्वान गरेको छ। जसमा वाणिज्य बैंकहरूले ३ अर्ब २० करोड, विकास बैंकहरूले ६० करोड र वित्त कम्पनीहरूले २० करोड निक्षेप लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरको छ।
