शुक्रबार, चैत २२ गते २०८१    
शुक्रबार, चैत २२ २०८१
images
images

रैथाने गाईको महत्व जगाउन ‘जनकधाम’

images
आइतबार, फागुन १८ २०८१
images
images
रैथाने गाईको महत्व जगाउन ‘जनकधाम’

यो परियोजनाबाट कमाउनेभन्दा पनि आफू प्रकृतितर्फ फर्किने र अरुलाई पनि त्यो सन्देश दिने उद्देश्य रहेको अभियन्ता कुशलेन्द्र झाको भनाइ छ।

images
images

काठमाडौं- हिन्दू संस्कारमा गाईको महत्व जन्मेदेखि मृत्युपर्यन्त छ। पञ्चगव्य अर्थात् दूध, दही, घ्यू, गहुँत (गौमुत्र) र गोबर विविध संस्कारमा प्रयोग हुने कुरा आम नेपालीका लागि नौलो विषय होइन। धर्मसंस्कार र आयुर्वेदमा मात्रै होइन, आधुनिक विज्ञानले पनि पञ्चगव्यको महत्व प्रमाणित गरिसकेको छ।

images
images

पश्चिमा देशहरूमा बिस्तारै गाईको महत्वबोध हुन थालेसँगै भएको गाईमा आधारित चिजवस्तुको प्रयोगका विषयमा थुप्रै प्रयास तथा अनुसन्धान भएका छन्। पञ्चगव्यका अन्य तत्वहरूको उपयोगबाट थुप्रै औषधीय लाभ लिएका छन्। गाईको महिमा र पहिचान भएकै क्षेत्रमा भने यसको महत्वबोध हुन सकेको छैन। गाईपालन केवल ‘डेरी’ र ‘गाई फार्म’ संस्कृतिको अंशमा सीमित छ, त्यो पनि विकासे ‘जर्सीवाला’। रैथाने ‘देशी गाई’ लोपोन्मुख अवस्थामा छन्।

images
images

अभियन्ता कुशलेन्द्र झा भने यहाँको रैथाने गाई संकटमा पर्दै गएकामा चिन्तित हुँदै यसको संरक्षण र महत्व प्रसारको अभियानमा जुटेका छन्। विगतमा प्राकृतिक जीवन पद्धतिको आधारका रूपमा रहेको गाईपालन संस्कृति हराउँदै जाँदा त्यसको मारमा सिङ्गो जगत् पर्दै गएको आत्मबोध गर्दै उनी यस अभियानमा लागेका छन्।

images
images

'रैथाने गाई नेपालको पहिचान र जीवनशैली नै हो। यससँग प्राकृतिक जीवनचक्र जोडिएको छ भन्ने कुरा बिर्सिँदा अचेल गाईपालन संस्कृति लोप हुँदैछ। जसकारण मानव स्वास्थ्य नै संकटोन्मुख छ', उनी भन्छन्।

गाई आर्थिक, सामाजिक, सांस्कृतिक र पारिस्थितिकीय प्रणालीसँग अभिन्न रूपमा जोडिएको छ। गाई आधारित उत्पादनहरू (गाईप्याथी), आयुर्वेद, पञ्चगव्य र प्राकृतिक चिकित्सासँग पनि जोडिएकाले शरीर, मस्तिष्क र आत्माको स्वास्थ्यमा यसको अतुलनीय योगदान रहेकामा सबैजसोको मत छ। व्यावसायिक उद्देश्य मात्रै राखेर पालन गरिएका ‘विकासे गाई’ले भने यो महत्व बोक्न सक्दैनन्।

'जेनेटिकल्ली मोडिफाइ गरेर जर्सी, होलिस्टिनजस्ता विकासे गाई त बनाइयो तर त्यसको कुनै पनि उत्पादन हाम्रो देशी गाईको जस्तो हुँदैन। पचास वर्ष पहिले न्युजिल्याण्डका वैज्ञानिकले त्यस्ता गाईको दूधमा मानव स्वास्थ्यका लागि लाभदायक छैन भनेर पत्ता लगाइसकेका छन्। त्यसैले धेरै दूध दिन्छ भनेर रमाउने कि स्वस्थ जीवनका लागि, यो हरेकले सोच्नुपर्ने बेला आइसकेको छ', झाले भने।

नेपालमा भने रैथाने गाईपालन प्रचलन निरन्तर हराउँदैछ। राष्ट्रिय कृषि गणना २०७८ अनुसार पछिल्लो १० वर्षमा गाई पाल्ने किसानको सङ्ख्यामा ठूलो गिरावट आएको छ। सो तथ्यांकअनुसार देशमा १७ लाख आठ हजार परिवारले गाई-गोरुपालन गरिरहेका छन्। २०६८ सालको तुलनामा पाँच लाख ७३ हजार परिवारले कम हो। त्यसताका २२ लाख ८१ हजार परिवार यसमा सङ्लग्न थिए। विवरणअनुसार विगत १० वर्षमा १८ लाख सात सय ७१ हजार गाईगोरु घटेका छन्। पछिल्लो गणनामा नेपालभर गाईगोरुको सङ्ख्या ४५ लाख ५९ हजार रहेको छ जबकि २०६८ सालमा यो सङ्ख्या ६४ लाख ३० हजार रहेको थियो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ ले देशभर ६ हजार चारसय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्य देखाएको थियो। त्यसमध्ये गाई फार्म एक हजार दुईसय ३३ थिए। उन्नत जातका गाईको सङ्ख्या ७५ प्रतिशतभन्दा बढी छ। यसले पनि नेपालमा करिब २५ प्रतिशतको हाराहारीमा मात्रै रैथाने देशी गाई रहेका देखाउँछ। 

पछिल्लो समय थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी वा जर्सी, होलिस्टिन गाई पाल्दा सजिलो मान्न थालिएको छ। नश्ल सुधारका नाममा विदेशी प्रजातिको नश्ललाई स्थानीय पशुमा वर्णशंकर गराउने अभियान निरन्तर चलिरहेको छ। यस्तो नीतिले स्थानीय नश्ल भने संकटग्रस्त अवस्थामा पुगेको अभियन्ता झा बताउँछन्।

कतिपय रैथाने जातका पशुपक्षी लोप भइसकेका र कतिपय लोपोन्मुख अवस्थामा रहेका नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय पशु प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्रको अध्ययनले नै देखाउँछ। केन्द्रका अनुसार हाल नेपालमा सात प्रजातिका पशुपक्षीका २५ वटा रैथाने नश्ल नेपालमा अस्तित्वमा छन्। संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ)मा तराई गाई, पहाडी गाई, खैला गाई, सिरी, लुलु, अछामी नौमुठे र याक गरी सातवटा नश्ल सूचीकृत गरिएका छन्। 

झाका अनुसार देशी गाई नेपाल र भारतको एक महत्त्वपूर्ण दूधको स्रोत हो। यी गाईहरूले उत्पादन गर्ने दूध स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ। गाईमा आधारित पञ्चगव्यको आ-आफ्नै वैज्ञानिक महत्व छ। मांसपेशी, छाला तथा रगतको विकासका लागि आवश्यक तत्व र त्यसबाट बनेका घ्यू, दही, मोही आदि स्वास्थ्यका लागि लाभकारी मानिन्छ। उनी भन्छन्, 'देशी गाईलाई स्रोत बनाएर अगाडि बढेमा प्राकृतिक जीवज बाँच्न सकिन्छ।'

एउटा सीएको गोठालो बन्ने सपना

कृषिप्रधान नेपालमा कृषिलाई नै हेय भावले हेरिन्छ। खेतीयोग्य जमिन बन्जर बन्दैछन् तर हरेक युवाका लागि विदेश अन्तिम सपना बन्दैछ। अभियन्ता झा भने आफ्नो सबै सम्भावना छोडेर चार वर्षदेखि गाईको गोठालो बन्ने सपना बुनिरहेका छन्।

पेसाले चार्टर्ड एकाउन्टेन्ट (सीए)। सुविधाका हिसाबले एक सम्पन्न जीवनशैली। नपुगेको केही छैन तर उनी प्राकृतिक जीवन नै हरेक मानिसको अन्तिम गन्तव्य हो भन्ने निष्कर्षसहित त्यसको अभ्यास आफैँबाट सुरुवात गरिरहेका छन्। 'हाम्रोमा जसले गाई चराउँछ त्यसलाई हेयदृष्टिले गोठालो भनिन्छ, हेला गरिन्छ', उनले भने, 'पछिल्लो समय अव्यवस्थित जीवनशैली, अप्राकृतिक भोजन, माटो नछुने संस्कृति हाबी हुँदा हरेक मान्छे सुख खोज्ने नाममा रोगको सिकार बन्दैछ।'

'हामीले सनातन मान्यता छोड्यौँ। खेतखलियान बर्सियौँ', झा भन्छन्, 'मलाई चाहिँ यो स्वबोध भएको छ, जसले यस बाटोमा लाग्न प्रेरित गरेको छ। स्वस्थ हुनका लागि माटो वा प्रकृतिसँगै रम्नुपर्छ। यो संस्कारको रूपमा विस्तार गर्ने योजना छ।'

यही स्वबोधले धनुषाको क्षीरेश्वरनाथ-८ दिगम्बरपुरमा ‘जनकधाम’ परियोजना सुरु भएको छ। बीस बिघामा फैलिएको यस धाममा हाल एकसय १० देशी गाईबाच्छा छन्। त्यहाँ २५ जनाले काम गरिरहेका छन्। गाईमा आधारित कृषि, हर्बल खेती, पञ्चगव्यको उपचार पद्धतिको विकास भइरहेको छ।

त्यहाँ उत्पादित दूध दही बेचिँदैन। गोबर, गौमूत्र र दूधलगायत पञ्चगव्य र हर्बलको प्रयोग गरेर औषधिजन्य वस्तु उत्पादन हुन्छ। परियोजनाअन्तर्गन हाल ५० वटा गाईबाट दूघ उत्पादन सुरु भइसकेका र आगामी तीन वर्षभित्र एक हजारसम्म पुर्‍याउने लक्ष्य रहेको सञ्चालक झाले सुनाए। उनका अनुसार यहाँ होमकेयर, प्रसनल केयर, फुड र मेडिसिन गरी चार किसिमका उत्पादन भइरहेका छन्।

'समाज र जीवनको जति पनि तप्का र आयाम छन्, त्योसँग गाईको सम्बन्ध कसरी जोडिएको छ भनेर प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी हामीले जनकधामको विकास गर्दैछौँ। धर्म, रोजगारी, युवा, औषधि, स्वास्थ्य, विद्यार्थी तालिम अभ्यासस्थल, शिक्षा, जैविक उत्पादन र प्रयोग एकै ठाउँमा देख्न सकिने बनाउँदैछौँ', व्यवसायी झाले सुनाए, 'एग्रो, मेडिकल, आध्यात्मिक पर्यटनको विकास हाम्रो लक्ष्य हो। संसारभरिबाट जनकपुर हेर्न आएका मानिसलाई एकपटक जनकधाम हेर्नैपर्ने अवस्था निर्माण गर्ने गरी अगाडि बढ्दैछौँ।'

पहिलो चरणमा गौ, गौमा आधारित पञ्चगव्य र कृषि, दोस्रो चरणमा आयुर्वेद, नेचुरोप्याथी, फिजियोथेरापी र पञ्चगव्य उपचारका लागि अस्पताल, तेस्रो चरणमा जनककालीन सभ्यता तथा मिथिला संस्कृति झल्किने अवस्था निर्माण गरी भावी पुस्ताले अध्ययन गर्ने स्थल बनाउने लक्ष्य रहेको उनले बताए। यो परियोजनाबाट कमाउनेभन्दा पनि आफू प्रकृतितर्फ फर्किने र अरुलाई पनि त्यो सन्देश दिने उद्देश्य रहेको झाको भनाइ छ।

प्राकृतिक जीवनशैली र उद्यमशीलता विकासका साथै रैथाने गाई संरक्षणमा यसले उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ। हाल गौशालामा एकसय १० वटा गाई छन्, दूध दिने १८ मात्रै। दूध त बोनसमात्रै हो।

दूध गाईको मुख्य उत्पादन होइन, मुख्य कुरा गौमूत्र र गोबर हो। यो देखाउन जनकधाम बनेको बताइएको छ। रैथाने गाई मार्ने, दूधका लागि भनेर जर्सी गाई ल्याउने, दूध दिन छाडेपछि सडकमा फाल्ने, यो प्रवृत्तिविरुद्धको अभियानका रूपमा पनि जनकधामलाई लिने गरिएको छ। रासस


प्रकाशित : आइतबार, फागुन १८ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend