बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

उपत्यकाको विद्युत् माग सम्बोधन गर्न आधा दर्जन सबस्टेसन निर्माण गरिँदै

images
आइतबार, फागुन १८ २०८१
images
images
उपत्यकाको विद्युत् माग सम्बोधन गर्न आधा दर्जन सबस्टेसन निर्माण गरिँदै
फाइल तस्बिर

यस्तै, फुटुङ र मूलपानी सबस्टेसन निर्माण अन्तिम चरणमा छ। दुवै सबस्टेसन आगामी दुई महिनाभित्र सञ्चालनमा आउने बताइएको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेसन निर्माण गरिरहेको छ। ती संरचना निर्माण सम्पन्न भएपछि उपत्यकाभित्रको बिजुली प्रवाह थप गुणस्तरीय र भरपर्दो बन्ने विश्वास गरिएको छ। 

images
images

प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभी क्षमताका ६ वटा सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा छ। प्राधिकरणका अनुसार काठमाडौंको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ। 

images
images

यस्तै, फुटुङ र मूलपानी सबस्टेसन निर्माण अन्तिम चरणमा छ। दुवै सबस्टेसन आगामी दुई महिनाभित्र सञ्चालनमा आउने बताइएको छ। भक्तपुरको चाँगुनारायण सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ। सबस्टेसनलाई सञ्चालनमा ल्याउन मात्र बाँकी छ। चोभार सबस्टेसन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेसन आगामी आठ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ।

images
images

ती सबस्टेसनको क्षमता ९०-९० एमभीए छ। सबस्टेसन निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा थप करिब पाँच सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ। हाल काठमाडौं उपत्यकाको विद्युत् माग पाँचसय मेगावाटको हाराहारीमा छ।

भविष्यमा वृद्धि हुनसक्ने विद्युतको सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ। सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युतको उच्चतम माग तीन हजार एकसय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको हो। 

सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण भइसकेको छ। कुल दुई सय २० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी दुई सय २० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायत पूर्वतयारीका काम सम्पन्न भइसकेका छन्। 

तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्तिका लागि ४००/२२०, २२०/१३२ र १३२/११ केभी क्षमताको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ।

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजना सञ्चानमा छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाभित्रको विद्युत् बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन भौतिक पूर्वाधार निर्माणलाई गति दिइएको जानकारी दिए।

काठमाडौंको दक्षिण-पूर्वी क्षेत्रको विद्युत् आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा १३२/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छ। चपली-भक्तपुर १३२ केभी प्रसारण लाइनलाई मूलपानी सबस्टेसनमा छिराएर विद्युत् आपूर्ति हुने छ। सो सबस्टेसनबाट जडीबुटी, पेप्सीकोला, काँडाघाँरी, गोठाटार, मूलपानी, जोरपाटी, साँखु, ठिमीलगायत क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभी क्षमताका आठवटा फिडर निकालिएको छ। सो सबस्टेसन आगामी चैतभित्र सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ।

चोभार सबस्टेसनबाट  चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुग्नेछ। लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी क्षमतामा स्तरोन्नति गरिँदैछ। त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धिमा लाइन जोडिने छ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडीबी), जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो। रासस


प्रकाशित : आइतबार, फागुन १८ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend