काठमाडौं- अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएर कार्यभार सम्हालेपछि विश्व अर्थतन्त्र नै अनिश्चित बन्दै गएको छ। विश्व व्यवस्थाकै केन्द्र मानिने अमेरिकामा यति धेरै नीतिहरू परिवर्तन भएका छन् जसले संसारभरको सेयर बजारदेखि मुद्राको विनिमय दरसम्म प्रभावित बनाएको छ।
मुद्रा बजारदेखि वस्तु बजारको कारोबार पछिल्लो समय अनिश्चित बन्दै गएको छ। पारस्परिक भन्सार महसुल लगाउने घोषणा अमेरिकाले गरेपछि त झन् संसारका धेरै बजार प्रभावित भएका छन्। अझ अमेरिकी बजारलाई मुख्य केन्द्र बनाएका ओद्योगिक संरचना भएका देश झन धेरै प्रभावित बनेका छन्।
भारत पनि यही चपेटामा पर्दै गएको छ। पछिल्लो समय भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा निरन्तर कमजोर हुँदै आएको छ। भारतीय केन्द्रीय बैंकले ब्याजदर कटौतीको घोषणा गरेपछि भारुको क्षयीकरण झन तीव्र बनेको छ।
भारतीय सेयर बजारको निरन्तर ओरालो यात्रामा छ। पछिल्लो दुई दशककै खराब रेकर्ड बजारले पछ्याउँदा विदेशी लगानीकर्ताले निरन्तर छाडिरहेका छन्। जति धेरै विदेशी लगानी निस्किन्छ उति नै भारुको विनिमय दर प्रभावित हुँदै जान्छ। यही कारणले भारु थप कमजोर भएको छ।
पछिल्लो एक महिनामा डलरको तुलनामा भारु ०.७९ प्रतिशतले कमजोर बनेको छ। एक डलर बराबर ८७.३५ भारुमा कारोबार भइरहेको छ। पछिल्लो एक वर्षमा भारु ५ प्रतिशतले कमजोर भएको छ। यही बीचमा भारतको केन्द्रीय बैंकले हस्तक्षेप गरेर क्षयीकरण न्यूनीकरणको प्रयास गरेपनि कमजोर हुन रोकिएको छैन।
पछिल्लो समय प्रमुख एसियन मुद्रामा डलरको तुलनामा भारु सबैभन्दा खराब लयबाट गुज्रिएको छ। यसको असर नेपालसम्म देखिन्छ।
भारतीय मुद्रा पनि दिन प्रतिदिन कमजोर हुँदै आएको छ। भारू कमजोर हुँदा यसको असर नेपाली रुपैयाँमा पनि सिधै पर्छ। विदेशी विनिमयका लागि नेपाली रुपैयाँ भारुसँग पेग छ। पछिल्ला दिनमा भारुको अवमूल्यन तीव्र छ। यही कारणले गर्दा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। भारतीय मुद्रा अमेरिकी डलरसँगको तुलनामा निरन्तर कमजोर हुँदै आएको छ। यो समस्या भारूको मात्र होइन संसारका धेरै मुद्राको तुलनामा डलर बलियो भइरहेको छ।
नेपाली रुपैयाँ कमजोर हुँदा नेपालमा मूल्यवृद्धि झनै बढ्छ। अधिकांश उपभोग्य वस्तुको आयात हुने भएकाले डलर महँगो हुँदा मूल्य बढ्ने, व्यापार घाटा विस्तार हुने हुन्छ। यसको अवसर चालुखाता घाटासम्म पुग्ने गरेको छ।
निर्यात नगन्य भएकाले डलरको भाउ बढ्दा रेमिट्यान्सबाहेक अरु कुनै पनि लाभ हुँदैन। डलरको भाउ बढ्दा यसको असर आयातमा देखिएको छ। आयातमा प्रतियुनिट मूल्यमा अत्याधिक वृद्धि भएको छ।
त्यस्तै यसको अर्को असर भनेको विदेश पढ्न जाने नेपाली, घुम्न तथा उपचारका लागि जानेहरूका लागि खर्च अझै बढ्छ। सरकारले ऋणको साँवा तथा ब्याज भुक्तानी गर्दा पनि भार थपिन्छ। यद्यपि ऋणको बोझ धेरै नभएकाले यसको असर धेरै छैन।
नेपालका लागि यसको लाभ एउटामात्र रेमिट्यान्समा हो। रेमिट्यान्स पाउने परिवारले बढी नेपाली रुपैयाँ पाउँछन्। डलरको भाउमा भएको वृद्धिअनुसार उनीहरूले यहाँ नेपाली रुपैयाँमा धेरै भुक्तानी पाउँछन्। योबाहेक लाभभन्दा हानी धेरै रहेको छ।