सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

‘स्टप लस हन्टिङ’बाट बाहिर निस्किएको हो सेयर बजार? पार होला ३१९९ को उचाइ?

शुक्रबार, फागुन १६ २०८१
‘स्टप लस हन्टिङ’बाट बाहिर निस्किएको हो सेयर बजार? पार होला ३१९९ को उचाइ?

बजार अहिले ‘स्टप लस हन्टिङ’ को अवस्थाबाट बाहिर निस्किरहेकाले अब पुन: उचाइतर्फ लाग्ने विश्लेषकहरूको तर्क छ।

काठमाडौं- गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएर ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। लगातार कारोबार रकमा कीर्तिमान बनाइरहेको बजारले ३१९९.०३ को सर्वाधिक उच्च बिन्दुलाई पार गर्ने अपेक्षा लगानीकर्तामा थियो। तर त्यसपछि उतारचढावबीच बजारले ओरालो यात्रा लियो। 

उचाइको यात्रामा ब्रेक लागेर भदौ ३१ गते त सेयर बजार २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो।

यस्तै मंसिरको अन्तिम कारोबारमा २७ गते २६८२.२९ बिन्दुमा रहेको बजार पुस २९ गते २५९४.१३ बिन्दुमा झर्‍यो। माघमा केही सुधार हुँदै अन्तिम कारोबारमा ३० गते २६८५.७३ बिन्दुमा पुगेको बजारमा फागुनमा पनि सुधारकै निरन्तरता देखिएको छ।

लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गर्न थाले। ‘स्टप लस’ लगानीकर्ताले आफ्नो नोक्सान सीमित गर्नका लागि उपयोग गर्ने विधि भए पनि यसलाई ठूला खेलाडीहरूले अवसरका रुपमा सिर्जना गर्दछन्। 

बजार अहिले त्यो ‘स्टप लस हन्टिङ’ को अवस्थाबाट बाहिर निस्किरहेकाले अब पुन: उचाइतर्फ लाग्ने केही विश्लेषकहरूको तर्क छ। त्यसैले बजारमा खेलोफड्को गर्ने हरेकको आफ्नै शैली हुने भए पनि अहिले पर्ख र हेरको सोचमा समेत धेरै लगानीकर्ता छन्। 

गएको साता सबै कारोबारमा उकालो लाग्दै समग्रमा ६४.४८ अंकले बढेको बजार यो साता पनि ७१.२९ अं‌कले बढ्यो। दुई साता लगातार उकालो लाग्दै १३५.७७ अंकले बढेको सेयर बजारले २८०० को बिन्दु पार गरेसँगै लगानीकर्ता उत्साहित देखिएका छन्। 

यो साता आइतबार ११.६६ अंक र सोमबार ३.३५ अंकले बढेको बजार मंगलबार पनि ७.१३ अंकले बढेको थियो। बुधबार बन्द रहेको बजार बिहीबार ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा पुग्यो। गएको साता आइतबार १९.५६ अंक, सोमबार २९.८७ अंक र मंगलबार ११.९१ अंकले बढेको बजार बुधबार बन्द रहेको थियो। साताको अन्तिम कारोबारमा बिहीबार पनि ३.१४ अंकले बढेको थियो। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९.०३ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समातिरहेको छ।

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गरेकाले अब नयाँ उचाइ समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्। अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। २८०० को आधार बिन्दु पार भएकाले बजारले उचाइको स्थायी लय समात्न सक्ने उनीहरू बताउँछन्। 


प्रकाशित : शुक्रबार, फागुन १६ २०८१०६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend