मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातारको वृद्धिपछि पार भयो २८०० को बिन्दु, सेयर बजारले अब भेट्ला नयाँ उचाइ?

बिहीबार , फागुन १५ २०८१
लगातारको वृद्धिपछि पार भयो २८०० को बिन्दु, सेयर बजारले अब भेट्ला नयाँ उचाइ?

काठमाडौं- गएको साता सबै कारोबारमा उकालो लाग्दै समग्रमा ६४.४८ अंकले बढेको बजार यो साता पनि ७१.२९ अं‌कले बढेको छ। दुई साता लगातार उकालो लाग्दै १३५.७७ अंकले बढेको सेयर बजारले २८०० को बिन्दु पार गरेसँगै लगानीकर्ता उत्साहित देखिएका छन्। 

आइतबार ११.६६ अंक र सोमबार ३.३५ अंकले बढेको बजार मंगलबार पनि ७.१३ अंकले बढेको थियो। बुधबार बन्द रहेको बजार बिहीबार पनि उकालोतिर नै लागेको हो। 

बिहीबार ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा पुगेको छ। ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको कारोबार भएको बजारमा १८६ कम्पनीको सेयर मूल्य बढेको छ। ५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

बिहीबार सबैभन्दा म्यानुफ्याक्चर क्षेत्र २११ अंकको सुधार देखिएको छ। यस्तै हाइड्रो ६७ र बैंकिङ क्षेत्र ४६ अंकको सुधार देखिएको छ। यस्तै लाइफ इन्स्योरेन्स ११२ र ननलाइफ इन्स्योरेन्स ९० अंकले बढेको छ।  

गएको साता आइतबार १९.५६ अंक, सोमबार २९.८७ अंक र मंगलबार ११.९१ अंकले बढेको बजार बुधबार बन्द रहेको थियो। साताको अन्तिम कारोबारमा बिहीबार पनि ३.१४ अंकले बढेको थियो। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समातिरहेको छ।

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गरेकाले अब नयाँ उचाइ समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्।  अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्।

बजारमा देखिएको ‘बुलिस ट्रेन्ड’ बीच केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने विश्लेषकहरूको तर्क छ। २८०० को आधार बिन्दु पार भएकाले बजारले उचाइको स्थायी लय समात्न सक्ने उनीहरू बताउँछन्। लामो समयदेखि देखिएको ‘स्टप लस हन्टिङ’ को अवस्था पूरा भइरहेकाले पनि बजारले अब उचाइ नै समात्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , फागुन १५ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend