शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

राजस्वका उपसचिव घिमिरे, अर्थमन्त्रीले किन निशानामा पारे?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
राजस्वका उपसचिव घिमिरे, अर्थमन्त्रीले किन निशानामा पारे?

राजस्व समूहभित्र दुई सयभन्दा धेरै उपसचिव छन्। हरेक वर्ष तीमध्ये आधाजतिको नियमित रूपमा सरुवा हुँदै आएको छ। 

काठमाडौं- राजस्व समूहभित्र दुई सयभन्दा धेरै उपसचिव छन्। हरेक वर्ष तीमध्ये आधाजतिको नियमित रूपमा सरुवा हुँदै आएको छ। 

मन्त्रालय, विभाग वा कार्यालयमा लगातार दुई वर्ष बसेपछि उनीहरूको सरुवा गर्ने चलन छ। कर्मचारीहरूले मिलेसम्म आकर्षक मानिने कर तथा भन्सार कार्यालय र त्यहाँ नमिले बढुवाका लागि राम्रो अंक पाइने दुर्गम रोज्ने गरेका छन्। 

यसपटक भने अर्थ मन्त्रालयमा अलि फरक दृश्य देखियो। मन्त्रालयभित्र शक्तिशाली उपसचिव मानिने चण्डिप्रसाद घिमिरेको अचानक सरुवा भयो। अरू उपसचिको सरुवा हुनुअघि नै राजस्व व्यवस्थापन महाशाखामा रहेका घिमिरेलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र पठाइयो। 

अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख दीर्घराज मैनालीसँगै घिमिरेलाई पनि तालिम केन्द्र पठाइएको छ। मैनालीको ठाउँमा सहसचिव रमेश केसीलाई जिम्मेवारी दिइएको छ भने घिमिरेको ठाउँमा उपसचिव शरद निरौलालाई लगिएको छ। 

घिमिरे नेकपा एमाले निकट मानिन्छन्। अर्थ मन्त्रालयभित्र कर्मचारी सरुवाको विषयमा लफडा हुँदा ‘चण्डिले मिलाउँछ चिन्ता नलिनुस्’ भनेर सचिवहरूलाई समेत आश्वस्त पार्ने हैसियत राख्थे उनी। 

घिमिरेलाई २०७१ सालमा तत्कालीन अर्थमन्त्री डा रामशरण महतले आन्तरिक राजस्व कार्यालय ललितपुर पठाएका थिए। कर कार्यालयमध्ये आकर्षक मानिने ललितपुरमा एमाले निकट कर्मचारीलाई पठाइएको भन्दै महतका भाइ डा प्रकाशशरण महत र कांग्रेसका अर्का नेता डा मिनेन्द्र रिजालले अर्थमन्त्रीमाथि प्रश्न उठाएका थिए। त्यतिबेला महतले भरतमोहनजी (एमाले नेता भरतमोहन अधिकारी)ले भनेर आफूले एकजना उपसचिवलाई ललितपुरमा पठाएको जवाफ दिएका थिए। 

घिमिरे आफूले चाहेको ठाउँमा कर्मचारीको सरुवा गराउन सक्ने हैसियत राख्थे। गत वर्ष आन्तरिक राजस्व विभागले जुम्लामा कार्यालय विस्तार गर्दा घिमिरे सुरुमा आफू जान चाहेका थिए। तर उमेर हदका कारण अहिले बढुवा भए पनि सचिव नबन्ने भएकाले जुम्ला जानुको अर्थ नभएको भन्दै उनी अर्थ मन्त्रालय नै बसे। 

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखमा उनी लगातार पाँच वर्षयता बसिरहेका थिए। त्यहाँ उनले आन्तरिक राजस्वतर्फको जिम्मेवारी लिएका थिए।


प्रकाशित : सोमबार, भदौ २८ २०७८०३:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend