गोरखा- बाटो खन्ने क्रममा ढुंगा खसेर यहाँको अजिरकोट गाउँपालिका-१, स्थित चिस्याङमा स्काभेटर चालकको मृत्यु भएको छ।
बुधबार दिउँसो बा प्र ०६-००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुंगा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका-६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगरको मृत्यु भएको हो।
कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुंगा खसेर स्काभेटर र चालकलाई लागेको थियो। चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो। रासस