मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

हायरपर्चेज कम्पनीका लागि पनि ग्राहक पहिचान खाता अनिवार्य, उच्च पदस्थहरूको वर्गीकरण गर्नुपर्ने

मंगलबार, फागुन १३ २०८१
हायरपर्चेज कम्पनीका लागि पनि ग्राहक पहिचान खाता अनिवार्य, उच्च पदस्थहरूको वर्गीकरण गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले हायरपर्चेज कम्पनीहरूलाई पनि ग्राहक पहिचान खाता अनिवार्य गरेको छ।

राष्ट्र बैंकले यसअघि हायरपर्चेज कम्पनीका लागि जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था प्रतिस्थापन गर्दै 'हायरपर्चेज कर्जा दिने कम्पनीका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था' जारी गरेको छ। 

उक्त व्यवस्थाअनुसार राष्ट्र बैंकले हायरपर्चेज कर्जा प्रवाह गर्दा पनि ग्राहक पहिचान खाता अनिवार्य गरेको छ। 

हायरपर्चेज कर्जा प्रवाह गर्दा विद्यमान ग्राहक तथा वास्तविक धनीको सम्बन्धमा विद्युतीय माध्यममा विवरण राखेर आवश्यक परेको जुनसुकै समयमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। 

यसका साथै ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाएर ग्राहक पहिचान तथा सोको पुष्टि हुने सुनिश्चिताका आधारमा व्यवसायिक सम्बन्ध स्थापित गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

यस्तै ग्राहकको नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरण पहुँचका आधारमा संस्थाले नियमावलीको नियम तीनबमोजित ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

यस्तै हायरपर्चेज व्यक्तिहरूले सूचीकृत व्यक्तिको पहिचान गर्नुपर्ने छ। गृह मन्त्रालयले उपलब्ध गराएका व्यक्ति, समूह वा संगठनको सूची वा सोसँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठनसँग कारोबार भए नभएको नियमितरुपमा यकिन गर्नुपर्ने व्यवस्था गरेको छ। 

यस्तै हायरपर्चेज कम्पनीले उच्च पदस्थ व्यक्तिको वर्गीकरण पदमा बहाल रहेको उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेको उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्चपदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्ति भनी गर्नुपर्ने व्यवस्था गरिएको छ।

हायरपर्चेज कम्पनीले प्रतिवेदन तयार गर्दा वित्तीय जानकारी इकाइले जारी गरेको एसटीआर तथा एसआर मार्गदर्शनहरूलाई आधार मान्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।


प्रकाशित : मंगलबार, फागुन १३ २०८११८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend