स्याङ्जा- यहाँको चापाकोट नगरपालिकाले ६ सय विपन्न परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरेको छ।
नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घरपरिवारका दरले छनोट गरी नगरपालिकाले नि:शुल्क स्वास्थ्य बीमा गरिदिएको हो।
आर्थिक अभावकै कारण आधारभूत स्वास्थ्य सुविधा पाउनबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले स्वास्थ्य बीमा गरिदिएको नगर प्रमुख देवबहादुर खाँडले बताए। उनले भने, 'नेपाल सरकारले लागु गरेको स्वास्थ्य बीमा अभियानमा आबद्ध बनाइ स्वास्थ्य सेवालाई अति विपन्न वर्गको पहुँचसम्म पुर्याउन नि:शुल्क स्वास्थ्य बीमा गरिदिएका हौँ।'
नगरपालिकाले चालु आर्थिक वर्षमा अति विपन्न समुदायको स्वास्थ्य बीमा गर्न २५ लाख ६० हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो। विनियोजित बजेटबाट पहिलो चरणमा ६ सय परिवारको बीमा गरिएको र दोस्रो चरणमा अपाङ्गता भएका र अन्य विपन्न गरी एकसय २५ जनाको बीमा गरिदिने नगरपालिकाले जनाएको छ।
चालु आर्थिक वर्षमा सातसय २५ जनाको स्वास्थ्य बीमा गर्न बजेट विनियोजन गरेकामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि थप बजेट व्यवस्थानको तयारी गरिरहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले स्वास्थ्य बीमा बनाइदिएका नागरिकलाई बीमा कार्ड वितरण गरेको छ। स्वास्थ्य बीमा कार्ड बनाइदिएसँगै पाँचजनाको परिवारलाई एक लाख रूपैयाँसम्मको स्वास्थ्य उपचार सेवा नि:शुल्क प्राप्त हुने भएको छ। रासस