काठमाडौं- ताप्लेजुङस्थित पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग गर्दै आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले फेरि वार्तामा आउन अपिल गरेको छ।
सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई पुन: वार्तामा बस्न भनेका हुन्।
भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाटै समस्याको शान्तिपूर्ण समाधान गर्ने उद्देश्यले केबलकार निर्माण स्थगित गरिएकाले आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन अपिल गरेको जनाएका छन्।
सरकारी पक्षले यसअघि दुईपटक संवादका लागि आन्दोलनरत पक्षलाई बोलाइसकेको छ। एकपटक वार्ता भए पनि सहमति जुट्न नसक्दा ताप्लेजुङमा झडप बढ्न थालेपछि स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको छ।
