काठमाडौं- राजस्व चुहावट गरेर कमाएको रकमको कारोबार नेपालका वित्तीय संस्थाहरूमा खाता खोली गरेको पाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भारतीय नागरिक अशोक कुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध अभियोगपत्र दायर गरेको छ।
'अशोक कुमार सिन्हा र निजकी छोरी निवेदिका सिन्हाले राजस्व चुहावटको कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको हुन सक्ने भन्ने व्यहोराको यस विभागमा दर्ता भएको उजुरीउपर सम्पत्ति शुद्धीकरणको कसुरमा जाँचबुझ तथा अनुसन्धान हुँदा प्रतिवादीहरूले राजस्व चुहावटको कसुर गरी सो कसुरबाट आर्जित रकमको कारोबार नेपालका वित्तीय संस्थाहरूमा खाता खोली गरेको देखिएको छ' विभागका महानिर्देशक सुमन दाहालले बताए।
साथै कसुरबाट प्राप्त रकम हो भन्ने जानीजानी मुद्दति निक्षेपमा जम्मा गरी सोबाट निरन्तर लाभ लिने कार्य गर्नुका साथै सम्पत्तिको स्रोत र स्वरुपमा परिवर्तन गरी गराइ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१)को देहाय खण्ड (क) (ख) (ग) ले निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य स्थापित हुन आएको विभागले जनाएको छ।
विभागले अशोक कुमार सिन्हालाई ३४ करोड २४ लाख ३१ हजार ४ सय ८० रुपैयाँ साथै निवेदिका सिन्हालाई १९ करोड ७३ लाख ९९ हजार ९ सय ६४ रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोबर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय हुनुपर्ने माग गरिएको छ।
साथै उनीहरूका नाममा रहेको बैंक मौज्दात, निवेदिका सिन्हाको नामको जग्गा एवं अपार्टमेन्ट खरिदका लागि दिएको पेश्की रकमसमेत ऐनको दफा ३४ को उपदफा (१) को खण्ड (क) बमोजिम जफत गरी पाउन मागदाबी लिइएको छ।
उनीहरूविरुद्ध उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलाश वीरगञ्जमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा २२ को उपदफा (२) बमोजिम सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ।
भारतीय नागरिक रहेका अशोक कुमार सिन्हा र निवेदिका सिन्हा २०७८ असारमा २३ किलो सुन तस्करी प्रकरणमा पनि मुछिएका थिए। सो प्रकरणमा पनि उनीहरूविरुद्ध मुद्दा परेको थियो।