मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार हरियालीतर्फ सेयर बजार, अब पार होला २८०० को आधार बिन्दु?

सोमबार, फागुन १२ २०८१
लगातार हरियालीतर्फ सेयर बजार, अब पार होला २८०० को आधार बिन्दु?

काठमाडौं- गएको साता सबै कारोबारमा उकालो लाग्दै समग्रमा ६४.४८ अंकले बढेको बजार यो साता पहिलो र दोस्रो कारोबारमा नै उकालोतिर नै लागेको छ। 

आइतबार ११.६६ अंकले बढेको बजार सोमबार उतारचढावबीच ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको छ। सोमबार एक समय बजार २७८४.४८ बिन्दुसम्म पुगेको थियो। कारोबार रकममा समेत व्यापक सुधार हुँदै ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। ८८ कम्पनीको सेयर मूल्य बढेको बजारमा १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य परिवर्तन भएको छैन।

गएको साता आइतबार १९.५६ अंक, सोमबार २९.८७ अंक र मंगलबार ११.९१ अंकले बढेको बजार बुधबार बन्द रहेको थियो। साताको अन्तिम कारोबारमा बिहीबार पनि ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको थियो। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समातिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ। 

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गर्न सके नयाँ उचाइ भेट्ने विश्लेषकहरू बताउँछन्। अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। २८०० को मनोवैज्ञानिक बिन्दु अहिलेका लागि लगानीकर्ताको आधारबिन्दु हो। आधारबिन्दु पार हुन सके बजारले थप सुधार समात्ने आशमा उनीहरू रहेका छन्। 

बजारमा देखिएको ‘बुलिस ट्रेन्ड’ बीच केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने विश्लेषकहरूको तर्क छ। २८०० को बिन्दु पार हुन सके अहिलेका लागि बजारले उचाइको स्थायि लय समात्न सक्ने उनीहरू बताउँछन्। लामो समयदेखि देखिउको ‘स्टप लस हन्टिङ’ को अवस्था पूरा भइरहेकाले पनि बजारले अब उचाइ नै समात्ने उनीहरू बताउँछन्। 

विश्लेषकहरूका अनुसार अहिलेको बुल मार्केट पनि कुनै सानो समयरेखामा समेटिन्छ भन्ने छैन। यसमा समयको एउटा चक्रभित्र उचाइतर्फ देखिएको मूल्यलाई विचार गर्नुपर्छ। बुल विस्तारित अवधिको हुन्छ। बुल मार्केट केही महिना या केही वर्षसम्मै पनि रहन सक्छ। बजारको प्रवृत्ति कहिले परिवर्तन हुन्छ भनेर यकीन भविष्यवाणी गर्न  नसके पनि यसमा गणितीय अनुमानहरू हेर्दा २८०० लाई आधार बिन्दु मानिएको उनीहरू बताउँछन्। 


प्रकाशित : सोमबार, फागुन १२ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend