काठमाडौं- हवाई सुरक्षाका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेका निर्णयमा साथ दिने निजी वायुसेवा सञ्चालकहरूले प्रतिबद्धता जनाएका छन्।
युरोपेली संघ (ईयू) ले नेपाली हवाई आकाशलाई सन् २०१३ देखि कालोसूचीमा राखेर पछिल्लो समय सुधार भइसक्दा पनि नहटाएकोमा आपत्ति जनाउँदै निजी वायुसेवा सञ्चालकहरूले प्राधिकरणले लिने निर्णयमा सहयोग गर्ने जनाएका छन्।
गत बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारीहरूको उपस्थितिमा युरोपियन सेफ्टी लिस्टका विषयमा गम्भीर छलफल गर्दै त्यसबाट हटाउन गहन भएर लाग्ने प्रतिबद्धतासमेत वायुसेवा कम्पनीहरूले गरेका छन्।
छलफलमा नेपालले हवाई सुरक्षामा धेरै सुधार गरेता पनि अहिलेसम्म युरोपेली संघले कालोसूचीबाट नहटाउनु दु:खद भएको ठहरसमेत गरिएको जनाइएको छ।
अथक प्रयासको बाबजुद पनि युरोपेली संघले कालोसूची जारी राखेको अवस्थामा नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले हालको विद्यमान नियमहरूमा समयसापेक्ष परिवर्तन गरेमा साथ र सहयोग गर्ने निजी वायुसेवा सञ्चालकहरूले जनाएका छन्।
नेपालको भूगोल सुहाउँदो आवश्यक वायुयानहरूको उचित पहिचान गरी वायुयान खरिद गर्न, मर्मत तथा वैकल्पिक बजारको हिस्सा विस्तार गरी नेपाली हवाई सेवा उद्योगहरूको दीर्घकालीन स्थिरता दिन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूले जनाएका छन्। उड्डयन क्षेत्रलाई जोगाउन नेपाल सरकार गम्भीर भइ उचित कदम चाल्नसमेत माग गरेका छन्।
नेपालले नागरिक उड्डयन सुरक्षा मापदण्ड लागुदरमा उल्लेख्य सुधार गर्दासमेत ईयूले नेपाललाई कालोसूचीबाट नहटाएको र एयरबसका उत्पादनको प्राविधिक सुरक्षा पर्फर्मेन्समा कैफियत देखिएको भन्दै प्रतिबन्ध लगाउने तयारी प्राधिकरणले गरेको छ। यसका लागि अब पनि कालोसूचीबाट ईयूले नहटाएमा वायुसेवा सञ्चालककै सहयोगमा प्रतिबन्ध लगाउने तयारी गरिएको हो।
नेपालमा एयरबसकै हेलिकोप्टर र जहाजको वर्चस्व रहेको छ। तर ईयूले कालोसूचीमा लगातार राख्दै आएको छ।
सन् २०१३ डिसेम्बर ५ देखि अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सिग्निफिकेन्ट सेफ्टी कन्सर्न (एसएससी) मा राखेपछि ईयूले पनि नेपाललाई कालोसूचीमा राखेको थियो। संस्थाले नेपाललाई यस्तो सूचीमा राखेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन क्षेत्रको समग्र सुरक्षा सुधारमा विभिन्न काम गर्दै आएको छ। आइकाओले सुरक्षा सूचीबाट हटाउँदासमेत ईयूले हटाएको छैन।
सुरक्षाका विभिन्न क्षेत्रमा लगातार काम गरेपछि सन् २०१७ मा पुनः आइकाओले अडिट गरेको थियो। सन् २०१३ मा सुरक्षा मापदण्ड लागु दर ५५ प्रतिशत थियो भने सन् २०१७ मा आइकाओले अडिट गर्दा यस्तो दर ६६ दशमलव ७६ प्रतिशत पुगेको थियो। आइकाओको अडिटमा सुरक्षा सुधार भएको प्रमाणित हुनु भनेको प्राधिकरण तथा नेपालले सुधार गरेरै भएको हो।
आइकाओले एसएससीबाट सन् २०१७ को जुलाई २० मा हटाएको थियो। आइकाओले हटाएपछि प्राधिकरण ईयूको कालोसूचीबाट पनि हट्ने अपेक्षा थियो। तर ईयूले त्यसो गरेन। सन् २०१७ पछि ८ वर्षसम्मै ईयूले नेपाललाई कालोसूचीमै राखेको छ।
प्राधिकरणका अनुसार अहिलेसम्म नेपालमा भएका ११० हवाई दुर्घटनामा ९६५ यात्रुको निधन भएको छ। यसमध्ये ४१ हेलिकोप्टर दुर्घटनामा करिब १ सय जनाको निधन भएको छ। नेपालमा भएका दुर्घटना र अहिले नेपालमा सञ्चालनमा रहेका जहाजहरू एटिआर-७२, विगतका विचक्राफ्ट र हेलिकोप्टरको पर्फर्मेन्स हेर्दा एयरबसका वायुयानको पर्फर्मेन्सले केही भूमिका खेलेको प्राधिकरणको दाबी छ।
पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना र अन्य स-साना दुर्घटना होस्य या त हेलिकोप्टर दुर्घटना तिनमा धेरथोर विमानको प्राविधिक पर्फर्मेन्सको पनि भूमिका रहेको प्राधिकरणको ठहर छ। अहिले नेपालमा भएका १२ हेलिकोप्टर कम्पनी र ९ एयरलाइन्सहरू विस्तारै एटीआर-७२ विमानतिर र एयरबसका हेलिकोप्टरतिर सिफ्ट भइरहेका छन्।