बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अवैध बाटोबाट आएको पोर्सा म्याकन : ‘ल्यान्डिङ कस्ट’ २ करोड ३३ लाख, बिक्री मूल्य ३ करोड ६५ लाख

आइतबार, फागुन ११ २०८१
अवैध बाटोबाट आएको पोर्सा म्याकन : ‘ल्यान्डिङ कस्ट’ २ करोड ३३ लाख, बिक्री मूल्य ३ करोड ६५ लाख

उक्त ईभीमा सरकारले बजेटमार्फत तय गरेर सबै कर भन्सार बिन्दुमा लगाउँदामा यसको मूल्य २ करोड ३२ लाख ८७ हजार १ सय २३ रुपैयाँ हुन आउँछ।

काठमाडौं- काइरोस इन्टरनेसनलले अवैध बाटोबाट आयात गरेको पोर्साको म्याकनमा १ करोड ३२ लाख रुपैयाँ मार्जिन राखेर बिक्री गरेको पाइएको छ। कम्पनीले जर्मन विलासी कार निर्माता कम्पनी पोर्साले उत्पादन गरेको विद्युतीय कार म्याकन दुई साताअघि नेपाल ल्याएको थियो। 

काइरोस इन्टरनेसनलले पोर्साको विद्युतीय कार हङकङमा दर्ता भएको कम्पनीबाट आयात गरेर ल्याएको हो। उत्पादक कम्पनी पोर्सासँग आधिकारिक बिक्रेता सम्झौना नगरी काइरोसले कीर्ते काम गर्न हङकङमा दर्ता भएको अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेसनल (एयूडीआई) नामक कम्पनीसँग आधिकारिक बिक्रेता सम्झौता गरेर ल्याएको हो। काइरोसले आधिकारिक बिक्रेता सम्झौता गरेको उक्त कम्पनी र पोर्साबीच कुनै साइनोसम्बन्ध छैन। 

यसअघि सोही कम्पनीसँग खरिद गरेर काइरोसले एउटा पोर्साको टाइकन विद्युतीय कार आयात गरेको थियो। त्यस्तै काइरोसले पछिल्लोपटक ल्याएको म्याकन विद्युतीय कार पनि सोही कम्पनीबाट किनेर ल्याएको र फेब्रुअरी ७ मा भन्सार जाँचपास भएको थियो। 

उक्त कारको सीआईएफ भ्यालु ६५ हजार ४ सय २० डलर रहेको छ। यो विद्युतीय कारमा लाग्ने भन्सार, अन्तःशुल्क, भ्याट र सडक मर्मत दस्तुरसमेत गरेर ल्यान्डिङ कस्ट २ करोड ३३ लाख रुपैयाँ रहेको छ।

काइरोसले उक्त कारको बिक्री मूल्य भने ३ करोड ६५ लाख रुपैयाँ तोकेको छ। यसरी हेर्दा कम्पनीले २ करोड ३३ लाख रुपैयाँको एउटा विद्युतीय कारमा १ करोड ३२ लाख रुपैयाँ नाफा राखेको देखिन्छ। 

यस्तो छ पोर्सा म्याकन फोर ईभीको सीआईएफ भ्यालु र ल्यान्डिङ कस्ट

सीआईएफ (खरिद मूल्य, बीमा र फ्रेट शुल्क) ६५ हजार ४ सय २० डलर रहेको छ। भन्सार जाँचपास हुँदाको दिन प्रतिडलर १ सय ३९ रुपैयाँ ०९ पैसा सटही दर थियो। यस हिसाबले भन्सार आइुग्दाको गाडीको मूल्य ९० लाख ८६ हजार ६ सय ५१ रुपैयाँ परेको छ।  

यो गाडी २ सय ३ सय किलोवाटसम्मको करको स्ल्याबमा गर्ने पर्ने भएकाले ६० प्रतिशत भन्सार लाग्छ। यो गाडीमा २ सय ८५ किलोवाट पिक पावरको मोटर जडान भएको छ। जसअनुसार ९० लाख ८६ हजार ६ सय ५१ रुपैयाँको ६० प्रतिशत भन्सार रकम ५४ लाख ५१ हजार  ९ सय ६९ रुपैयाँ हुन्छ। भन्सार शुल्कपछि गाडीको लागत मूल्य १ करोड ४५ लाख ३८ हजार २ सय २० रुपैयाँ हुन्छ।

भन्सार लागेपछिको मूल्यमा ३५ प्रतिशत अन्तःशुल्क लाग्छ। जसअनुसार १ करोड ४५ लाख ३८ हजार २ सय २० रुपैयाँमा ३५ प्रतिशत अन्तःशुल्क लगाउँदा ५० लाख ८८ हजार ५ सय १७ रुपैयाँ हुन्छ। यो रकमसमेत जोड्दा अन्तःशुल्कपछि गाडीको लागत मूल्य १ करोड ९६ लाख २६ हजार ७ सय ३७ रुपैयाँ हुन्छ।

१ करोड ९६ लाख २६ हजार ७ सय ३७ रुपैयाँमा अब १३ प्रतिशत भ्याट लाग्छ। गाडीको भ्याट रकम २५ लाख ५१ हजार ४ सय ७५ रुपैयाँ हुन्छ। भ्याटपछि गाडीको मूल्य २ करोड २१ लाख ७८ हजार २ सय १३ रुपैयाँ हुन्छ।

भ्याटपछि पोर्सा म्याकन फोर ईभीमा ५ प्रतिशत सडक मर्मत तथा सम्भार शुल्क लाग्छ। २ करोड २१ लाख ७८ हजार २ सय १३ रुपैयाँमा ५ प्रतिशत सडक मर्मत तथा सम्भार शुल्क लगाउँदा ११ लाख ८ हजार ९ सय ११ रुपैयाँ हुन्छ। अब उक्त ईभीमा सरकारले बजेटमार्फत तय गरेर सबै कर भन्सार बिन्दुमा लगाउँमा यसको मूल्य २ करोड ३२ लाख ८७ हजार १ सय २३ रुपैयाँ हुन आउँछ। 

यसरी भन्सारबाट गाडी पास भएर निस्कँदासम्मको गाडीको मूल्य २ करो ३२ लाख ८७ हजार १ सय २३ रुपैयाँ रहेको छ। तर कम्पनीले यो गाडी उपभोक्तालाई ३ करोड ६५ लाख रुपैयाँमा बिक्री मूल्य तय गरेर बिक्री गर्ने बताएको छ।

भन्सार बिन्दु आइपुग्दा २ करोड ३२ लाख ८७ हजार १ सय २३ रुपैयाँ परेको गाडीलाई वीरगञ्ज सुक्खा बन्दरगाहबाट काठमाडौं ल्याउने भाडा, बीमा रकम, एससीको ब्याज तथा शुल्क, शोरुम भाडा, कर्मचारी खर्चलगायत सबै लागत जोड्दा प्रतिगाडी ५ देखि ७ लाख रुपैयाँभन्दा बढी खर्च हुँदैन। 

तर काइरोस इन्टरनेसनलले जसरी गाडी आयातमा किर्ते काम गरेको छ, उपभोक्ताबाट पनि त्यस्तै किर्ते ढंगले चर्को नाफा असुल गरेको पाइएको हो। ३ करोडदेखि ३ करोड २५ लाख रुपैयाँभन्दा बढी बिक्री मूल्य पोर्सा म्याकन ईभीको हुन नमिल्नु पर्ने हो। 

porsche macan 4.PNG

पोर्सा म्याकन फोर ईभीको विशेषता 

म्याकन फोर ईभीको लम्बाई ४७ सय ८४ एमएम, चौडाई १९ सय ३८ एमएम, उचाई १६ सय २२ एमएम र ह्वीलवेस २८ सय ९३ एमएम रहेको छ। यो कारमा २ सय ८५ किलोवाटको मोटर पावर छ भने यसले ३ सय ८७ पीएस पावर जेनेरेट गर्छ। 

म्याकन ईभीको अधिकतम गति २ सय २० मिलोमिटर प्रतिघण्टा र शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ५.२ सेकेन्डमै तय गर्न सक्छ। यो कारले एक पटकको फुल चार्जमा ५ सय १६ देखि ६ सय १२ किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ। 

२ सय ७० किलोवाट डीसी फास्ट चार्जर सपोर्ट गर्ने यो कार डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज हुने जम्मा २१ मिनेटमात्र लाग्ने दाबी गरिएको छ। म्याकन फोर ईभीमा १ सय किलोवाट आवरको हाइ पर्फमेन्ट लिथियम आयन ब्याट्री प्याक उपलब्ध रहेको छ। 

१ सय ८४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको पोर्सा म्याकन फोरमा अफ रोडका लागि २ सय २५ एमएमसम्म बढाउन मिल्ने सुविभा दिइएको छ। 

पोर्सा म्याकनमा २ सय ८५ किलोवाट पिक पावरको मोटर जडान गरिएकाले यसमा २०८१ को आर्थिक ऐन अनुसार ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था रहेको छ। त्यस्तै सवारी आयातमा १३ प्रतिशत भ्याट र विद्युतीय सवारीमा मूल्यको ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था गरिएको छ।

टेस्ला, अउडी, ज्यागुअर, पोर्सालगायत विश्वकै विलासी ब्रान्डका विद्युतीय कार नेपाली बजारमा आरहेका छन्। यी चारवटै ब्रान्डका विद्युतीय कार उत्पादक वा उत्पादकले तोकेको कम्पनीबाट नभइ हङकङमा बनाइएको ‘फेक’ कम्पनीबाट आयात भइरहेको छ।

टेस्लाका कार अरेत इन्टरनेसनल प्रालिले आयात गरिरहेको छ भने काइरोस इन्टरनेसनल प्रालि अउडी, पोर्सा र ल्यान्ड रोभरको कार आयात गरेको हो। उल्लेखित चारवटै ब्रान्डका कार हङकङमा दर्ता भएको अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेसनल (एयूडीआई) र साउथ चाइना एक्जिम लिमिटेड नामक कम्पनीबाट खरिद गरेर ल्याइएको हो। 


प्रकाशित : आइतबार, फागुन ११ २०८११६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend