पाटन- राष्ट्रिय कृषक समूह महासंघ र मेट्रो मार्केटको व्यवस्थापनमा ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा आएको छ।
किसान अधिकारप्रति समर्पित प्रकृतिसम्मत कृषिको प्रवर्द्धन गरौँ कृषि कर्मलाई उद्यममा रुपान्तरण गरौँ भन्ने नाराका साथ कृषकद्वारा अर्गानिक कृषि उत्पादनलाई उपभोक्तासम्म पुर्याउने अभिप्रायका साथ आजदेखि किसान बजार सञ्चालनमा आएको हो।
किसान बजार शुभारम्भका अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो स्वच्छ तथा अर्गानिक तरकारी र खाद्यान्न बजारीकरण गरी किसानलाई उत्पादनको उचित प्रतिफल दिन उपयुक्त स्थान तयार भएको बताए।
'किसानको सम्मान नभएसम्म देशको समृद्धि हुन सक्दैन, तसर्थ यो अभियानले शुद्ध खाद्यवस्तुको प्रवर्द्धनका साथै किसानको सम्मानका लागि महत्त्वपूर्ण काम गर्नेछ, पर्यावरण र माटो जोगाउनका लागि अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न यो अभियान फलदायी छ, यसले उत्पादक र उपभोक्ताबीच समन्वय गराउँदै उत्पादनमा जोड दिन महत्त्वपूर्ण योगदान दिनेछ', उनले भने।
उनले आधुनिकता र वर्तमान शिक्षा प्रणालीले बिर्साउँदै गएको खेतीपातीको अभ्यास र संस्कारलाई निरन्तरता दिँदै कृषि पेसामा लाग्न प्रेरित गर्नेमा विश्वास व्यक्त गरे। उनले कृषि पेसालाई त्याग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र दुःख गरेर पनि लाभ पाउन नसकेको किसानलाई यो कामबाट अत्यन्तै प्रभावकारी वातावरण तयार गर्ने धारणा राखे।
राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालाले किसानको पेसालाई सम्मानित बनाउन र उत्पादनको पूर्ण मूल्य प्रदान गर्न आवश्यक रहेकोमा जोड दिए। उनले उत्पादनमा आधारित खाद्यसुरक्षा र खाद्य सम्प्रभूताका लागि सहभागितामूलक सुनिश्चितता प्रणालीमार्फत अर्गानिक उत्पादनलाई उपभोक्तासम्म पुर्याउन हरसम्भव प्रयास गर्ने बताए। मेट्रो मार्केट भन्नेबित्तिकै स्वच्छ उत्पादन भन्ने हुनुपर्छ भन्दै उनले यसबाट साँच्चिकै किसानको पहिचान गरी तहगत व्यवस्थापन गरी सामाजिक सुरक्षामा जोड्नसमेत सहयोग हुने बताए।
किसान बजारको निर्देशक इसानी श्रेष्ठले सहजै पाइने अर्गानिकयुक्त खाद्य सामग्रीको प्रवर्द्धनका साथै स्वस्थ्य तरकारीको बजारीकरण र उपभोक्तासम्म सहज रूपमा पुर्याउन यो अभियान प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे।
उनले किसान र उपभोक्ताबीचको दुरीलाई कम गर्दै उत्पादन गरी बजारीकरणमा सहज पहुँच अभिवृद्धिका लागि विषादी नभएको खानालाई प्रेरित गर्न लागिपर्ने जानकारी गराए। किसान बजारमा हरेक शनिबार मेला लाग्ने उनले जानकारी गराए। रासस