शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

दुना-टपरी उद्योगबाट राम्रो आम्दानी गर्दै छन् पाल्पाली महिला

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ९ २०८१
images
images
दुना-टपरी उद्योगबाट राम्रो आम्दानी गर्दै छन् पाल्पाली महिला

अधिकांश महिलाले दुना-टपरी उद्योगमा रोजगारी पाएका छन्। केही समय उद्योगमा काम गरेबापत उनीहरूले मासिक पाँच हजारदेखि १० हजार रुपैयाँसम्म कमाउँछन्।

images
images

पाल्पा- तानसेन नगरपालिका-७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमानकै भर पर्नुपर्थ्यो। घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन सहज थिएन। चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित उनको जीवन फेरिएको छ।

images
images
images

केसी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुना-टपरी बनाउन व्यस्त हुन्छिन्। अहिले उनलाई घर खर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ। 'पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरूकै भर पर्नुपथ्र्यो', उनले भनिन्, 'आजभोलि आफैँसँग पैसा हुन्छ। दिनभर घरमा बस्नुको साटो दुना-टपरी बनाउन थालेँ। त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ।'
 
सोही ठाउँकी मीनु रोकालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो। उनी घरमा काम केही नभएपछि समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्ने गर्थिन्। हिजोआज उनको दैनिकी पनि फेरिएको छ। अहिले हरेक दिन काजीपौवामा रहेको दुना-टपरी उद्योगमा बिताउँछिन्। अचेल उनलाई उद्योगमा महिलासँग गफिँदै टपरी खुट्दाखुट्दै समय बितेको पत्तै हुँदैन।

images
images

'बिहान-बेलुका घरको काम गरेर दिउँसो दुनाटपरी बनाउन उद्योगमा आउँछु, अहिले समय गएको पत्तो हुँदैन', रोकाले भनिन्। दुना-टपरी फुट्न थालेदेखि काम मात्र होइन, दाम पनि राम्रै कमाएको उनले बताइन्।

images
images
images

केसी र रोकाहासँगै धनकाला सारू पनि उद्योगमा आउँछिन्। महिना दिनसम्म काम गरेपछि तलब बुझछिन् यसभन्दा अघि उनको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो। अहिले व्यस्तता बढेर उनलाई भ्याइनभ्याई छ।

सारूको व्यस्ततासँगै आम्दानी पनि बढेको छ। टपरी उद्योगसँग जोडिन थालेपछि उनको दैनिकीमात्र होइन, जीवनशैली नै फेरिएको छ। उद्योगमा काम पाएपछि आफूलाई घरखर्च चलाउन सजिलो भएको सारूको भनाइ छ। उनले भनिन्, ‘आँगनमै उद्योग छ, कामका लागि टाढा जानु पर्दैन। घरको काम गर्दै उद्योगमा काम गर्न पाएका छौँ, यसले हाम्रो घरखर्च पनि चलेको छ।' पहिला आफूहरू कामको खोजीमा भौँतारिएको स्मरण गर्दै उनले हिजोआज सहज भएको बताइन्।

केसी, रोकाहा र सारूमात्र होइन, यहाँका अधिकांश महिलाले दुना-टपरी उद्योगमा रोजगारी पाएका छन्। केही समय उद्योगमा काम गरेबापत उनीहरूले मासिक पाँच हजारदेखि १० हजार रुपैयाँसम्म कमाउँछन्। 

पाँच वर्षअघि काजीपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुना-टपरी उद्योगमा महिला मात्र भेटिन्छन्। उद्योगमा केही महिला टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन्। उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ। उद्योग सञ्चालनमा आएको छोटो समयमै दुना-टपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याई छ। 

महिला दिदीबहिनीहरूलाई आयआर्जनसँग जोड्न र हराउँदै जान थालेको दुना-टपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताइन्। उनले चुलोचौकामा मात्र सीमित महिला अहिले आत्मनिर्भर बन्दै गएको उल्लेख गरिन्। उद्योग सञ्चालनमा आएपछि वनमा खेर गइरहेको सालको पातको सदुपयोग भएको उनको भनाइ छ। 

तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ (रेडा) र युएनडिपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसिन पाएको अध्यक्ष श्रेष्ठले बताइन्। उनले डिभिजन वन कार्यालयको सहयोगमा रू एक लाख बराबरको उद्योगका लागि आवश्यक सामग्री पनि अनुदानमा पाएको उल्लेख गरिन्।

विसं २०७७ मङ्सिर १५ गते ४० जना मिलेर समूहमा उद्योग खोलिएको थियो। अहिले यहाँ पाँच जना महिलामात्र सक्रिय रूपमा लागिरहेका छन्। दुना-टपरी बनाउने चलन हराउँदै जाँदा संस्कृति पनि मेटिन लागेकाले आफूहरू जगेर्ना गर्न लागिपरेको हरिकला रानाको भनाइ छ। कतिपय नयाँ पुस्तामा दुना-टपरी बनाउने चलन थाहा नभएको अर्की महिला मन रानाले बताइन्।
 
यहाँ तयार गरिएका दुना-टपरी पाल्पासहित देशका ठूला सहर बुटवल, भैरहवा, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ। दुना-टपरी उद्योगमा फोन गरेर पनि बाहिरबाट झिकाउने गर्दछन्। साइजअनुसार दुईदेखि १० रुपैयाँसम्म  दुना-टपरी बिक्री हुँदै आएको छ।

दुनाटपरी आम्दानीको राम्रो स्रोत मात्र होइन, धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिन्छ। टपरीको प्रयोग प्रायः विवाह, व्रतबन्ध, न्वारन आदि शुभ तथा अशुभ कार्यमा देवतालाई भोग लगाउने र खाना खाने काममा प्रयोग गरिन्छ। विवाह, व्रतबन्ध, पुराणलगायत ठूला कार्जे गर्दा धेरै महिला जम्मा भएर दुना टपरी गाँस्ने चलन छ। रासस


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend