काठमाडौं- चीनबाट नयाँ-नयाँ विद्युतीय कार ब्रान्ड आउने क्रम चलिरहँदा अर्को कार निर्माता ब्रान्डको मिनी विद्युतीय कार नेपाल भित्रिएको छ।
धनगढीको कैलालीमा रहेको ठाकुर मोटर्सले चीनको जिनपिङ ब्रान्डको मिनी विद्युतीय कार ल्याएको हो। जिनपिङ मुख्यगरी तीनपांग्रे विद्युतीय रिक्सा उत्पादक कम्पनी हो।
जिनपिङ ब्रान्डको विद्युतीय कार ४ सिट क्षमताको हो। ठाकुर मोटरर्सले ल्याएको जिनपिङ ब्रान्डको लिङबक्स ईसी ०१ मोडल हो। यो विद्युतीय कारमा ३५ किलोवाट पिकपावरको मोटर रहेको छ। पहिलोपटक नेपाल भित्रिएको यो कार अहिले चारवटा आएको छ। कम्पनीले प्रतिकार ११ हजार १ सय १२.६४ अमेरिकी डलरमा आयात गरेको छ।
जिनपिङ ब्रान्ड जियाङसु जिनपिङ ग्रुप कम्पनीअन्तर्गतको हो। यो ग्रुप विश्वको ठूलोमध्येको एक विद्युतीय तीनपांग्रे सवारी उत्पादन कम्पनी भएको दाबी कम्पनीले गरेको छ। २००४ मा स्थापना भएको यो कम्पनीको हाल वार्षिक ३० लाख विद्युतीय तीनपांग्रे सवारी उत्पादन गर्ने क्षमताको प्लान्ट रहेको छ। चीनभित्र कम्पनीको १४ वटा उत्पादन फ्यासिलिटी रहेको छ।
कम्पनीले चारपांग्रे विद्युतीय कार भने केही वर्षयतामात्र उत्पादन थालेको हो। कम्पनीले हाइ स्पीड रर लो स्पीड कार उत्पादन गरिरहेको जनाएको छ।
लिङबक्स ईसी ०१
मिनी सेगमेन्टको यो विद्युतीय कारको लम्बाइ ३५ सय ८४ एमएम, चौडाइ १४ सय ७५ एमएम र उचाई १६ सय १५ एमएम रहेको छ। त्यस्तै यो कारको ह्वील वेस २४ सय ५५ एमएम छ।
रेयरमा ड्रम ब्रेक रहेको लिङबक्स ईसी ०१ को ग्राउन्ड क्लियरेन्स २ सय २० एमएम छ। ३५ किलोवाट पिक पावरको मोटर भएको यो कारको अधिकतम टर्क १ सय २५ एनएम रहेको छ।
१९.२ किलोवाट आवर ब्याट्री प्याक रहेको लिङबक्स ईसी ०१ ले एकपटकको फुल चार्जमा २ सय २० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ। कारको मूल्य, कहिले सार्वजनिक हुनेभन्ने यकिन भने भइसकेको छैन। फेब्रअरी दोस्रो साता नेपाल भित्रिएको लिङबक्स ईसी०१ को परीक्षण लगाय नै बाँकी रहेको छ।
धनगढीको महिन्द्राको डिलरसमेत रहेको यो कम्पनीले चीनबाट नयाँ विद्युतीय कार ल्याएको हो। विद्युतीय कारको ब्रान्ड र मोडल उल्लेख्य रुमा थपिँदै गइरहेको छ। विद्युतीय सवारी आयातका लागि सरकारले हालसम्म कुनै मापदण्ड बनाउन नसकेका कारण जस्तो सुकै गुणस्तरका सवारी आयात भइरहेका छन्।
धेरै विद्युतीय सवारी बिक्री गर्ने ब्रान्डले नै सर्भिस राम्रासँग दिन नसकेको, स्पेयर पार्टसमा चर्को मूल्य असुल गर्दै आएका छन्। यसरी केही संख्यामा विद्युतीय कार त्यो पनि नन् ब्रान्डेड कम्पनीहरुबाट ल्याउँदा उपभोक्ताले सर्भिस र स्पेयर पार्टस सहजै पाउन कठिन हुनेछ।