काठमाडौं- एसियाली विकास बैंक (एडीबी) ले वार्षिक वित्तीय परिचालनमा व्यापक विस्तार गर्ने महात्वाकांक्षी योजना स्वीकृत गरेको छ। बैंकले हालैमात्र स्वीकृत गरेको पुँजी परिचालन योजनाअनुसार आगामी दशकमा ५० प्रतिशतले क्षमता विस्तार गर्ने भएको छ।
सन् २०२४ को तुलनामा सन् २०३४ सम्म ५० प्रतिशतले वार्षिक लगानी विस्तार गर्ने एडीबीको स्वीकृत योजनामा उल्लेख गरिएको छ। विकासशील सदस्य मुलुकको विकासको गतिलाई तीव्रता दिने भन्दै पुँजी आधारलाई बलियो बनाउँदै लगानी बढाउने योजना बनाएको हो।
एडीबीले सन् २०२४ मा बर्सेनि २४ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेको यसलाई सन् २०३४ सम्म बर्सेनि ३६ अर्ब डलर पुर्याउने लक्ष्य लिएको छ। विकासशील सदस्य राष्ट्रहरूमा पछिल्लो समय सिर्जना भएका चुनौतीलाई सम्बोधन गर्न पनि थप वित्तीय लगानीको आवश्यकता बढ्दै गएकाले पनि लगानी बढाउने योजना बनाएको बैंकले उल्लेख गरेको छ।
जलवायु परिवर्तनदेखि सामाजिक क्षेत्रमा हुन नसकेका थुप्रै विकासका आवश्यकतालाई सम्बोधन गर्न पनि यो विस्तारित लगानी उपयोगी हुने एडीबीका अध्यक्ष मासात्सुगुले बताएका छन्। सदस्य मुलुकका जनताको जीवनस्तर सुधार गर्न र पृथ्वीको भविष्यलाई बलियो बनाउनका लागि पनि यो लगानी सहयोगी हुने उनको विश्वास छ।
यसअघिका पुँजी व्यवस्थापनलगायतका सुधारमा आधारित रणनीतिले तय गरेका लक्ष्य र निर्धारित क्षेत्रमा रहेर लगानी हुने बैंकले जानकारी दिएको छ। एडीबी कोषमा आधारिता सहुलियत ऋणलाई प्राथमिकता दिने र गरिब मुलुक लाभान्वित हुने बैंकले उल्लेख गरेको छ।
एडीबी नेपालको प्रमुख दातृ निकाय हो। नेपालको भौतिक तथा सामाजिक क्षेत्रमा आवश्यक लगानीका लागि नेपालले एडीबीबाट सहुलियतपूर्ण ऋण लिँदै आएको छ। एडीबीले लगानी बढाउँदा त्यसको लाभ नेपालले पनि पाउने छ।