काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारलाई नटेरेको बताएका छन्। घिसिङले आफूखुसी ढंगले अघि बढेर सरकारलाई असहयोग गरेको मन्त्री खड्काको भनाइ छ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजेको र सरकारलाई नटेरेको बताएका हुन्। उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने समेत बताए।
राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे। मन्त्री खड्काले पटक-पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभएपछि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट समेत पारेका छन्।
उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारेका छन्।
उनले बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत् प्रवाहलाई सहज ढंगले सुचारु गरिएको दाबी गरे। मन्त्री खड्काले दोधारा लम्की, बरेली, ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भइ काम अघि बढेको बताए। ऊर्जा क्षेत्रमा आवश्यक कानून तर्जुमाका क्रममा रहेको र केही विधेयक अघि बढिसकेको उनले जानकारी दिए।
आरोप प्रमाणित गर्न प्रचण्डलाई चुनौती
उर्जामन्त्री खड्काले अर्काे प्रसंगमा जगदुल्ला जलविद्युत आयोजनाबारे आफूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभा बैठकमा उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनबाटै आरोप लगाएको भन्दै आपत्ति जनाए।
'चेक आदानप्रदान गरेर लग्ने गरिन्छ होला र? करिब आठ वर्ष माओवादीको नेतृत्वमा यो मन्त्रालय सञ्चालन भइरहेको छ। उहाँहरूले के-के गर्नुभयो,' उनले भने।
मन्त्री खड्काले आरोप प्रमाणित गरे प्रचण्डको झोला बोक्न तयार भएको बताए। 'हामीले सम्मान गरेका नेताको अभिव्यक्ति सत्यहीन हुन्छ? तथ्यहीन कुरा रोष्टममा बोलेर एउटा मन्त्रीलाई आरोप लगाउँदा त्यसको समाजमा के असर पर्छ ख्याल गर्नु पर्दैन?,' उनले भने, 'यो प्रमाणित गर्दिनुभयो भने म दास बनेर उहाँको पछाडि खुरुखुरु झोला बोकेर हिँड्छु।'
उनले सांसदहरूले पनि राजीनामाको माग गरेकोमा आपत्ति जनाउँदै प्रमाणित गर्न चुनौती दिए। उनले मन्त्रीबाट मात्रै नभएर आफूले सांसद पद नै त्याग्ने बताए।