काठमाडौं- पाँच दलीय सतारुढ गठबन्धका नेता २०७९ को जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन्। केही सयम अगाडिसम्म स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचन एकैपटक गर्ने सत्ता गठबन्धको तयारी थियो।
सत्ता गठबन्धमा रहेको पाँच तलका शीर्ष नेताले कानूनसमेत संशोधन गर्दै निर्वाचन पर धकेल्ने तयारी गरेका थिए। तर सबैतिरबाट स्थानीय तहको निर्वाचन २०७८ का बैशाखभित्रै हुनुपर्ने भन्दै दबाब आएको थियो। सत्ता गठबन्धनभित्रै रहेका दलका नेतालेसमेत स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनपर्ने भन्दै दबाब दिन थालेका थिए।
सबैतिरबाट स्थानीय तहको निर्वाचनको विषयमा चर्चासँगै समयमै हुनुपर्ने राय आउन थालेपछि सत्ता गठबन्धनमा रहेका पाँच दलका नेताले २०७९ जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेका थिए।
सरकारलाई पनि निर्वाचन आयोगले स्थानी तहको निर्वाचन मिति तोक्न दबाब दिँदै आएको थियो। स्थानीय निर्वाचनको जेठभित्रै गर्ने सहमति भए पनि सरकारले मिति भने तोकेको छैन। निर्वाचन जेठभित्रै गर्ने सहमतिको प्रभाव भने सेयर बजारमा देखिएको छ।
शनिबार बसेको साझ बसेको सत्ता साझेदार पाँच तलको शीर्ष नेताले जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको भोलिपल्ट आइतबार नै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो।
अघिल्लो साता निर्वाचन विषयमा देखिएको दुविधाका कारण सेयर बजारमा गिरावट आएको थियो। तर आइतबार भने निर्वाचनलाई बजारले स्वागत गरेको छ। आइतबार बजार १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा पुगेको हो। आइतबार ६ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको छ। जसमा १ सय ९० कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको मूल्य घटेको थियो।
सत्तारुढ गठबन्धनमा रहेका दलहरू जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न तयार भएसँगै त्यसको प्रभाव सेयर बजारमा समेत देखिएको हो। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले जेठभित्रमा स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो। त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न लिखित रुपमा नै आग्रह गरेकी थिइन्।
चुनावी घोषणा कुरेर पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता अब ढुक्क हुने वातावरण बनेको आइतबारको सेयर बजारले देखाएको विश्लेषकहरू बताउँछन्। अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्।
यसअघि पुस ५ गतेदेखि यता ५६२ अंकले बढेको बजारमा गएको साता आइतबारदेखि बिहीबारसम्मको कारोबारमा १५१.३२ अंकले गिरावट आएको थियो। साथै त्यसअघिको साता १ खर्ब ५ अर्ब ४१ करोड रूपैयाँले बढेको लगानीकर्ताको सम्पति गएको साता भने २ खर्ब १३ अर्ब ९० करोड रूपैयाँले गिरावट आएको थियो। यो साता आइतबारको बजारले भने सकारात्मक संकेत गरेको छ।
विश्लेषक छोटेलाल रौनियारसमेत चुनावले सधैँजसो सेयर बजारमा उत्साह ल्याउने गरेको बताउँछन्। चुनावमा सरकारी र अनौपचरिक खर्च पनि धेरै हुने भएकोले बैंकमा तरलता अभावसमेत नहुने हुँदा लगानी बढ्ने गरेको देखिन्छु उनले भने।
गएको साता बजारमा गिरावट आइरहँदा पनि विश्लेषकहरूले मौसमी परिवर्तन देखिएको र बजार घट्ने ठाउँ नरहेको बताइरहेका थिए। आइतबार देखिएको वृद्धिले समेत सेयर बजारमा अहिले सबै सूचकहरू राम्रो हुँदै गएकोले २२ अर्ब कारोबार र ३२०० अंकलाई उछिनेर माथि जाने देखिएको विश्लेषक बताउँछन्।
निर्वाचन वर्षको सेयर बजार
नेपालको सेयर बजारमा २०५० साल माघदेखि दोस्रो बजार कारोबार सुरू भएको हो। त्यसयता बजारमा धेरै पटक उल्लेख्य उतारचढाव हुँदै आएको छ। बजारको यस्तो उतारचढावमा चुनावी वर्ष भने विशेष बन्ने गरेको देखिन्छ। खासगरी बजारको उकालो यात्रामा सहयोगी देखिने चुनावी वर्षको तथ्यांकले लगानीकर्ताको मनोविज्ञानमा परिवर्तनको आश देखाउँछ।
अब २०७९ साल चुनावी वर्षको रूपमा आउँदै छ। जसका कारण पनि लगानीकर्ताह उत्साह देखिएको छ। २०७९ सालमा स्थानीय, प्रदेश र संघको निर्वाचन समेत हुने छ।
२०५० माघमा १०० रहेको नेप्से सूचकांक अहिले २०७८ माघ १६ गते आइतबार २८८५.५३ बिन्दुमा आइपुगेको छ। खासगरी विगतदेखि नै चुनावी वर्षहरूमा सेयर बजार उच्च अंकमा जाने गरेको छ।
यसवर्ष पनि चुनावी हल्ला चल्न थालेपछि सेयर बजार बढ्ने र घट्ने भइरहेको थियो। स्थानीय तहको निर्वाचन जेठमै गर्ने सहमति भएपछि आइतबार मात्रै १०५ अंकले बजार बढेको हो।
अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्।
२०५१ सालको चुनावपछि भने बजार केही अंक घटेको थियो। तर २०५६ को चुनावको अगाडि र पछाडि दुवै समयमा बजार बढेको तथ्यांकले देखाउँछ।
‘चुनावले सेयर बजारमा सधैँजसो उत्साह ल्याउने गरेकोले यसवर्ष पनि चुनावले नयाँ उचाइमा पु¥याउने अनुमान गरिएको छ,’ विश्लेषक छोटेलाल रौनियारले भने। चुनावमा सरकारी र अनौपचरिक खर्च पनि धेरै हुने भएकोले बैंकमा तरलता अभावसमेत नहुने हुँदा लगानी बढ्ने गरेको रौनियारको बुझाइ छ।
२०५० सालदेखि ०७४ सालसम्मको बजार सूचकांक
२०५६ को जेठमा चुनावी मिति घोषणाअघि र पछि बजार बढेको देखिन्छ। २०५५ को अन्तिमतिर १९० अंकबाट बजार २०६ अंकको बिन्दुसम्म पुगेको थियो। २०५६ मा नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि सेयर बजार लगातार बढेर २०५७ मा ५१९.३३ को बिन्दुमा पुगेको थियो।
पछि माओवादी द्वन्द्वले ठूलो रूप लिएपछि भने सेयर बजार ओरालो लागेको तथ्यांकले देखाउँछ। २०५८ मा १९८.४४ को बिन्दुमा झरेको नेप्से २०६४ को संविधानसभाको चुनावताका भने उच्च अंकले बढेको थियो।
२०६४ को चुनावभन्दा अगाडि ३५५.६० को बिन्दुमा रहेको नेप्से चुनाव सकिएपछि ६८३.९५ बिन्दुमा पुगेको थियो। माओवादी द्वन्द्वको समाधानसँगै धेरै अनौपचारिक पैसा सेयर बजारमा आएको अनुमान उक्त समयमा गरिएको थियो। जसका कारण घरजग्गा र सेयर बजार दुवैतर्फ २०६४ सालदेखि केही वर्ष उभार आएको थियो।
२०७० मा दोस्रो संविधानसभाको चुनाव अघि र पछि पनि बजार बढेको देखिन्छ। २०७० को चुनाव घोषणा अगाडि ३८९.७४ बिन्दुमा रहेको नेप्से चुनाव घोषणपछि बढ्दै ५१८.३ बिन्दुमा नेप्से पुगेको थियो।
सेयर बजारमा २०७२ असार मसान्तमा ९६१.२३ बिन्दुमा रहेको सूचकांक २०७३ साउन १२ गते ततसमयको उच्च बिन्दु अर्थात १८८१.४५ पुगेको थियो। तर २०७४ को चुनावताका भने नेप्से परिसूचक बढ्न सकेन।
तत्कालीन समय नेकपा माओवादी र नेकपा एमाले गठबन्धनसहित चुनावमा होमिएका थिए। उक्त समयमा झन्डै दुई तिहाइ मतसमेत उक्त गठबन्धनले ल्याएको थियो। उक्त समयमा सेयर बजारलाई चुनावले छुन सकेन। जसका कारण चुनावअगाडि १५२०.२ बिन्दुमा रहेको नेप्से २०७४ फागुनमा पुग्दा १२८६ बिन्दुमा पुगेको थियो।
सेयर विश्लेषक विष्णु बस्याल भने चुनावकै कारण सेयर बजार बढ्ने कुरामा सत्यता नरहेको बताउँछन्। चुनावको समयमा सेयर बजार बढ्ने ट्रेन्डमा रहँदा बढ्ने गरेको र घट्दो ट्रेन्डमा रहँदा घट्ने गरेको उनी बताउँछन्। ’चुनावकै कारण बजार बढ्ने भन्ने होइन, जुन ट्रेन्डमा बजार गइरहेको हुन्छ त्यही ट्रेन्ड चुनावले गर्दा अघि बढ्ने गरेको हो। सबै चुनावमा बजार बढेका पनि छैनन्’ उनले भने।
बस्यालले चुनाव नै सेयर बजार बढ्नुको कारण नरहेको बताए पनि अहिलेको अवस्था बजारको परिस्थिति उच्च बिन्दुमा जाने नै देखिन्छ। जसले गर्दा आउँदो चुनावको माहोल बजारको वृद्धिमा सहयोगी हुने देखिन्छ। सेयर बजारलाई स्थायित्व दिन, दोस्रो बजार कारोबारमा हुने उतारचढावलाई न्यूनीकरण गर्न तथा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न पनि चुनावले सिर्जना गर्ने माहोल प्रभावकारी हुने देखिन्छ।