इटहरी- तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाले औद्योगिकीकरणलाई प्राथमिकता दिइरहेका थिए। सोही क्रममा जुद्ध शमशेरको भेट व्यापारी रामलाल गोल्छासँग भयो। रामलाल त्यसबेलाका जुट उत्पादक र व्यापारी थिए।
भारतबाट नेपाल छिरेका रामलालले जुट उद्योगको सम्भावनाबारे जुद्ध शमशेरलाई जानकारी गराए। जुद्ध शमशेरले पनि उनको योजना मन पराए। विराटनगरमा जुट मिल सञ्चालनको लागि अनुमति दिए।
रामलालले भारतीय एक साझेदारसँग मिलेर उद्योग स्थापना गरे ‘विराटनगर जुट मिल’। हाल बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्ससँग जोडिन्छ गोल्छा अर्गनाइजेसनको लिगेसी।
विराटनगर जुट मिलमा २ प्रतिशत सेयरबाट सुरु भएको औद्योगिक विरासत अहिले अर्बौँमा पुगेको छ। जुट मिलसँगै जुद्ध म्याच फ्याक्ट्री र अशोक टेक्सटाइल सञ्चालनमा आए। लगत्तै २००३ सालमा सुरु भयो श्री रघुपति जुट मिल्स। रामलालले स्थापना गरेको रघुपति गोल्छा अर्गनाइजेसनको पहिलो ठूलो उद्योग हो।
रघुपतिलाई २०३६ सालमा सरकारले सेयर खरिद गरेर आफ्नो मातहतमा ल्यायो। २०५३ मा उदार अर्थनीतिका कारण निजीकरण गर्ने निर्णयमा पुग्यो सरकार। ९ करोडमा सरकारको ६० प्रतिशत सेयर गोल्छा अर्गनाइजेसनले लियो। हाल ३ हजार मजदूर काम गर्ने रघुपति जुट मिल्स अरिहन्त मल्टी-फाइबर्स लिमिटेडपछि धेरै कामदार रहेको उद्योग हो।

जुटको उर्वर समयमा रामलालले विराटनगर जुट मिल्सपछि रघुपति जुट मिल्स र अरिहन्त स्थापना गरे। सय वर्षअघि हजुरबुवाले सुरु गरेको जुट उद्योगको विरासत चलाइरहेका छन् राजकुमार गोल्छा। राजकुमारले चलाएका अरिहन्त मल्टी फाइबर्स, अरिहन्त पोलिप्याक र रघुपतिमा गरी ८ हजार मजदूरले काम गर्छन्।
यसबीचमा जुट विकास संस्थाहरू धमाधम बन्द हुन थालेपछि समस्या सृजना भयो। ७० हजार मेट्रिक टनभन्दा बढी नेपालमा उत्पादन हुने जुट क्रमश: घट्दै गयो। अहिले नेपालको उत्पादन जम्मा १५ देखि २० हजार मेट्रिक टनमात्रै छ। जुटको खेती कम भएपछि अधिकांश कच्चा पदार्थ भारतबाट आयात गर्नुपरेको छ।

पहिला हजुरबाका पालामा निर्यात गरेको स्मरण गर्दै उनी सरकारले किसान र उद्योगको पक्षमा काम नगर्दा यो अवस्था आएको बताउँछन्। अर्कातर्फ भारतलगायत अन्य देशबाट आउने बोराले नेपाली जुट उद्योगलाई समस्यामा पारेको छ।
किसानको उत्पादन नगदमा किन्ने गरेको बताउँदै उनले जुटखेतीमा उत्साह नदेखिएको अनुभव सुनाए। राजकुमारले भने, ‘जुटको खेतीको लागि प्रोत्साहन सरकारले गर्नुपर्ने थियो। सरकारले मल-बीउको व्यवस्थापन नगरेपछि कसरी जुट विकास हुन्छ? भाउ राम्रो भए पनि उत्पादन हुँदैन। सरकारको भिजन नभएका कारण यो अवस्था आएको हो।’
भारत र बंगलादेशमा ५ सय प्रतिशत उत्पादन बढिरहेको बेला नेपालमा पहिलाभन्दा ७५ प्रतिशत कम भएको उनले बताए। अरिहन्तलाई नयाँ प्रविधिसँग जोडेका उनले ४० टनको उत्पादन ८० टन पुर्याएका छन्।
जुटबाली अनुसन्धान केन्द्र इटहरीले भने नयाँ प्रजातिको जुट उत्पादन गरिरहेको बताए पनि किसानहरूले खेती गर्न छाडेको जनाएको छ। किसानहरू जुटको खेतीमा आकर्षित नभएको कारण उत्पादन घटेको कार्यालयले जनाएको छ।
तथापी राजकुमार जुटका आकर्षक सपिङ ब्यागदेखि ज्वलेरी सपमा प्रयोग हुने ब्याग, वाइन राख्ने झोला तथा विभिन्न सामान राख्ने भाँडाहरू तयार गर्छन्। वातावरणमैत्री भएकाले त्यसको प्रयोग गर्न सुझाव दिन्छन् राजकुमार।
दुवै जुट उद्योगका ६० प्रतिशतभन्दा बढी महिला कामदार छन्। पुरुषमा पनि केही प्राविधिकमात्र अन्य देशबाट आएका छन्। मूलतः नेपालीको रोजगारीको श्रोत बनेका छन् जुट उद्योग।
बिर्सनलायक वर्षहरू
माओवादी सशस्त्र युद्ध र नाकाबन्दीको विकराल अवस्थामा सामना गरेको विगत उनी स्मरण गर्न रुचाउँदैनन्।
घटनालाई एकमुष्ट रुपमा स्मरण गर्दै उनी भन्छन्, ‘पाँच हजार मान्छे काम गर्ने उद्योगमा माओवादीको प्रवेश कसरी सामना गर्यौँ होला? अहिले भन्न धेरै गाह्रो छ। नाकाबन्दी र मधेसवादी दलहरूको आन्दोलनको समयमा के स्थितिको सामना गर्नुपर्यो भन्ने कुरा स्मरण गर्नलायक छैन।’
कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीले दिएको समस्याबारे उनी खुल्न चाहेनन्। विषय र प्रसंग उद्योगकै भएकाले उनी बारम्बार किसानलाई प्रोत्साहन दिनुपर्ने बताउँछन्।
तीन छोरीका बा राजकुमारले स्टार्टपमा पनि चासो दिइरहेका छन्। जेठी छोरी एकता गोल्छाले डेल्टा सेलिङ एप निर्माण गरेकी छन्। ३५ जनाको टिमको नेतृत्व गरिरहेकी उनले व्यापारको लागि आवश्यक पर्ने स्तरीय एप तयार पारेकी छिन्। जसलाई थप परिस्कृत गर्ने काममा उनको टिम लागेको छ।
नयाँ टेक्नोलोजीसँग जोडिएर काम गर्नुपर्ने अवस्थामा कान्छी छोरी अश्विनीले रघुपति र अरिहन्त मल्टी फाइबर्सलाई ध्यान दिएकी छिन्।
'लेमिनेटेड बोरा आवश्यक छैन'
अर्की छोरी कोमल गोल्छाले नेतृत्व गरेको प्लास्टिक उद्योगले लामो समयदेखि सिमेन्टका बोरा उत्पादन गरिरहेको छ। प्लास्टिकका बोरा उत्पादन गरिरहेको अरिहन्त पोलिप्याक प्रालिलाई समेत सरकारको नयाँ नीतिले समस्यामा पारेको छ।

सरकारको लेमिनेटेड बोराले सिमेन्ट प्याक गर्नुपर्ने नीतिले गर्दा केही उद्योगहरू मात्र फाइदामा जाने र अन्यलाई समस्या परेको राजकुमार बताउँछन्। नेपालजस्तो मौसम र भौगर्भिक अवस्था भएको देशमा लेमिनेटेड बोरा आवश्यक नपर्ने उनको दाबी छ।

यसबीचमा अटोमोबाइल्सको क्षेत्रमा समेत उनले सक्रियता देखाए। ‘सामे’ ब्रान्डका ट्रयाक्टरमार्फत सुरु भएको उनको अटोमोबाइल्सको यात्रामा पूर्णविराम लाग्दै गएको छ।
कृषि र ढुवानीका लागिसमेत उपयुक्त हुने बहुउपयोगी ट्रयाक्टरलाई पहाडी क्षेत्रमा पुर्याउने उद्देश्यले सुरु भएको 'सामे' बन्द हुने अवस्थfमा पुगेको छ। इटालियन प्रविधिको ट्रयाक्टर भारतमा तयार पारेर ल्याए पनि बिक्री हुन छाडेपछि बन्द हुने अवस्थामा पुगेको हो।