मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार वृद्धितर्फ देखियो सेयर बजार, कारोबार रकममा पनि सुधार, अब पार होला २८०० को बिन्दु?

सोमबार, फागुन ५ २०८१
लगातार वृद्धितर्फ देखियो सेयर बजार, कारोबार रकममा पनि सुधार, अब पार होला २८०० को बिन्दु?

काठमाडौं- फागुन महिनाको पहिलो कारोबारमा गएको बिहीबार सामान्य ओरालोतिर लागेको सेयर बजार अहिले उचाइतर्फ लागेको छ। फागुनको दोस्रो कारोबारमा हिजो आइतबार सुधारतर्फ देखिएको बजारमा आज सोमबार पनि राम्रो वृद्धि देखिएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार १९.५६ अंकले बढेको बजार दोस्रो कारोबारमा सोमबार २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा उक्लिएको छ। १० अर्ब ४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको बजारमा १६६ कम्पनीको सेयर मूल्य बढेको छ। ७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सोमबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, कुथेली बुखारी साना जलविद्युत, एक्सेल विकास बैंक, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर रहेका छन्। 

गएको साता पहिलो कारोबारमा आइतबार ११.४९ अंकले घटेको बजार सोमबार पनि १०.९८ अंकले घटेको थियो। मंगलबार ६.५४ अंकले बढेको बजार बुधबार पनि १.८६ अंकले बढेको थियो। बिहीबार बजार ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा झरेको थियो। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्। 

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गर्न सके नयाँ उचाइ समात्ने विश्लेषकहरू बताउँछन्। अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। मंसिरको अन्तिम कारोबारमा २७ गते २६८२.२९ बिन्दुमा रहेको बजार पुस २९ गते २५९४.१३ बिन्दुमा झर्‍यो। माघमा केही सुधार हुँदै अन्तिम कारोबारमा ३० गते २६८५.७३ बिन्दुमा पुगेको थियो।


प्रकाशित : सोमबार, फागुन ५ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend