मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सौर्य ऊर्जातर्फ पहिलोपटक गोल्यान समूहको पियोर इनर्जीलाई आईपीओ जारी गर्न अनुमति

शनिबार, फागुन ३ २०८१
सौर्य ऊर्जातर्फ पहिलोपटक गोल्यान समूहको पियोर इनर्जीलाई आईपीओ जारी गर्न अनुमति

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर निष्कासन गर्नेछ।

काठमाडौं-औद्योगिक घराना गोल्यान समूहको भगिनी कम्पनी पियोर इनर्जी लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ। शुक्रबार नेपाल धितोपत्र बोर्डले पियोर इनर्जीमार्फत नेपालमा पहिलोपटक सौर्य ऊर्जातर्फ पनि आईपीओ जारी गर्न अनुमति दिएको हो।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर निष्कासन गर्नेछ।

कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन हुन लागेको हो। 

कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन्। कम्पनीले १६ लाख कित्तामा प्रतिकित्ता १०० रुपैयाँका दरले १६ करोड रुपैयाँ बराबारको आईपीओ जारी गर्नेछ।

समूहले पियोर इनर्जीमार्फत ६० मेगावाट सौर्य ऊर्जा परियोनासमेत अगाडि सारेको छ। जसमध्ये २० मेगावाटका दुई आयोजनाको निर्माण पूरा गरी सञ्चालन भइरहेको छ। बाँकी ४० मेगावाटका ४ आयोजना निर्माणका विभिन्न चरणमा छन्। 

पियोर इनर्जी लिमिटेडले उत्पादन गरेको सौर्य ऊर्जा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय प्रसारणलाइनको कोहलपुरस्थित सबस्टेसनमा जोडिएको छ। दुई भागमा विभाजन भएको पियोर इनर्जीको यस परियोजनामा पहिलो र दोस्रो भागबाट १०/१० मेगावाट विद्युत् उत्पादन गरी प्रसारणलाइनमा जोडिएको छ।  

गोल्यान समूहले झन्डै एक दर्जन आयोजनामार्फत ९ सय ९१ मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न अनुमति लिएर निर्माणको प्रक्रिया अगाडि बढाउँदै छ। जसका लागि समूहले झन्डै २ खर्ब रुपैयाँ लगानी गर्दै छ। अर्पाटमेन्ट निर्माण, इन्स्योरेन्स, बैंक वित्तसहित कृषि क्षेत्रमा समेत लगानी गरिरहेको गोल्यान समूहले ऊर्जामा लगानीलाई आक्रामक बनाएको छ।


प्रकाशित : शनिबार, फागुन ३ २०८११५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend