म्याग्दी- गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड रूपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेको छ।
आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरी मुस्ताङका दुई सडकलाई पाँच/पाँच करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो।
घरपझोङ गाउँपालिका-२ मार्फादेखि धमाङ-आलुबारी-याकखर्क र लोघेकर-दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि सुरखाङ-यारा-घारा हुँदै घुयुमा ठाटीसम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १(२) बाट निर्वाचित प्रदेश सभा सदस्य विकल शेरचनले जानकारी दिए।
'भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,' उनले भने, 'दुईवटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ।'
करिब १३ किलोमिटर दुरीको मार्फा-धमाङ-आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैँचा छ। परापूर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिवुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ।
याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ। यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरुलाई सहज हुनेछ। याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ।
हिन्दु र बौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङदेखि सुरखाङ-यारा-घारा हुँदै घुयुमा ठाटी सडकबाट स्थानीयवासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरुलाई सहज हुने मुस्ताङ १(१) बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताए। धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उनले बताए।
गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा-झोङ-तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने रु. १०/१० करोड बजेटको योजना सुरु भएको थियो।
रानीपौवा-झोङ-तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम-कोरला सडकको छुसाङ-कागबेनी खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिन्छ। कागबेनी-मुक्तिनाथ-उपल्लो मुस्ताङ आवतजावत गर्न सहज हुनेछ।
दुईवटै योजना ठेक्का मार्फत निर्माणाधिन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए। यस वर्ष झोङ-छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि नौ करोड १२ लाख रूपैयाँ बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रिया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताए। रासस