शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

रोगले सुकेर उजाडिए पाल्पा निस्दीमा सुन्तला बगैँचा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २ २०८१
images
images
रोगले सुकेर उजाडिए पाल्पा निस्दीमा सुन्तला बगैँचा

'उत्पादनको सुरुवाती अवस्था अत्यन्तै उत्साहजनक नै थियो, पछिल्ला वर्षमा प्रकोप महामारीका कारण आम्दानी शून्य बनेको छ, प्रकोप फैलिएपछि नयाँ बिरुवा लगाएको छैन, घर वरपर, आँगनका डिल, बारीमा लटरम्म सुन्तला फल्ने हरियाली बोट अहिले रोगले सुकेर उजाडिएको छ।'

images
images

पाल्पा- सुन्तलाखेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन्। पाखो तथा बाँझो जमिनलाई सदुपयोग गर्दै सुन्तला फलाएर यसैबाट धेरैले आयआर्जनको बलियो माध्यम बनाइरहेका छन्। पाल्पामा पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको छ।

images
images
images

विशेषगरी जिल्लाको पश्चिमी भेगका किसान सुन्तलाबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। पाल्पाकै निस्दी गाउँपालिका-५ बहपुरका किसानलाई भने सुन्तलाको आम्दानी हात लाग्यो शून्य जस्तै बनेको छ।

images
images

'यही सुन्तलाको बोटबाट कुनै वर्ष चार लाख रुपैयाँसम्म आम्दानी लिएँ, अहिले भने बोट यिनै हुन्, आम्दानी शून्य छ', सुन्तला बगैँचा देखाउँदै तेजन सुनारीले आफ्नो समस्या सुनाए। सुन्तलाखेती उनको परिवारको गुजारा हो। सुन्तला फलाएर आम्दानी बटुलेका सुनारी अहिले केही आम्दानी नहुँदा चिन्तित छन्।

images
images
images

'सुन्तला पाक्नेबेला हुनथालेपछि व्यापारी घरमै आएर खरिद गर्ने गर्नुहुन्थ्यो, घरबाटै बिक्री हुन थालेपछि सजिलो भयो, आम्दानी राम्रै भइरहँदा हर्षिएर क्षेत्र विस्तार गर्दै गए, राम्रै फल दिने क्रममा बोटमा विभिन्न समस्या देखिने र एक्कासी उत्पादन घट्न थाल्यो', सुनारीले भने, 'सुन्तला बेचेर आम्दानी लिइरहेको मनमा झलझली छ, के गर्नु विगत सम्झेर मनमा पीडा लुकाएर बस्नु परेको छ।' 

फेदको जराको बोक्रा कुहिने, बोट पहेलिँदै जाने, बोक्रा नै नहुने, विस्तारै खानेकुरा सोस्न कम हुँदै जाँदा बोटको टुप्पोबाट सुक्दै जाने समस्या देखिएको उनले बताए। खाद्यतत्व नपुगेपछि फल लागेता पनि दाना स्वादिलो नहुने उनले जनाए। उनको घरवरपर रहेका बगैँचामा साना ठूला गरेर एक हजार २०० बोट छन्। फल्न लाग्दा सबै बोट अनुत्पादक बनेका छन्। अम्दानीकै हिस्सा गुमेको उनले बताए।

'उत्पादनको सुरुवाती अवस्था अत्यन्तै उत्साहजनक नै थियो, पछिल्ला वर्षमा प्रकोप महामारीका कारण आम्दानी शून्य बनेको छ, प्रकोप फैलिएपछि नयाँ बिरुवा लगाएको छैन, घर वरपर, आँगनका डिल, बारीमा लटरम्म सुन्तला फल्ने हरियाली बोट अहिले रोगले सुकेर उजाडिएको छ', सुनारीले भने।

घरमा दुई-चार बोट घरायसी प्रयोजनका लागि लगाइने गरेकामा व्यावसायिक खेती भने सुनारीले २०६२/६३ देखि थालनी गरेका हुन्। करिब ५० बोटबाट व्यावसायिक खेती सुरु गरेका उनले आम्दानी भने २०६७/६८ देखि लिएको बताए। सुनारीले सुन्तला बिक्रीबाट २०७४/७५ सम्म आम्दानी राम्रै लिए। त्यसयता भने क्रमिक रुपमा बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दो क्रममा रहेको उनले जानकारी दिए।

वार्षिक चार लाखसम्म आम्दानी गर्न सफल सुनारी विगत तीन वर्षयता भने आम्दानीविहीन नै बनेका छन्। सुन्तला बगैँचामा अहिले मकै, सिमी, अदुवाजस्ता बाली लगाउन थालेका छन्। कुनैबेला गाउँमा सबैभन्दा धेरै सुन्तला बेच्ने किसानका रुपमा पहिचान दिएका सुनारी अहिले घरायसी प्रयोजनका लागि उत्पादनन हुँदा सुन्तलाको पहिचान गुम्छ कि भन्ने चिन्तामा परेका छन्।

बहपुर गाउँमा १७ घरको बासोबास छ। यहाँका किसानले सुन्तलाबाट राम्रै आयआर्जन हुने सम्भावना देखेपछि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन्। पहिला सबैका घरमा सुन्तला राम्रै उत्पादन हुन्थे भने अहिले रोग लागेपछि दुई घरमा मात्रै उत्पादन सीमित बनेको छ।

यहाँ पछिल्लो पाँच वर्षयता बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दै गएको हो। सडक सुविधा पुगेसँगै बजारीकरणमा सहज हुँदा सुन्तला व्यवसायमा हौसिएका किसान उत्पादन लिन नपाउँदा निराश बनेका छन्।

बहपुर गाउँमा २०७५ अघिसम्म २२५ रोपनी जमिनमा तीन हजार ६०० सुन्तलाका बोट थिए। सुन्तला पकेट कार्यक्रम लागू भएपछि अन्नबाली फल्ने बारीलाई बगैँचाका रूपमा विस्तार गरेर करिब सात हजारसम्म बोट पुर्‍याइएको थियो। त्यसमध्ये अधिकांश बोट मरिसकेका छन्। समस्याबारे विभिन्न निकायलाई जानकारी गराइएको छ। अहिलेसम्म समाधानका उपाय भने कुनै पनि निकायबाट नआउँदा व्यवसाय गर्ने कि नगर्नेमा किसान अन्यौलमा परेका छन्। अहिले बिरुवा हटाएर चार/पाँच वर्षपछि नयाँ बिरुवा लगाउने निष्कर्षमा किसान पुगेका छन्।

मलजल, सिँचाइ व्यवस्थापन नपुग्दा पछि विस्तारै खाद्य तत्वको कमीले विभिन्न समस्या देखापरेको हुनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख सन्तोषलाल चौधरी बताउँछन्। यो रोग पत्ता लगाउन माटो परीक्षण नै गर्नुपर्ने उनले बताए।

'समस्या देखिएका स्थानको माटो परीक्षण गरेर मात्रै बगैँचा सुधार गरी नयाँ बिरुवा लगाउनुपर्ने हुन्छ, त्यसका लागि कार्यालयले सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेर माटो परीक्षण शिविर राख्ने, सुन्तलाको व्यावसायिक खेती गर्न इच्छुक किसानबाट माग आएमा कार्यालयबाट निःशुल्क बिरुवा उपलब्ध गराउन सकिन्छ', उनले भने।

जिल्लामा यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। गत वर्ष ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको कार्यालयको तथ्यांक छ। ६ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको प्रमुख चौधरी बताउँछन्।

गत वर्ष आठ हजार ८६१ मेट्रिकटन उत्पादन भएकामा यस वर्ष बढेर नौ हजार ९८ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। अघिल्लो वर्षभन्दा यसपटक करिब ३३७ मेट्रिकटन उत्पादन बढेको पाइएको छ। 

सुन्तला उत्पादनका लागि जिल्लाभित्र एक हजार १९६ हेक्टर क्षेत्रफल रहे पनि एक हजार १३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो। यहाँका १० पालिकामध्ये छ वटा पालिकामा व्यावसायिक हिसाबले सुन्तलाखेती हुने गरेको छ। सुन्तलाखेतीलाई व्यवसायीकरणमा जोड दिँदा किसानले आम्दानी राम्रो लिन थालेका छन्।

सडक सुविधा तथा बजार सहज हुँदा किसानले क्षेत्रफल विस्तार गर्दै गएका छन्। अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै आयस्रोत लिन पाइने सम्बद्ध किसान बताउँछन्।

यस वर्ष रैनादेवी छहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा तीन हजार ६३९ मेट्रिकटन, रिब्दिकोट गाउँपालिकामा ३९६ क्षेत्रफलमा तीन हजार १८४ मेट्रिकटन, बगनासकाली गाउँपालिकामा ११३ हेक्टरमा ९१० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७२८ मेट्रिकटन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिकटन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिकटन सुन्तला उत्पादन भएको छ। रासस


प्रकाशित : शुक्रबार, फागुन २ २०८११४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend